बिहानी झुल्केझैँ झलमल बनोस् देशभरमा

0

कविता
बिहानी झुल्केझैँ झलमल बनोस् देशभरमा

धर्मानन्द पौडेल
गैँडाकोट

म हुर्केको प्यारो विपुल धरणी सुन्दर छटा
पहाडी पाखोमा हरित वनका बोट सजिँदा
भयो नाचौँ नाचौँ मधुर मनको पूर्ण रसमा
बिहानी झुल्केझैँ झलमल बनोस् देशभरमा ।

कतै अग्ला डाँडा समतल कतै भीर पहरा
कतै बग्छन् खोला छङछङ कतै खस्छ छहरा
घुमेका पाटा छन् फसल धनले सुन्दर यहाँ
बिहानी झुल्केझैँ झलमल बनोस् देशभरमा ।

नदीनाला हाम्रा अतुल धनको स्रोत मधुरा
मधेसी माटो हो फसलधनको उर्वर धरा
छ बोकेको धर्ती भुवनभरकै उच्च गरिमा
बिहानी झुल्कैझैँ झलमल बनोस् देशभरमा ।

सिँगार्ने छौँ हामी मुलुकजनको मेल भरिए
बिगार्ने छौँ हामी मनमगजमा द्वेष छरिए
म नेपाली जागूँ अलमल हटोस् कर्मगतिमा
बिहानी झुल्केझैँ झलमल बनोस् देशभरमा ।

गरी खाने धन्दा सकलजनमा सुम्पन सके
नदी फर्के होला नहर बजुली झल्झल सखे
बुझे बन्थ्यो होला श्रम र धनको मूल्य जगमा
बिहानी झुल्के झैँ झलमल बनोस् देशभरमा ।

सबै राम्रा राम्रा सबल धनको स्रोत छ यता
बुझे बन्थ्यो पक्कै मनुजमनले वास्तविकता
उडे दौडे भागे युवक युवती दूर नभमा
कहाँ क्यारी बन्ने झलमल गरी देशभरमा ।

Share.

Leave A Reply