“कोभिड–१९ को प्रभाव”

0

वेदप्रसाद गौडेल,
विश्वभरमा फैलिएको महामारी रोग चीनको हुवान प्रान्तबाट आज विश्वका सबै मुलुकमा मानव जातिलाई त्राहि त्राहि पारिरहेको कोभिड १९ नामक रोगले लाखौँ मानिसको ज्यान गइसकेको छ । करोडौं मानिस प्रभावित भई रोगसँग लडिरहेको अवस्था छ । त्यही प्रभाव नेपालमा पनि परिरहेको छ भने मानिसको दैनिक जीवनलाई पनि असर पारिरहेको छ । चासो र महत्त्वको विषय के छ भने यो कोरोना कोभिड १९को कुनै सही उपचार छैन र औषधी नै बनिसकेको अवस्था छैन तर मानिस स्वयंले स्वास्थ्यलाई ख्याल गर्नुपर्दछ वर्तमानमा विज्ञान विकासको प्रभाव र प्रकृतिको संरचनालाई मिचेर जानु नै यस्ता महामारीको प्रकोप हो भन्न उपयुक्त हुन्छ । भनिन्छ विकास नै विनाश । हो विनाश नै विकास तर मानिसले सोचविचार नगरी विकास र प्रकृति नियम विपरीतको विकास नै आजको मूल कारक भएको छ, आध्यात्मिकवादलाई तोडमोड गरी भौतिकवादीहरुको शिक्षा विलासिता र हैकम तथा खानपिन आहारविहारको सदुपयोग हुन नसक्दा आज विभिन्न समयहरुमा हरेक प्रकारका महामारी प्रकोप मानवजातिले बेहोर्नुपरिरहेको छ । सर्वसृष्टिकर्ता सम्पूर्ण ब्रÞमाण्डका एक मात्र भगवान्को लीला अवतारहरु मनुष्य, दानव, देवता सबैको अहंमता नियम आचारसंस्कारको पालना नहुँदा रिस, द्वेष, लडाइँ, छलकपट, हत्या, हिंसा, अधर्म जब पृथ्वीमा अत्यधिक बढेर जान्छ त्यस अवस्थामा समाधानका लागि ईश्वरीय शक्तिको आवश्यकता हुने हाम्रा ग्रन्थ, पुराण संस्कृतिबाट हामीले शिक्षा लिएका छौँ तर पनि पालना नहुँदा देश राज्य समाजमा र राज्य संचालक तथा धार्मिक व्यक्तिहरुको दूरदर्शिता र इमान्दारिता नभएपछि अनिष्ट हुन्छ । त्यस्तै यस्ता महामारीहरु पनि होडबाजी र चेतनास्तरमा कमी आहारविहार पालना नगर्ने मुलुक तथा देशबाट यसको प्रभाव सबै मनुष्यले बेहोर्नुपर्ने अहिलेको अवस्थाबाट चित्रण गर्न सकिन्छ । नेपालमा पनि २०७६/१२/११ देखि लकडाउन अर्थात् यसको प्रभाव भएको हो र सरकारबाट रोकथामको व्यवस्थामा विभिन्न कार्यक्रमहरु ल्याउन खोजिए पनि सफलतातर्फ उन्मुख नभएको अनुभूति भएको छ । देशमा सबै नागरिकहरु त्रसित र बिमारी भई बेहालत अवस्थामा छौँ, नागरिकको रोग भोक शोक सबै जिम्मा लिनुपर्ने सरकार र जिम्मेवारी निकायको हुन्छ भन्ने सिद्धान्त हामीले बुझेका थियौँ तर त्यसको अनुभूति हुन सकेको छैन सबै आफै नागरिक सजग हुने आफ्नो सुरक्षा, परिवार, समाजको सुरक्षा तथा व्यवस्था मिलाउन पनि योगदान गर्न जरुरी छ । स्थानीय निकाय प्रत्येक वडा टोलबासीहरु पनि सजग हुन जरुरी छ र कसैमा कोभिड १९ को पोजेटिभ देखिए पनि व्यवस्थापन गर्न लाग्नुपर्दछ, सुरक्षित