सहकारीले प्रविधि साक्षरता बढाऔँ

0


नेपालमा सहकारी अभियानले ६ दशक पार गरेको छ । देशभर करिब ३५ हजार सहकारीहरु सञ्चालनमा छन् । फरकफरक प्रकृतिका सहकारीहरुमा ६५ लाख सदस्यहरु संगठित छन् । देशभरका सहकारीहरुबाट करिब ७ खर्ब बढी कारोबार हुने गरेको छ । सहकारीहरुले स्थानीय रोजगारलाई प्रवद्र्धन गरेका छन् । अर्थतन्त्र विकासको तीनखम्बे रणनीतिअन्तर्गत सहकारी पनि महत्त्वपूर्ण एक पक्ष हो । राज्यको कुल गार्हस्थ उत्पादनमा सहकारीले ४ प्रतिशत योगदान गर्ने गरेको छ ।सहकारीहरुले आफ्नो अस्तित्व र जिवन्तताका लागि डिजिटल कारोबारका लागि अबको बाटो तय गर्नु आवश्यक देखिएको छ । अहिले पनि देशभरिमा करिब २ हजार सहकारीहरुले विभिन्न भुक्तानी सेवा प्रदायकसँगको सहकार्यमा मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेका छन् । एकदर्जनभन्दा बढी सहकारीहरुले एटिएम सेवासमेत प्रदान गर्दैै आएका छन् । चितवन र नवलपुर सहकारी स्थापनामा मात्र होइन सहकारीको संस्थागत विकासका सन्दर्भमा पनि अग्रणी क्षेत्रका रुपमा अघि बढिरहेका छन् ।
यस क्षेत्रका सहकारीहरुले डिजिटल कारोबारतर्फ अबको योजना अघि बढाउन आवश्यक छ । सन् २०३० सम्म ब्रान्चलेस बैंकको अवधारणामा विश्वजगत् अघि बढिरहेको सहकारी अभियन्ताहरुले भन्दै आएका छन् । केही वर्ष पछि अनलाइन कारोबारतर्फ आकर्षण बढ्ने भएकाले बाध्यात्मक अवस्थाले पनि सहकारीहरु त्यसतर्फ जान बाध्य हुनेछन् । त्यसका लागि आजैदेखि सहकारीले विस्तारै पाइला चाल्न आवश्यक छ । विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण सकारात्मक सन्देश स्वरुप सहकारीहरु यसतर्फ संवेदनशील बन्न पुगेका छन् । सहकारीहरुका लागि यसको सुरक्षाको पाटो चुनौती त छँदै छ, तर पनि यो अबका दिनका लागि निर्विकल्प हुने पक्का छ । प्रविधिको तयारी सहकारीका लागि प्राथमिकताको विषय हो । यो भन्दा महत्त्वपूर्ण पक्ष भनेको प्रविधिको साक्षरता हो । चितवन र नवलपुरका सहकारीहरुले डिजिटल कारोबारका लागि प्रविधि त बनाएका छन् तर प्रविधिको प्रयोगका सन्दर्भमा सदस्य शिक्षा भने निकै कम लगानी गर्ने गरेका छन् । डिजिटल बैंकिङबाट विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेटको बिल भुक्तानी, फन्ड ट्रान्सफर, क्युआर पेमेन्ट सिस्टमका विषयमा सदस्य शिक्षा कार्यक्रमका सन्दर्भमा लगानी आवश्यक रहेको छ । पसलहरुमा क्युआर पेमेन्टका स्टिकर टाँसिएका छन् तर सदस्य शिक्षा र इन्टरनेटको सहज पहुँच हुन नसक्दा प्रभावकारी कार्यन्वयनमा आउन सकेको देखिदैन । यसतर्फपनि ध्यान दिनु जरुरी छ ।
सहकारी शिक्षाअन्तर्गतसाधारण सभाले विनियोजन गरेको रकम भ्रमणमा खर्च गर्ने परिपाटी रहेको छ । निश्चित सदस्यलाई भन्दा पनि धेरै सदस्यलाई लक्षित गर्दै प्रविधि साक्षरता कार्यक्रम आवश्यक हो । कोभिडको सम्भावित सङ्क्रमणको वर्तमान समयमा प्रविधि साक्षरता बढाउन स्थानीय सञ्चारमाध्यम एउटा भरपर्दो माध्यम हुन सक्छन् । यसतर्फ सहकारी सञ्चालकहरुको ध्यान जान जरुरी रहेको छ । वर्तमान अवस्थामा धेरैभन्दा धेरै सदस्यहरुलाई जुन माध्यमबाट शिक्षा दिन सकिन्छ त्यसबाट विस्तारै अघि बढ्ने र त्यसपश्चात् डिजिटल माध्यममा अभ्यस्त बनाउन सकिने कुरामा जिम्मेवार भएर सोच्नुपर्ने आवश्यक छ । सहकारीहरुका लागि प्रविधिमा जानका लागि नीतिगत अप्ठेरा पनि हुन सक्छन् । सहकारीहरुलाई प्रविधि प्रयोगमा राज्यका तर्फबाट पनि सहजता अथवा कानुनी वैधताका लागि आवश्यक लविङ पनि सहकारीहरुले नै गर्नुपर्ने छँदै छ ।

Share.

Leave A Reply