गाउँमा विद्यालयले ल्याएको खुसी, व्यवस्थापनले बनायो निराश

0


पवित्रा पराजुली
गैँडाकोट । ससाना बालबालिकाहरु खेलिरहेका छन् तर सेतो सर्ट र निलो जामा लगाएकी गैँडाकोट ३ की सर्मिला भुजेललाई साथीहरुसँग खेल्न मन लागेको छैन । कारण साथीहरु साना छन्, सर्मिलाको उमेर भने १४ वर्ष पुग्यो । यो उमेरमा पहिलोपटक विद्यालय टेक्दा सर्मिलाको मनमा थोरै सङ्कोच अनि धेरै खुसी छ ।
उमेरले अन्य भन्दा उनी अल्लि पाको देखिन्छिन् । लहरै एक कोठामा बसेका बालबालिकामध्ये अलिकति फरक उनी अन्य दौतरी खेलेको देखेर दंग छिन् । १४ वर्षको उमेरसम्म विद्यालय पढ्न नपुगेकी उनी फरक अनुभूति गर्दै छिन् । १४ वर्षको उमेरमा विद्यालय भर्ना हुन पुगेकी सर्मिलाले असहज मान्दै रमाइलो लागेको बताइन् ।
विद्यालयको अगाडि ससाना भाइबहिनी खेलेको हेर्दै रमाउँदै गरेको दृश्यसँगै उनमा केही कौतूहलता पनि देखिन्छ । विद्यालय आएको सर्मिलाको यो पहिलो अनुभव हो । गाउँमा विद्यालय नभएपछि टाढाको विद्यालय बाबुआमले पठाएनन् । घरमा नै घाँस–दाउदा र चुलोचौकोमा समय बित्ने गरेको बताउने सर्मिला गाउँमै विद्यालय सञ्चालनमा आएपछि पढ्ने वातावरण बनेको हो ।
गैँडाकोट नगरपालिकाको वडा नम्बर ३ भुजेल गाउँमा विद्यालय बनेसँगै सर्मिलाजस्तै २५ जना बालबालिका विद्यालय पढ्न पुगेका छन् । वडामा नै विद्यालय रहे पनि भुजेल गाउँबाट विद्यालय जान जंगलको बाटो त्यो पनि करिब १ घण्टा हिँडेर जानुपर्ने भएका कारण अभिभावकले विद्यालय पठाउने गरेका थिएनन् । अहिले भने सजिलो भएको १० वर्षीय निशा भुजेलको भनाइ छ ।
गाउँमा विद्यालय खुलेसगैँ लामो बाटो गरुङ्गो झोला बोकेर विद्यालय जानुपर्ने बाध्यता हटेको छ । बालबालिकामात्र होइन अभिभावक पनि खुसी छन् । सानो उमेरमा विद्यालय पठाउन नसकिने र ठूलो भएपछि उमेर हदका कारण अधिकांश विद्यालयसमेत जान नमान्ने गरेको तीतो यथार्थ अभिभावक सुस्मा भुजेलसँग छ । अब यो समस्या हट्ने भएपछि अभिभावक पनि औधी खुसी छन् । सुस्मा भुजेलले गाउँमा नै विद्यालय बनेपछि खुसी लागेको प्रतिक्रिया दिनुभयो ।


भुजेल गाउँमा अहिले ४ कोठाको पक्की भवन बनेको छ तर एक कोठामा मात्रै २५ जना बालबालिका एकै ठाउँमा बसेर पढ्ने गरेका छन् । विद्यालयमा एकजनामात्र शिक्षक हुनुहुन्छ । शिक्षक पूर्णमाया भुजेल विद्यालयमा आवश्यक डेस्क, बेन्चलगायत फर्निचर र शैक्षिक सामग्री नहुँदा पठनपाठनमा समस्या आएको बताउनुहुन्छ ।
यसै शैक्षिक सत्रबाट गैँडाकोट नगरपालिकाले पूर्व प्राथमिक तह मन्टेश्वरी कक्षाको अनुमति प्रदान गरेको छ । भुजेल गाउँमा रहेको जुना प्रारम्भिक आधारभूत विद्यालय नाम दिइएको यो विद्यालय भने कावासोतीमा रहेको कुमारी निजी शैक्षिक गुठीले निर्माण गरेको हो । पूरा व्यवस्थापन नहुँदै हस्तान्तरण गरिएको विद्यालयमा आवश्यक व्यवस्थापनका लागि काम अघि बढाउने कुमारी निजी शैक्षिक गुठीका योजना तथा लेखा प्रमुख दीपकलाल श्रेष्ठ बताउनुहुन्छ ।
निर्माणपश्चात् गुठीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ । सोही समयमा नगर शिक्षा समिति गैँडाकोटले वडा अध्यक्ष नै आआफ्नो वडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुने परिपत्र गरेको छ । कोरोनाका कारण विद्यालयको व्यवस्थापकीय पक्षमा केही ढिला भए पनि गाउँमा विद्यालय बने सँगै बालबालिका र अभिभावक भने खुसी छन् ।

Share.

Leave A Reply