भई तोकिएको मापदण्डमा रही सरसफाइ, शारीरिक व्यायाम, घाँटी कुल्ला गर्ने, शुद्ध तातो पानी पिउने, बाफ लिने, प्राकृतिक रसादी जडीबुटीको प्रयोग र चिकित्सकको सल्लाहअनुसार फलफूल, दूध गेडागुडी, सलाद आदि प्रशस्त खाने, चिन्ता नलिने, सकारात्मक सोच राख्ने, आत्मबल ढुक्क भएर रहने र नडराउने भएमा रोगको कुनै प्रभाव नहुने तथा पुनः परीक्षण गर्दा नेगिटिभ आई घरमा सुरक्षित रहेर बस्न सकिने हुन्छ ।
नेपालको मध्यभागमा पर्ने नवलपरासी (ब.सू.पू.) देवचुली न.पा. रजहरमा सामुदायिक प्राकृतिक चिकित्सालयको स्थापना २०६४ सालमा जनस्तरबाट नै रकम संकलन गरी सुरु गरिएको थियो । त्यसले सामाजिक क्षेत्रमा सबैको सहयोग लिई स्थानीय निकाय साविक गा.वि.स.हरु, देवचुली न.पा., जि.वि.स., नेपाल सरकारको समेतको सहयोग रही हाल केन्द्रीय सरकार, प्रदेश सरकारबाट समेत वर्तमान अवस्थामा यसले सहयोग प्राप्त गरी आएको छ तर यो प्राकृतिक शिक्षा योग उपचार विधि विश्वमा नै रहेको पद्धतिअनुरुप सञ्चालन गरी सेवा प्रवाह गरी आएको छ । हाल कोभिड १९ को प्रकोपको उपचार व्यवस्थापनका लागि सरकार तथा स्थानीय निकाय, प्रदेश सरकारबाट समेत कोभिड १९ को अस्थायी अस्पतालको रुपमा २०७७/०२/१५ गतेबाट स्वीकृत लिई सेवा प्रारम्भ गरी अत्यन्तै राम्रो पारदर्शी, निष्पक्ष र सेवामा प्रेरित रही निर्देशक डा. विनोद पौडेल, व्यवस्थापक हरिप्रसाद सापकोटा, सुरक्षा निकाय, सरकारी डाक्टर, नर्स, समिति सबैबाट सक्रिय सेवा प्रभाव भएको छ । राम्रो खानपान तथा योगशिक्षा, योग, व्यायाम प्रत्येक दिन र प्रकृति तथा प्रकोप रोगका बारेमा शिक्षा परामर्श प्राप्त भई मानिसलाई रोगशून्य गराउन सफल रहेको छ । म पनि २०७७/०६/०४ गते पोजेटिभ रिपोर्टबाट यस सामुदायिक प्राकृतिक चिकित्सालय अस्थायी कोभिड अस्पताल, रजहरमा आइसोलेसनमा बसी सबै क्षेत्रका मानिसहरुसँग मेरो परामर्श गरी मेरो अनुभवमा मानिसलाई जतिबेला, जुनसुकै बेला पनि विभिन्न रोग महामारीको प्रकोप हुन सक्दछ । मलाई विश्वास नै लाग्दैन्थ्यो कि मलाई यस कोभिड १९ पोजेटिभ हुन्छ भनेर अकस्मात भयो । केही जान्न बुझ्न सकिँदैन । तसर्थ यो अवस्था सबैले बुझ्नुपर्दछ । यस्तो अवस्थामा समाज, गाउँघर, टोलले हेर्ने दृष्टिकोणमा अज्ञानता हुन सक्दछ । चेतना, ज्ञान तथा आफैमा यसको प्रभाव भएपछि बुझिन्छ । अनुभवको कुरा गर्दा जसले जे भने पनि पि.सि.