हिंसा अन्त्यका लागि ऐक्यबद्धता

0


हामी यतिबेला लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा छौँ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका रुपमा मनाउने चलन छ । यस बीचमा सरोकारवाला संघसंस्थाले ‘म हिंसा गर्दिनँ’ लगायतका विषयमा हस्ताक्षर अभियान नै चलाएका छन् । विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिएका छन् । वर्षौंदेखि यस्ता कार्य चलिरहेका छन् तापनि समाजमा हिंसाका घटनामा कुनै कमी आएको छैन । हिंसाका विभिन्न रुप छन् र त्यसमाथि महिला यौन हिंसासँगै घरभित्र हुने हिंसाहरू अझै बाहिर आउन सकेका छैनन् । नेपालको संविधानमा महिलासम्बन्धी व्यवस्था गरिएको छ, जस अन्तर्गत महिला भएकै कारण कुनै किसिमको भेदभाव गरिने छैन, प्रत्येक महिलाहरुलाई स्वाभिमानी भई, स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार उल्लेख गरिएको छ । त्यस्तै कुनै पनि महिला विरुद्ध शारीरिक, मानसिक, यौनजन्य अन्य हिंसाजन्य कार्यहरु गरिने छैनन् । त्यस्ता कार्यहरु भएमा कानुनद्वारा दण्डनीय हुनेछन् । प्रत्येक महिलाहरुमा प्रजनन स्वास्थ्यसम्बन्धी हक अधिकार हुनेछ भनी उल्लेख गरिए तापनि महिलामाथि हुने हिंसा बढी नै रहेका छन् ।
हिंसा सहेर बसेका कारण पनि पीडकले प्रश्रय पाइरहेका छन् । हिंसा भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई दिइने यातना, पीडा, दुःख र अपमान हो । यो शारीरिक, मानसिक, आर्थिक, यौनजन्य वा जुनसुकै रुपमा पनि हुन सक्दछ । शारीरिक रुपमा कुटपिट गर्ने, चोटपटक लाग्ने, यातना दिने, मानसिक रुपमा अपमान, गालीगलौज गर्ने, डरधम्की देखाउने, त्रासपूर्ण व्यवहार गर्ने पशुवत् व्यवहारहरु गर्ने, हतोत्साहित गर्ने, जिस्क्याउने, गैरकानुनी रुपमा नजरबन्द वा थुनामा राख्ने जस्ता कार्यहरु हिंसाका रुपहरु हुन् । त्यस्तै यसका साथै यौनजन्य प्रकृतिका दुव्र्यवहार, वैवाहिक बलात्कार, बलात्कार, चेलीबेटी बेचबिखन जबरजस्त यौन व्यवसायमा संलग्न गराउने, छाउपडी, देउकी, वादी, झुमा राख्ने, यौन सन्तुष्टिका लागि गरिने गलत क्रियाकलापहरु पनि हिंसाजन्य क्रियाकलापहरु हुन् । यस्ता हिंसाको खुलेर विरोध गर्नुपर्छ ।
हाम्रो धर्मसंस्कृति, रीतिरिवाज र सामाजिक विधिव्यवहारमा पनि महिलाहरुलाई पछाडि नै पारेको देखिन्छ । पितृसत्तात्मक सोचका कारण घरपरिवार अधिकारबाट नै महिला भन्नासाथ नकारात्मक दृष्टिकोणले हेर्ने चलन छँदै छ । आर्थिक पहुँचमा, शिक्षा रोजगार र चेतनामा पछि परेका कारण महिलाहरु हेपिँदै आएका छन् । पहिलेको तुलनामा महिला केही खुलेर र हिंसा विरुद्ध आवाज भने उठाउन थालेका छन् । हिंसा अन्त्यका लागि महिला वा पुरुष सबैले आआफ्नो स्थानबाट सकरात्मक भूमिका निर्वाह गर्न जरुरी छ । त्यसमाथि तीन तहका सरकारले हिंसा अन्त्यका लागि अनुशासित समाज निर्माणका लागि प्रत्येक महिलाहरुलाई आफ्नो हक अधिकार र कर्तव्य के हो ? कसरी हिंसा जन्य क्रियाकलापबाट जोगिन सकिन्छ ? भन्ने बारे शिक्षालाई प्रभावकारी रुपमा लैजानुपर्छ । लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिबद्धता जनाउँदै व्यक्ति, समाज र सबैको ऐक्वबद्धता हुनु आवश्यक छ ।

Share.

Leave A Reply