इच्छाकामना गाउँपालिकाले गुरुयोजना सहित उपरदाङगढीको संरक्षणसँगै विकास गरिने (फोटो फिचर सहित )

0

डोलराज रानाभाट, पौष ४ । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाले आफ्नो वडानम्वर ७ मा रहेको उपरदाङगढीलाई संरक्षणसँगै गुरुयोजना बनाएर विकास गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले आफूहरु निर्वाचित हुनासाथ गढी आएर तारवार गरी संरक्षण गरेको र त्यसभित्र अग्रेजले आक्रमण गर्दा प्रयोग हुने सामाग्रीहरु के के थिए भन्नेवारे खोजी गरिएको जानकारी दिनुभयो । त्यस्तै कार्यपालिका बैठकले गुरुयोजना बनाउने निर्णय गरेको बताउँदै ऐतिहासिक मर्म नहराउने गरी यहाँको विकास गर्ने गुरुङले बताउनुभयो । उपाध्यक्ष कृतिकुमार श्रेष्ठले गाउँपालिकाभित्रका सबै पर्यकटीय क्षेत्रहरुमा मोटरबाटो पुगीसकेको बताउँदै अब पर्यटन प्रवद्र्धनका लागि आवस्यक पुर्वाधारहरु निर्माण गर्दे लैजाने र प्रचार प्रसारमा जोड दिने बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेस चितवनका जिल्ला सदस्य विष्णु कुँवर, मुग्लिन हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामा, नेपाल शिक्षक संघ इच्छाकामनाका अध्यक्ष शिवप्रसाद तिमल्सिना, सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्रि पुडासैनी, कर्तव्यनिष्ट महिला समाज मुग्लिनका अध्यक्ष सिर्जजना देवकोटा लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

हिजो नै गाउँपालिकाको कार्यपालिका बैठक समेत उक्त ऐतिहासिक उपरदाङ गढीमा सम्पन्न भएको थियो। कुनै समय चितवन जिल्लाको सदरमुकाम समेत रहेको उक्त गढी ढुँङ्गै ढुङ्गाले बनेको छ । आकर्ष एवम् मनोरम तथा ऐतिहासिक महत्व बोकेको उक्त स्थान अझै ओझेलमा परेको स्थानीयको गुनासो छ । हिजो गाउँपालिकाले सोही ठाउँमा अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयको उपस्थिती रहेको थियो ।

सो क्रममा स्थानीयले त्यहाँको संरक्षणका लागि हेरालु आवश्य रहेको, शौचालय, फोहोर फाल्ने उचित स्थान, खानेपानी , विद्युत लगायको माग गरेका थिए । अहिले दैनिक पर्यटक आउने गरेको तर वास्तविक इतिहास के हो भन्नेमै अन्योल रहेका कारण पर्याप्त जानकारी दिन नसकिएको बालकुमारी टोल सुधार समितका अध्यक्ष अम्मर बहादुर गुरुङको गुनासो थियो । सडक आउँदा पर्यटक आउन सजिलो त भएको तर अन्य संरचनाको विकास गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यकटीय स्थलहरुमा जथाभावी भौतिक संरचना नबनाउन आग्रह गर्दै पर्यटकीय स्थलको वास्तविकता मेट्न नहुनेमा जोड दिएका थिए ।
उपर्दाङ्गगढी पर्यटन विकास समितिका अध्यक्ष रुपेन्द्र कर्मचार्यले विना योजना हुने विकासले परिणाम नदिने भन्दै योजना बनाएर सोही अनुसार संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । अहिले वडानम्वर २ र ७ जोड्ने गरी बनाउन लागिएको सडकले खानेपानीको मुहनानै पुरिने सम्भावना रहेको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । साथै उपर्दाङ्गगढीसंगै रहेको चिसापानीगढीमा ३०० प्रजातीको चरा पाउने र ऐतिहासिक स्थलको अवलोकन सँगै चरा र पर्यापर्यटनमा यसलाई जोड्न सकिने बताउनुभयो ।

बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष तथा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडीले गढीको विकासका लागि सधैँ साथमा रहेको बताउँदै योजनागत संरचना निर्माण गरी ऐतिहासिक मर्म जोगाउन सुझाव दिनुभयो । अहिले उद्योगसँघकै पहलमा त्यहाँ सोलारबाट बत्ती जडान गरिएको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले गाउँपालिका र प्रदेशले गरि हाल सम्म विभिन्न पुर्वाधारका लागि ८५ लाख रुपैयाँ लगानी गरिसकेको र गढि सम्म पुग्ने सडक बनाइसकेको बताउनुभयो । त्यस्तै सिढी, गेट सौचालय लगायत भौतिक संरचना निर्माण गरिएको र गढीमै पनि उक्त संरचना बनाउने र स्थानीयको सुझावलाई कार्यान्वयनमा लैजाने बताउनुभयो ।

गढीबाट सुर्यास्त सँगै हिमाल, प्राकृतिक शुन्दरताको मज्जा लिन सकिन्छ । साथै स्थानीयले गर्ने स्वागतमा आत्मीयता पाइन्छ भने स्थानीय उत्पादन गिठा, भ्याकुर, मह, कोदाको रोटी, गुन्द्रुकको अचार त्यहाँको अविष्मरीण विशेष रहेको छ । उपरदाङगढीमा होमस्टे समेत संचालन गरिएको छ ।

सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको थियो । विसं २०१६ सम्म महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने तत्कालीन दाहाखानी गाविस र हालको इच्छाकामना गाउँपालिका–७ मा पर्छ । समुद्री सतहदेखि एक हजार २७५ मिटर उचाइमा पर्ने यो किल्ला तत्कालीन बाइसे–चौबिसे राज्य एकीकरणका बेला अङ्ग्रेज फौजविरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गर्नुभएको थियो ।

Share.

Leave A Reply