आर गरेपछिको अवस्थापछि मानिसलाई धेरै प्रकारको तरंग आउँदो रहेछ के हुने हो भन्ने जब पोजेटिभ आयो भने त्यसले मानिसलाई मनोवैज्ञानिक रोगको थालनी गर्दछ के होला, खराब नै हुन्छ परिवारको अवस्था के होला समाजले के भन्लान् भन्ने त्रास हुन्छ । बसाइ अलग समाजसँग घुलमेल नहुन आफ्नो जीवनशैली नै फरक हुँदा असर पर्दछ र नेगटिभ रिपोर्टबाट सबै रोग हराउँदछ । परिवारका सदस्यमा पर्ने असर, इष्टमित्र आफन्तहरुमा पर्ने प्रभाव, छरछिमेकीको अवस्था हेर्दा भिन्नता हुन सक्दछ तर मलाई त्यो अनुभूति भएको छैन किनभने सबैबाट मैले स्वास्थ्यलाभको कामनासहित फोन, फेसबुक, म्यासेन्जर, प्रत्यक्ष भेटी र आमजनसमुदाय, उच्चपदस्थ व्यक्तित्वहरु माननीयज्यूहरु संघसंस्था, पत्रकारहरुलगायतबाट हौसला, प्रेरणा र सहयोगी भूमिका प्राप्त भएको छ । अस्पतालमा प्रकोप भएर आउने व्यक्तिहरुमा पनि यहाँ त्यस्तो नराम्रो कुनै पाएको छैनर सबै खुसी र निर्भय रहेर बसिरहेका छौं । यहाँको खानपान व्यवस्थापन योग,परामर्श प्राकृतिक शिक्षाको प्रयोगसमेत उत्कृष्ट छ । वास्तवमै भन्ने हो भने नेपालका अन्य जुनसुकै अस्पताल तथा उपचार केन्द्रमा यस्तो राम्रो छैन भन्ने लागेको छ र सबैले यसको कामको मूल्याङ्कन गरी प्रचारप्रसारसमेत गरिएको देखिन्छ । वास्तवमै यो सत्य छ सरकारी निकायहरुमा पनि यस्तो परिपाटी निष्पक्षता, सेवामूलक भाव भएमा देशवासी बिमारीहरुले राहत महसुस गर्ने छन् । राज्य सरकारको प्रशंसा हुने सरकारबाट गरिने खर्च यस्ता परोपकारी संस्था चिकित्सालयमा निरन्तर दिनुपर्दछ तबमात्र जनस्तरमा सेवा पुग्छ । सबै सजक होऔँ, सुरक्षित रहौँ र सहयोग गरौँ भन्न चाहन्छु ।
यस अवस्थामा पत्रकारहरु, स्वास्थ्यकर्मी, राजनीतिक पार्टीका नेता, व्यक्तित्व, शिक्षक,राष्ट्रसेवक सुरक्षाकर्मी, व्यवसायी, समाजसेवी, सर्वसाधारण जनताहरुसमेत यस आइसोलेसनमा रही आएका छन् र सबैको राम्रो रहेको छ । म सँगै रहेर यस रोगको बारेमा स्वास्थ्यको अवस्था एवं देश समाजको बारेमा सोचको विषयमा भएका प्रयास भोगिरहेका प्रकोपको प्रभाव विश्लेषण र वर्तमानको राजनीतिक अवस्था र सरकारको अवस्था जनसमक्ष आएका गुनासा चासो र उपचारमा रहेका नागरिकको समीक्षा र चिकित्सालयबाट भएका प्रयास सेवालाई पनि विश्लेषण गरी आएका थियौँ, विभिन्न रेडियो सञ्चारबाट सन्देशमूलक ज्ञान दिन प्रयत्न भएको छ । कोरोना रोग महामारी पनि हो केही पनि होइन जस्तो लागिरहेको छ । रुघाखोकी, ज्वरोजस्तै हो यो, नयाँ रोग होइन । यसको प्रकोप यसैबाट सुरु भएको देखिन्छ । यो विकसित रुप हो । सजग रहेर सामान्य अवस्थामा पनि सुधार हुने अवस्था पनि देखिन्छ र ख्याल नभएमा श्वासप्रश्वासबाट फोक्सो मुटु किडनीमा प्रभाव हुने र हानिकारक भई जटिलता हुन सक्ने अवस्था हो । रुघाखोकीको भाइरस भने पनि कोरोना भाइरस भने पनि त्यही हो । तसर्थ उल्लिखित व्यवहार प्राकृतिक चिकित्सा योग विधिबाट र घरबारी जंगलमा प्राप्त हुने शुद्ध प्राकृतिक जडिबुटीको पहिचान र उत्पादन उपयोगबाट स्वास्थ्यकर्मी र डाक्टर परामर्शबाट पनि हामी रोगबाट बच्न सक्दछौं र आर्थिक कठिनबाट बच्न सकिन्छ । शुद्ध आचरण, सरसफाइ, राम्रो खानपान, परिश्रम गर्ने, योग गर्ने, रसिलो पोसिला घरगाउँमा आफै उत्पादन गरेर उपयोग गर्न सकिने खर्च नभईकन खान पाउने फलपूmल सागसब्जी, कागती, अदुवा, लसुन, बेसार, गुर्जो, मह, मौरीपालन, अर्गानिक अनाज, स्वच्छ निरोगी गाईभैसी पालन, दूध उत्पादनबाट सबै प्रकारको तत्त्व मिल्ने र पूर्ण रुपमा प्रयोग र श्रमबाट सदा निरोगी भई आर्थिक भार नपर्ने, औषधीको प्रयोग गर्नु नपर्ने भएपछि जनजीविका राम्रो भई घरव्यवहारमा आर्थिक बोझ कम भई बचत हुने हुँदा त्यसतर्फ पनि अब हामी जागरण हुनुपर्दछ । हाम्रा पुर्खाबाट भई गरी आएका यी नियमित कर्म कार्यक्रमलाई अबका पुस्ताबाट अनुसरण गर्न जरुरी छ । हाम्रो देश समाज जनताले मात्र गरेर हुँदो रहेनछ विश्वका देश मानिसहरुमा पनि यहि चेतना भएमा मात्र हुँदो रहेछ किनकि यो अहिलेको महामारी त छिमेकी अन्य देशबाट नै आएको हो किनभने अहिले संसारभर छ । सबै देशका नागरिक जुनसुकै देशमा जाने, बस्ने, आउने र जाने भएको हुँदा जनस्तरसम्म पनि यसको प्रभाव रहेको छ । तसर्थ विश्वमा नै विकसित अल्पविकसित र अविकसित देशलाई यसका बारेमा सजग रही स्वच्छ खानपान, योग शिक्षालगायतका सभ्यताको ज्ञान जुनसुकै जनावरको मासु प्रयोगबाट पनि यस्ता रोगको प्रभाव भएको हुँदा यसमा रोक लगाउन विश्व स्वास्थ्य संगठनको भूमिका हुन जरुरी छ र स्वयं नागरिकबाट पनि फोहोर वस्तु प्रयोग, प्रदूषण खालका उद्योग, विनाशकारी हतियारलगायतको उत्पादन, विषादी वस्तुको प्रयोग र जथाभावी औषधी प्रयोग बन्द गरेर प्रकृति र स्वच्छ वातावरण घरआँगन र टोल सफा राख्न, पूर्ण सरसफाइका कार्यक्रमसहित चेतना जगाउनु र नियम बनाउन अत्यन्तै जरुरी छ भने प्रत्येक देशका सरकारबाट पनि यही अनुरुपका कानुन बनाएर जानुपर्दछ । जनताबाट पनि सचेत भएर हामीले उल्लेख गरिएको आवश्यक सुधार पालना गर्ने अवस्थामा मात्र सुरक्षित भइन्छ ।
२०७७/०५/२५ गतेका दिन २२ दिनको बसाइपछि पी.सी.आर. परीक्षणबाट नेगेटिभ रिपोर्ट आई घरमा जाने अवसर प्राप्त भयो र श्रीमती पनि २०७७/५/११ देखि २५ गते १५ दिनमा साथमा आई त्यहाँ रहँदा गरिएका क्रियाकलाप खानपानलगायत हाल पनि निरन्तर गरिँदै आएका छौँ र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने छौँ । त्यहाँ बस्दा सबैसँग एकरुपता र सबै एकआपसमा घुलमेल भई रहेर नाचगान, रमाइलो योग, राम्रो स्वस्थ खानपान, सही सरसफाइ स्वच्छसँग रहेको र सबै