मौलाकाली सामुदायिक वनको १८ औं साधारण सभा सम्पन्न

0

पवित्रा पराजुली, पुस ४, गैंडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको १८ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सामुदायिक वनहरु अब उत्पादनमुलक क्षेत्रमा लाग्नु पर्ने बताउनुभयो । कागती, अम्रिसो लगायतका प्रजातीबाट प्रशस्त आम्दानी गर्न सकिने भएकाले वनका कार्यक्रम सोही दिशातर्फ हुनुपर्ने बताउनुभयो ।

त्यस्तै गैंडाकोट नगरपालिकका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले मौलाकालिका मन्दिरलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्दै गर्दा वन संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । यस क्षेत्रको सामुदायिक विकासका लागि वनको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काशिनाथ कंडेलले वन क्षेत्रमा साढे २ किमि क्षेत्रमा तारबार, विश्राम गृह निर्माण, २ कोठे विपन्न घर निर्माण, मौलाकालि मार्गमा सिसि क्यामेरा जडान, वन प्रवेशद्वार निर्माण, प्रहरी विट निर्माण लगायतका महत्त्वपूर्ण कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा वनका सचिव मनरुपा चालिसे (गोमा) ले प्रस्तुत गर्नुभएको प्रगति विवरण तथा प्रस्तावित नीति कार्यक्रम र कोषाध्यक्ष प्रजापति सापकोटाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा प्रस्तावित आय व्यय विवरण सर्वसम्मत पारित गरेको छ ।

सचिव चालिसेले वन विकास कार्यक्रमतर्फ २२ वटा, सामुदायिक विकासतर्फ २४ वटा, गरिबि न्यूनीकरण तथा आयमुलक कार्यक्रमतर्फ १३ वटा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । उहाँले महिला सशक्तिकरण लगायतका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनबाट वन क्षेत्रका रुखहरु कटान भई प्राप्त वन पैदावर बिक्रिबाट हुने रकमका विषयमा पछि कार्यक्रम तय गरिने बताउनुभयो । कोषाध्यक्ष सापकोटाले १ करोड १७ लाख, २९ हजार ४ सय १७ रुपैयाँको बजेट प्रस्ताव गर्नुभएको थियो । लेखा समितिको प्रतिवेदन संयोजक शरणहरि शर्मा गौंडेलले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सामुदायिक वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, सव डिभिजन वन कार्यालयका प्रमुख सुर्यसिंह गुरुङ, वडा अध्यक्षहरु हरिप्रसाद सापकोटा, ध्रुवराम पौडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटा, भेडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेल लगायतले बोल्दै वनको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभएको थियो ।
कार्यक्रममा वन संरक्षणमा योगदान पु¥याउनुहुने उपभोक्ता, ज्येष्ठ नागरिक, वन हेरालु कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । समूहका उपाध्यक्ष हरिप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सहजिकरण वनका सह सचिव वेदप्रसाद गौडेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply