गैँडाकोटका सामुदायिक माविमा नर्सको व्यवस्था गरिदै

0

डोलराज रानाभाट, गैँडाकोट, पौष १ । गैँडाकोटमा रहेका माध्यमिक सामुदायिक विद्यालयहरुमा नर्सहरुको व्यवस्था गरिने भएको छ । गैँडाकोट नगरपालिका भित्र १० वटा सामुदायिक माध्यामिक विद्यालय रहेको र सवैमा एक एक जना नर्सले काम गर्ने गरी व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको कार्यक्रम प्रत्येक माध्यामिक विद्यालयमा नर्सको व्यवस्था गर्ने कार्यक्रम अनुसार विद्यालय नर्सिङ कार्यक्रम यहाँ पनि सुरु गरिने भएको हो । भुषालका अनुसार केन्द्रकै मापदण्ड अनुसार १० जना नर्स छनौट भइसकेका र उनीहरुलाई नगरपालिकामा सम्पर्क राख्न एक हप्ताको समय दिइएको छ । त्यसपछि विद्यालयमा नर्सले गर्नुपर्ने कार्यहरुको विस्तृत तालिम प्रदान गरिने भुषालले बताउनुभयो ।
स्वास्थ्य र शिक्षा अन्योन्याश्रीत सम्वन्ध भएकाले यो कार्यक्रम अत्यन्त फलदायी रहने उहाँको भनाई छ । नेपालको संविधानमै शिक्षा स्वास्थ्य नैसर्गीक अधिकार समेत रहेकाले यो कार्यक्रमले त्यसको पनि सुनिश्चतता गर्ने र सानै उमेरदेखि स्वास्थ्य सरसफाइमा विद्यार्थीहरुले ध्यान दिँदा निरोगी समाज निर्माणमा टेवा पुग्ने भुषालको भनाई छ । साथै यसले अभिभावकहरुलाई पनि स्वास्थ्य सम्न्धी सन्देश दिन सहयोग पुग्ने र आफ्ना वालवालिका सरकारी विद्यालयमा पठाउँदा विरामी परिहाले नर्सले हेर्ने कुराले थप ढुक्क हुने वातावरण वन्ने उहाँको भनाई छ ।
शिक्षित एवम स्वास्थ समाज निर्माणमा समेत ठूलो सहयोग मिल्ने यो कार्यक्रम अवको १० दिनभित्र लागु हुने प्रमुख प्रशासकीय अधिकृत भुषालले बताउनुभयो । कोभिड १९ को पनि सक्रमण जोखिम कायमै रहदा यो कार्यक्रमको महत्व अझ बढि रहेको भन्दै अहिले स्थानीय तहमा आवश्यकताको पहिचान सहित सानो कोर्ष निर्माणको काम भइरहेको र यसलाई पूर्णता दिएर सोही अनुसार विद्यालयमा नर्सहरुलाई खटाइने भुषालले बताउनुभयो ।

Share.

Leave A Reply