त्यहाँ रहेका मानिसहरुबाट पनि यही गरिरहेको हुँदा त्यहाँ रहँदा हामी खुला रुपमा सबैसँग सामूहिक रुपमा रहेकोे सामाजिक काम गर्ने संस्कार भएकाले पनि रमाइलो रहेको अनुभूति छ र त्यो सामूहिक खानपिन बसाइ हाम्रा लागि सदा स्मरणीय रहनेछ । विभिन्न संघसंस्थामा समितिमा रहेर बैठक निर्णय काम गर्ने गाउँघरमा मानिसको मृत्युमा मलामी जाने १३ दिनभित्रमा दुःखमा भेट्ने,भेटी लाने, समवेदना दिने काम गर्नुपर्ने, कोही बिरामी भएमा भेटघाट उपचारमा लैजान पर्ने लगायतका सामाजिक कार्यमा पनि हिँड्न पर्ने मानवीय सेवासमेतको हाम्रो कर्तव्य भएको हुँदा यही कारणबाट पनि हामीलाई यस कोरानाको प्रभाव भएको मेरो ठहर छ तर यसको असर त हुन्छ तर म कुनै हालतमा विचलित नभएको र सेवा समर्पणलाई अझै दृढ रहन प्रेरणा लिएको छु । यही सेवा समर्पणबाट आम जनसमुदायको कामना भगवान् देवीदेवता र पितृहरुको आशीर्वादका कारण हामीलाई आराम भएकाले निरोगी भएका छौँ भन्ने पूर्ण विश्वास छ । आवश्यकतानुसार जीवनभर समाजसेवामा नै निरन्तर लागिरहने छौँ र आवश्यकतानुसार रगत दिएर पनि अरुको सेवा गर्न पनि लागिरहने छौँ । हाम्रो समाज र समाजमा रहेका अगुवा तथा टोलसुधार जनप्रतिनिधिहरु पनि समाजसेवी र त्यागी हुनुपर्दछ । धेरैले त राम्रो पनि गर्नुभएको छ । आफू र आफ्नो परिवार सुरक्षित छौँ तर अरु खराब छन् सहयोग गर्नुहुँदैन भन्ने भावना हटाउनुपर्दछ । तबमात्र सामाजिक भइन्छ र जीवन राम्रो हुन्छ । पैसा रकम घर सम्पत्ति छ भनेर केही हुँदैन । तपाई हामीलाई र परिवारलाई यो रोग भयो भने ती वस्तु कुनै प्रयोग गर्न पाउनु हुँदैन । तसर्थ आफ्नो पनि ख्याल गर्न र अरुकोपनि भलो चिताउन सबैलाई अनुरोध गर्न चाहन्छु ।
हामीलाई त सबैजनाले माया गर्नु भएको छ । यस क्षेत्रका सबै पदिय व्यक्तित्वहरु संघसंस्था आफन्तजन, इष्टमित्र, मान्यवर, देशविदेशमा रहनुहुनेहरुबाट प्रायः सबैमा स्वास्थ्यलाभको कामना गरी फोनबाट फेसबुकबाट, मोवाइल, मेसेन्जर, प्रत्यक्ष भेटेर अनि खबर गरेर आम नागरिकबाट अत्यन्तै पे्ररणा प्राप्त भएको थियो । सोही कारणबाट हामीहरु नेगेटिभ भई घर आएका छौँ । प्राकृतिक चिकित्सालयबाट गरिएको उपचार विधि, खानपान र सेवाप्रति म सदा सबैप्रति नमन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु । भगवान्प्रति आस्था र अरुको सेवा अनि भलो चाहने र सामाजिक उपकारी सहयोगी व्यक्तिलाई कहिल्यै दुःख र समस्या हुँदैन । यो वास्तविकता हो र मेरो दृढ विश्वास पनि हो। सम्पूर्णमा सजग रही स्वस्थ रहन र आम जनसमुदायमा स्वस्थ र निरोगी भई रहन भगवान्सँग प्रार्थना गर्दछु ।
धन्यवाद ।

Share.

Leave A Reply