आस्था र विश्वासको धर्मपीठ, मंगलादेवी मन्दिर

0


माया कँडेल
गैँडाकोट । गैँडाकोट १८ को हात्तीसालमा रहेको मंगलादेवी मन्दिरप्रतिको धार्मिक आस्था र विश्वासले गर्दा भक्तजनको आगमन हुने गरेको छ ।
भीमचन्द्र पुलामी मगर ४ किलोमिटर हिँडेर नै गैँडाकोट १८ मा मंगलादेवी मन्दिरको दर्शन गर्न आउनुभएको छ । मगर ६० वर्षको हुनुभयो तर पनि मन्दिर र भगवान्प्रतिको आस्थाले उहाँलाई सधै मन्दिर आउन उत्प्रेरित गर्छ । उहाँले भन्नुभयो– “यहाँ पूजा गरेपछि चाहेको कुरा पूरा हुन्छ ।”
गैँडाकोट १८ को आसपासका व्यक्ति मात्र होइन तनहुँ कोटादेखि पनि यस मंगलादेवीको मन्दिर दर्शन गर्न दर्शनार्थी आउने गरेका छन् । कोटादेखि ६ घण्टा बढीको यात्रा गरेर मन्दिर दर्शनका लागि आउनुभएको देवीमाया मगर बताउनुहुन्छ । अघिल्लो दिन आएर वास बसेर नै मन्दिरमा पूजा गरेको अनुभव उहाँसँग छ । उहाँले भन्नुभयो –“शुद्ध मनले पूजा गर्ने हो भने चिताएको पूरा हुन्छ । मलाई एकदमै विश्वास लाग्छ, त्यही भएर सँधै पूजा गर्न आउँछु ।”
गैँडाकोट १८ हात्तीसालका खेमबहादुर बाचे मगर मंगलादेवी मन्दिर भएको स्थानमा पहिरो गएपछि मन्दिर अर्को स्थानमा सारिएको सम्झनुहुन्छ । मन्दिरमा भएका मूर्ति र अन्य सामग्री अर्को स्थानमा सार्न पहिले खोजिए पनि ५०÷६० जना हँुदा पनि सार्न नसकिएपछि भने मंगलादेवीको भाकल र क्षमापूजा गरेपछि पछिल्लो दिन ६ जनाले नै सार्न सकिएको उहाँ बताउनुहुन्छ ।
मंगलादेवी मन्दिर पूजा व्यवस्थापन समितिमा अध्यक्ष सन्तबहादुर मगर हुनुहुन्छ । मन्दिरको प्रवद्र्धन मन्दिरसम्म आउनका लागि पूर्वाधारको विकास हुन आवश्यक रहेको मगर बताउनुहुन्छ । पूर्वाधारको विकास गर्न सके मन्दिरको महत्त्व बढ्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ– “ यहाँ देवीशक्ति छ, चाहेका कुरा पूरा हुन्छन् तर प्रचारप्रसार र यातायातका कारण यो क्षेत्र ओझेलमा परेको छ ।”
मंगलादेवीको मन्दिरको शाखा मन्दिरको रुपमा गैँडाकोट ३ को भोक्रोफाटमा पनि मन्दिर रहेको छ । धार्मीक आस्था र विश्वासका आधारमा आफ्नो मनोकामना पूरा हुने विश्वासका आधारमा धेरै भक्तजन मन्दिरसम्म जाने गरेका छन । धार्मिक महत्त्व झल्कने र बढ्नाका साथै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गर्न सकिने प्रशस्त सम्भावनायुक्त क्षेत्र रहेको छ ।

Share.

Leave A Reply