अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सामग्री हस्तान्तरण

0


प्रेम क्षेत्री
मंसिर १८, गैंडाकोट । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारि गैंडाकोट नगरपालिकाले बिहिबार गैंडाकोटका अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
कार्यक्रमका अध्यक्ष, गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख एवम् अपाङ्गता परिचय पत्र समन्वय समिति संयोजक विष्णुकुमारी कंडेलले कोभिडका कारण व्यापक रुपमा कार्यक्रम गर्न नसकेपनि केही राहत हुने हेतुले उपयोगी सामग्री प्रदान गरिएको बताउनुभयो । नगरपालिकामा हालसम्म ५४८ जनाले ४ प्रकारका परिचय पत्र लिएको जनाउँदै उहाँले उनिहरुलाई समेत समेट्ने गरि कार्यक्रम तय गरिने बताउनुभयो । नगरका फरक क्षमता रहेका व्यक्तिहरुलाई सहज वातावरण बनाउन समन्वय गरेर अघि वढ्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले जो जसले जसरी अंग गुमाउन पुगेपनि उनिहरुलाई गरिने व्यवहार सकरात्मक हुनुपर्नेमा जोड दिनुभयो । आत्मा अपाङ्ग नहुने तर्क गर्दै उहाँले सबैको पहिचान सुनिश्चित गरि समान हैसियतमा बाच्न पाउने अधिकार प्रदान गर्न सबै जुट्नुपर्ने बताउनुभयो ।


अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता अनुसार विभिन्न सामग्री हस्तान्तरण गरिएको महिला तथा सामाजिक विकास शाखा प्रमुख, सिता लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा फरक क्षमता भएकाहरु वडा नम्बर ८ का शुकबहादुर तामाङलाई खाद्यान्न सामग्री, वडा नम्बर ८ कै चुडामणि सापकोटालाई सेतो छडि, वडा नम्बर १४ की बबिता बुढाथोकीलाई न्यानो कपडा, वडा नम्बरर १३ का पदमनारायण थनेतलाई वैशाखी र वडा नम्बर १४ का ईश्वर दमैलाई वार्कर हस्तान्तरण गरिएको हो । वार्कर कोपिला नेपालले सहयोग गरेको थियो ।


त्यस्तै गैंडाकोट ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायले अपाङ्गता भएका व्यक्तिहरु पनि सक्षम रहेको उल्लेख गर्दै उनिहरुको जीवन निर्वाह हुने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । अपाङ्गता संघ गैंडाकोट नगर अध्यक्ष कृष्ण सुवेदीले संघ, प्रदेश र स्थानीय तहबाट आउने कार्यक्रम प्रभावकारी रुपमा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गैंडाकोटका विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।


कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि सबैको प्रतिवद्धता भन्ने मुल नारा सहित गैंडाकोट नगरपालिकाको आयोजनामा यो कार्यक्रम भएको हो । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बरका दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाईन्छ ।

Share.

Leave A Reply