सूर्यदीप नारी सहकारीको साधारण सभा सम्पन्न, महिला सशक्तिकरणमा जोड

0


प्रेम क्षेत्री
मंसिर २७, गैंडाकोट । गैंडाकोट ९ मा रहेको सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्थाले गतवर्ष ८ लाख ७९ हजार वढि मुनाफा गर्न सफल भएको छ । शनिबार संस्थाको १५ औं वार्षिक साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव सिता गिरीले गत आर्थिक वर्षमा ८ लाख ७९ हजार १ सय ९८ रुपैयाँ मुनाफा गर्न सफल भएको जानकारी दिनुभयो । कोषाध्यक्ष विष्णुमाया पाण्डेले कुल पूँजी एक करोड ९५ लाख ५९ हजार ७ सय ९४ रुपैयाँ पुगेको जानकारी दिनुभयो । सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपा देवी सापकोटाले सहकारीले महिलाको आर्थिक सशक्तिकरणको पाटोमा काम गरिरहेको बताउनुभयो ।


साधारण सभामा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका उप प्रमुख विष्णुकुमारी कंडेलले महिलाको जीवनस्तर मजबुत हुने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । महिला सशक्तिकरणका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहेको जनाउँदै उहाँले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । साथै उहाँले संस्थाको महिला समूहको महिला सशक्तिकरण सभाहल तथा जीर्ण भवनका लागि सहयोग गर्ने बताउनुभयो । विशिष्ट अतिथि गैंडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले वडाको तर्फबाट आगामी वर्ष भवनका लागि बजेट विनियोजन गर्ने बताउनुभयो । महिला दिदि बहिनिहरुको उत्थानका लागि वडाले काम गरिरहेको र आगामी दिनमा पनि लक्षित कार्यक्रमलाई जोड दिईने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार उमाकुमारी पाण्डेले महिला समूहलाई विस्तारित रुप दिदै सहकारी स्थापना गरेको प्रसंग जोड्दै महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक जीनवस्तर माथी उठाउन पहल गर्दै आएको बताउनुभयो ।


कार्यक्रममा वडा सदस्य भवानी वर्तौला, जयश्री टोल विकास संस्थाका अध्यक्ष ज्ञानप्रसाद खनाल, नारायणी वनका उपाध्यक्ष एवं जैनटार टोल विकास संस्थाका अध्यक्ष वेदप्रसाद चालिसे, समाजसेवीहरु बालुराम कुमाल, रामचन्द्र सापकोटा, डिलबहादुर कुमाल, जेयष्ठ सदस्य मनरुपा सापकोटा, जयश्री फुड्सका व्यवस्थापक अमृत अग्रवाल लगायतको उपस्थिती रहेको थियो । उहाँहरुले संस्थाको उन्नतीका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।


लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक पवित्रा चालिसे, ऋण उप समितिको प्रतिवेदन संयोजक रिमाकुमारी कुमाल, शिक्षा समितिको प्रतिवेदन संयोजक सरस्वती सापकोटाले तयार पार्नुभएको प्रतिवेदन सदस्यलाई प्रदान गरिएको थियो । वन्दसत्रले प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मत पारित गरेको छ ।


सो अवसरमा संस्थालाई योगदान पु¥याउने, उत्कृष्ट बचतकर्ता, सेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो । संस्थाको उपाध्यक्ष सरस्वती सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो साधारण सभा संस्थाका अध्यक्ष दिपा देवी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । २०५३ सालमा स्थापित सूर्यनगर आमा समूह र २०६३ सालमा स्थापना गरिएको दीपज्योती महिला समूहबीचको एकिकरण पश्चात सूर्यदीप सहकारीको स्थापना भएको थियो । संस्थामा हाल १३ वटा महिला समूहका ४३१ जना महिला सदस्य आवद्ध रहेको व्यवस्थापक सीता पुनले जानकारी दिनुभयो ।

Share.

Leave A Reply