चितवनमा गतवर्ष भन्दा ५२ प्रतिशतले कम राजश्व असुली

0

डोलराज रानाभाट, चितवन, मंसिर २४ ।  गत वर्षको तुलनामा चितवनमा कम राजश्व संकलन भएको छ । कोरोना भाइरस कोभिड १९ र लकडाउनका कारण चालु आर्थिक बर्षको प्रथम चौमासिकमा राजश्व असुली सर्लक्कै घटेको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा गत आर्थिक बर्षको अवधिमा संकलित राजश्वको ५२ प्रतिशतले कम राजश्व संकलन भएको हो ।

चालु आर्थिक वर्ष २०७७/०७८ को कार्तिक सम्म जम्मा रु. ४ अर्ब ९२ करोड ८४ लाख ९७ हजार असुली भएको छ । जवकी यही अवधिमा आर्थिक वर्ष २०७६/०७७ मा १० अर्ब २७ करोड ६८९ रुपैया संकलन भएको थियो । त्यस्तै चालु आर्थिक बर्षको यही अवधिसम्मका लागि दिएको लक्ष्य समेत पुरा हुन सकेको छैन । चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिकमा ६ अर्ब ५ करोड २४ लाख ७५ हजार लक्ष्य दिएकोमा ८१ दशमलव ४३ प्रतिशत संकलन भएको छ ।

राजश्व असुलीमा सवैभन्दा बढी योगदान अन्तः शुल्कले दिएको छ । चालु आर्थिक बर्षको यो अवधिमा यो शीर्षकबाट मात्रै ३ अर्ब ६७ करोड ७३ लाख ९३ हजार संकलन भएको छ । दोस्रो ठूलो योगदान मूल्य अभिवृद्धी करबाट रहेको छ । जुन शीर्षकबाट ६८ करोड ७७ लाख ७० हजार संकलन भएको छ । आयकर, बहालकर र व्याजकरबाट ५५ करोड ९३ लाख ८९ हजार संकलन भएको आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी कपिल राज नेपालले जानकारी दिनुभयो ।

 

चालु आर्थिक बर्षको कार्तिक महिनामा मात्रै १ अर्ब ३६ करोड १२ लाख ८० हजार संकलन भएको छ । चालु आर्थिक बर्षभरको वार्षिक लक्ष्य भने १८ अर्ब ९० करोड ९० लाख ४ हजार रुपैया रहेको छ । यही लक्ष्यको २६ दशमलव ०६ प्रतिशत पहिलो चौमासिकमा संकलन भएको हो ।

Share.

Leave A Reply