साईबर सेना बनाएर आक्रमण गर्नुपर्छ : नेता महेश बस्नेत

0


पुस ४, गैंडाकोट । पूर्व उद्योग मन्त्री एवं नेकपा केन्द्रीय कमिटि सदस्य समेत रहनुभएका युवा संघका केन्द्रीय ईन्चार्ज महेश बस्नेतले पार्टीविरुद्ध भ्रम फैलाउने विरुद्ध साईबर सेना बनाएर आक्रमण गर्नुपर्ने बताउनुभएको छ । शनिबार गैंडाकोट ९ थुम्सीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीविरुद्ध फैलाईएका भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो । सरकारले विकास र सुशासनका लागि काम गरिरहेको अवस्थामा त्यसविरुद्ध प्रतिपक्ष दलहरुबाट गलत प्रचारबाजी भईरहेको उहाँको भनाई छ ।
पार्टीमा देखिएको विवादका विषयमा उहाँले पार्टी एकता जोगाउन र मजबुत गराउन लागिपर्ने र जोगाउन नसकिए पचाउन सक्ने क्षमता राख्न पनि आग्रह गर्नुभयो । यो हिम्मतका साथ युवाहरुले एकता गराउन दवाव सिर्जना गर्नुपर्ने बताउनुभयो । सूचना प्रविधिको सहि उपयोग गर्दै युवाहरु अघि वढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
साथै उहाँले पार्टीमा देखिएको विवादले सरकारका उपलब्धी नदेखिएको समेत बताउनुभयो । सरकारले ल्याएका लोकप्रिय कार्यक्रमले भौतिक विकास र शुसासन कायम रहेको उहाँको दावी छ । पाँच वर्षसम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ भनेर संसदमा वकालत गर्ने पार्टीका नेताहरुले नै राजिनामा माग गरिरहेको सन्दर्भमा उहाँले प्रधानमन्त्री केपि ओलीले राजिनामा दिनुपर्छ भनेर भन्ने नैतिक अधिकार कसैसँग नरहेको बताउनुभयो ।


कार्यक्रमको सहजिकरण गर्दै राष्ट्रिय युवा संघ नवलपुरका जिल्ला संयोजक कृष्ण कंडेलले पार्टी एकता र देशको रक्षार्थ सवै युवा एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य ज्ञानहरि पौडेल, भिमलाल कंडेल, कपिलवस्तु जिल्ला सचिवालय सदस्य तेजेन्द्र पाण्डे, वडा अध्यक्षहरु नवराज कंडेल, प्रेमप्रसाद सापकोटा लगायत जिल्ला तथ स्थानीय स्तरका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply