खण्डहर बन्दै भृकुटी कारखाना, पसिनाको मूल्य चुकाउन तयार छैनन् मजदुर

0


माया कँडेल
गैँडाकोट । देशकै शानका रुपमा रहेको भृकुटी कागज कारखाना कुरुप र खण्डहर बनेको छ । बन्द भएको दशक भइसक्दा पनि न त यहाँ काम गरेका कर्मचारीले तलब पाएका छन्न त यसको व्यवस्थापनमा नै सरोकारवालाले चासो दिएको छ । मजदुर र सीमान्तकृतका लागि काम गर्छौं भन्ने व्यक्ति सरकारमा पुगे तर यो विषयले भने अझै प्राथमिकता पाउन सकेको छैन ।
भृकुटी कागज कारखाना बन्द हँुदा सयौँ व्यक्तिले रोजगारी गुमाए । यति मात्रै होइन कागजमा आत्मनिर्भर बनेको र विदेशमा पनि यहाँ उत्पादित कागज निर्यात हँुदै आएका ठाउँमा अहिले भने कागजमा विदेशमा नै निर्भर हुनपर्ने अवस्था आएको छ ।
पसिना बगाएर मेहनत गरेको कामको मूल्य पाउन अहिले भृकुटी कागज कारखानामा काम गरेका मजदुरले आँसु बगाइरहेका छन् । कागज कारखाना २०६७ फागुन १९ गतेदेखि पूर्णरूपमा व्यवस्थापन पक्षले एकलौटी ढंगले सूचना टाँसेर बन्द गरेको थियो । त्यसपछि मजदुरहरुको आँखामा बगेको आँसु रोकिएको छैन । ज्याला अभावमा आत्महत्याजस्ता घटना घट्न पुगे ।
गैँडाकोटमा बस्दै आउनुभएका पर्वतका होमनाथ सापकोटाले २०५३ सालदेखि कारखानामा काम गर्दै आउनुभएको थियो । बन्द भएको आधिकारिक सूचना नआई बन्द भएको बताउने सापकोटाले तलब पनि नपाएको बताउनुहुन्छ । अहिले उहाँ घर नजिकै रहेको सरस्वती आधारभूत विद्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्दै जीवननिर्वाह गरिरहनुभएको छ । उर्जाशील उमेर उद्योगकै उन्नतिका लागि खर्चनुभएका उहाँ यो अवस्था आउला भन्ने कल्पना नै गर्नुभएको थिएन । अझै पनि आपूmले गरेको मेहनतको मूल्य पाउने हो वा होइन उहाँ अन्योलमा नै हुनुहुन्छ ।
भृकुटी कागज कारखाना अहिले झाडीले भरिएको छ भने कारखानाका सबै संरचना जीर्ण बनेका छन् । कारखाना अस्थिपञ्जरजस्तै बनेको छ । करोडौँमूल्य पर्ने मेसिनहरू र पार्टपुर्जाहरु खिया लागेर बिग्रिएका छन् ।
२०७५ साल वैशाख १५ गते तत्कालीन उद्योगमन्त्री मातृकाप्रसाद यादवले भृकुटीको अवलोकन गर्दै राष्ट्रियकरण गर्ने चेतावनी दिए पनि अझैसम्म केही हुन सकेको छैन । यादवसमक्ष मजदुरले आफ्नो माग र गुनासासहितको पत्र पनि बुुझाएपनि सुनुवाइ भएको छैन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, तत्कालीन टे«ड युनियनका अध्यक्ष एवं प्रधानमन्त्रीका वर्तमान राजनितिक सल्लाहकार विष्णु रिमाललगायत यसबारेमा जानकार हुनुहुन्छ तरसुनुवाइ नभएको सोही कारखानामा काम गर्नुभएका मजदुरका तर्फबाट सम्झौताकारमध्येका एक साक्षी गैँडाकोट ५ का वडा सदस्य हरिप्रसाद ढकालको भनाइ छ । उहाँले श्रम कार्यालयमा मुद्दा हाल्नेदेखि पटक–पटक सहमति र सम्झैता गरेपनि कार्यान्वयन नभएको बताउनुभयो ।
अहिले पनि १६÷१७ जना गार्डले भृकुटीको हेरचाह गरेर बसेको ढकालको भनाइ छ । भृकुटी कागज कारखानाका नाउँमा ५२ बिगाहा जमिन छ । सो कारण अहिले पनि आपूmले गरेको परिश्रमको मूल्य पाइने आश साँचेर बसेको उहाँ बताउनुहुन्छ ।
तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीतिअनुरुप भृकुटी कागज कारखानालाई २०४९ सालमा गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्क्राफ्टलाई सबै जमिन र संरचनासहित कौडीको भाउमा बेचेको थियो।
चीन सरकारको सहयोगमा २०३९ सालमा सञ्चालनमा आएको भृकृटी कागज कारखानाले ६० प्रतिशत माग धान्दै आएको थियो तर निजीकरणपछि उद्योगको दूर दिन सुरू भयो । स्थायी रूपमा कार्य गर्दै आएका ३ सय ४० जना कामदार कर्मचारीहरुले २०६७ मंसिरदेखि तलबभत्ता पाएका छैनन् तर अस्थायी २२, करारमा काम गर्ने ४४ र परीक्षण स्थायी पाएका ९२ जनालाई भने सञ्चालकले कारखाना बन्द हुने बित्तिकै पाउनुपर्ने तलब दिएर बिदा गरेका थिए । ३४० जनालाई किन अहिलेसम्म तलब दिएन उनीहरुले प्रश्न गरिरहेका छन् । गैँडाकोटका रामलाल कँडेल २०५१ सालदेखि नै भृकुटीमा श्रम गर्दै आएको बताउनुहुन्छ । उहाँको पनि भृकुटीले सो समयको ८ लाख ८२ हजार रकम दिन बाँकी छ । २०७० सालमा आन्दोलन गर्न मजदुर काठमाडौँसमेत पुगेका थिए । त्यसबेला १० प्रतिशत ब्याजसहित सबै तलब उपलब्ध गराउने सम्झौता भएपनि कार्यान्वयन नभएको उहाँ बताउनुहुन्छ ।
निजीकरणपछि ८० टन कागज उत्पादन हँुदै आएको र विदेश पनि निर्यात हुने गरेको कामदार बालकृष्ण ढकालको ठम्याइ छ । दैनिक ज्यालादारीमा २ वर्ष काम गरेर ०५३ सालमा स्थायी हुनुभएका उहाँले कारखाना बन्द भएको १७ महिनापछि मजदुरको हिसाब गरेर दिन्छु भने पनि नदिएको बताउनुभयो । मजदुरले विभिन्न चरणमा आन्दोलन पनि गरे। तत्कालीन उद्योगमन्त्रीकै नेतृत्वमा वार्ता भएपनि कार्यान्वयन नहँुदा उनीहरु निराश छन् ।
भृकुटीकागज कारखानाकै भरमा कत्तिले आफ्नो परिवार पाल्दै आएका थिए । उद्योग बन्द भएर रोजीरोटी गुमेपछि कतिपयले आर्थिक स्थिति झेल्न नसकेर आत्महत्यासमेत गरेको बालकृष्ण ढकाल बताउनुहुन्छ ।
जनकपुरबाट काम गर्न गैँडाकोट आउनुभएका राजेन्द्र सिंह कारखानाले प्रस्ताव गरेपछि २०५२ सालदेखि कारखानामा काम सुरु गर्नुभएको हो । उहाँ पेपर कन्टोलरमा रहेर काम गर्नुहुन्थ्यो तर उहाँले पनि अझै आफ्नो श्रमको मूल्य लिन बाँकी छ ।
भृकुटीका मजदुर गैँडाकोटका ऋषिराम बगालेले अहिले कृषिकर्म गर्दै परिवारको आर्थिक जोहो गर्दै आउनुभएको छ । मजदुरले बुटवल श्रम कार्यालयमा मुद्दा पनि हाले तर पसिनाको मूल्य दिने सम्झौतामा मुद्दा फिर्ता लिएपछि आपूmहरु कमजोर बनेको बगालेको भनाइ छ ।
यस्तै गैँडाकोटकी रेनु कँुवर भृकुटीमा नै १७ वर्ष काम गर्नुभयो । आन्दोलन गरेर सम्झौता गरेपछि श्रमको मूल्य दिन्छु भनेपनि मूल्य नपाएको उहाँ बताउनुहुन्छ । उहाँले एकपटक २० हजार पाए पनि अरु तलब नपाएको बताउनुहुन्छ ।
रोजगारी गुमेकामा मजदुरलाई पनि ठूलो शोक छ । त्यसभन्दा ठूलो चिन्ता सरोकारवालाहरुले गरेका उल्लङ्घनले परेको छ तर आपूmले बगाएको पसिनाको मूल्य चुकाउन उनीहरु तयार छैनन् । उनीहरुले पटक पटक गरेका सम्झौताअनुरुप नै पारिश्रमिक उपलब्ध गराउन माग गर्दै आएका छन् ।

समस्या समाधानका लागि लागिरहेका छौं


हितेश गोल्छा
सञ्चालक
भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेड
बैंकहरुको अनुमति पाएका छैनौं । बैंकहरुले अनुमति दिएपछि काम अगाडी वढ्छ । त्यो काम कहिलेसम्म हुन्छ भन्ने कुरा बैंकहरुमा निर्भर पर्छ । नेपाल बैंक लगायतका बैंकबाट काम भईरहेको छ । बैंक अब हाम्रो अधिनमा हुने कुरा भएन । सरकारको अधिनमा छ । मजदुरहरुको समस्या समाधानका लागि लागिरहेका छौं । हामी सकरात्मक छौं । बैंकहरु पनि लागिरहेका छन् । कहिलेसम्म हुन्छ भन्ने अहिले यसै भन्न सकिने अवस्था छैन तर त्यस्का लागि हामी लागिरहेका छौं ।

संघीय सरकारसँग कुरा गर्छौ


छत्रराज पौडेल
प्रमुख
गैंडाकोट नगरपालिका
भृकुटि कागज कारखानाका मजदुरमात्र होईन, भृकुटिसँग जोडिएर त्यहाँ पराल, काँस, बाबियो पु¥याउनेहरु, त्यहाँ रहेका उद्योगको सिफारिसमा होटलमा खाएको खाना, पसलहरुमा लिएको उद्यारो समान, तेल लगायतका सामग्रीको पैसा नपाएको अवस्था छ । अन्य लगानीकर्ताले पनि पैसा पाएका छैनन भने मजदुरले पनि पैसा नपाएको अवस्था छ । जस्का कारण विभिन्न पक्षका व्यक्ति यसबाट प्रभावित छन् । अहिले उद्योगले करिब ६ खर्बको हाराहारीमा पैसा तिर्नुपर्ने देखिएको छ भन्ने सुनेको छु । हामीले पहिलो नगरसभाबाट नै यस कारखानालाई राष्ट्रियकरण गर्नुपर्छ, यहाँका मजदुरको समस्या समाधान गर्नुपर्छ अनि बैंक लगायत वित्तीय संस्थाको समस्या समाधान गर्नुपर्छ भनेर पास गरिसकेका छौं । गैंडाकोट प्रवेश गर्ने वित्तिकै नगरको शोभा नै हराउने गरेर देखिएको खण्डहर अवस्थामा रहेको यस कारखानाको विषयमा पूर्व अर्थमन्त्री, उद्योगमन्त्रीसँग हामीले कुरा गरिसकेका छौं । अब वर्तमान अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लगायत संघीय सरकारसँग यसको दिर्घकालिन समस्या समाधान गर्नुप¥यो र राज्यको सम्पत्ती राज्यको माताहतमा ल्याउनुप¥यो भनेर कुरा गर्ने तयारीमा रहेका छौं ।

 

बैंक आफ्नो ऋण उठाउन प्रयासरत छ


प्रकाशकुमार अधिकारी
सहायक प्रमुख कार्यकारी अधिकृत एवम् प्रवक्ता
नेपाल बैंक लिमिटेड
भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडका समस्या के छन् त्यो हामीलाई थाहा हुने कुरा भएन तर हामीले उनिहरुसँग लिनुपर्ने ठूलो ऋण छ । त्यो उठाउनका लागि हामी कानुनी प्रक्रियामा रहेका छौं । गोल्छा अर्गनाईजेसनसँग हामी जस्तै अन्य बैंकहरुले पनि लिनुपर्ने ऋण छ । जमिन बेचेर त्यो चुक्ता गर्न सकिन्छ की सकिदैन भन्ने विषयमा छलफल पनि भएको छ । अहिलेसम्म भएको छलफल अनुसार त्यो सम्पती नबेचेसम्म ऋण चुक्ता गर्ने अवस्थामा नरहेको भनेर उहाँहरुले भन्नुभएको छ । सरकारबाट किनेको उद्योग भएका कारण त्यसलाई कसरी गर्ने भन्ने विषय अझै निक्र्यौल भईसकेको छैन । बैंकले कति पाउने, मजदुरले कति पाउने अन्य लागनीकर्ताले कति कसरी पाउने त्यो फरक पाटो हुन् । सबैको समस्या समाधान हुनुपर्छ । तर बैंकको अरबौ रुपैयाँ डुबेको छ । बैंक आफ्नो ऋण उठाउन प्रयासरत छ । हामि प्रक्रियामा नै रहेका छौं ।

Share.

Leave A Reply