समस्या टर्यो तर सुरक्षित पिउने पानीको पर्खाइमा नगरटाँडीवासी

0


पवित्रा पराजुली,
गैँडाकोट । बिहान सबेरै उठ्ने डोकोमा गाग्री राख्ने अनी गाउँका दिदीबहिनी जम्मा भएर कुवामा खानेपानी लिन जाने गैँडाकोट १४ नगरटाँडीकी विष्णु गन्द्रमा मगरको यो दैनिकी नै बनेको थियो तर अहिले गाउँमा खानेपानी आएपछि भने उहाँको यो दैनिकी फेरिएको छ । वर्षौंदेखि खोला र कुवाको पानी प्रयोग गर्दै आउनुभएकी गन्द्रमा अहिले घरअगाडि नै पानीको धारा देख्दा दङ्ग हुनुहुन्छ । गन्द्रमा भन्नुहुन्छ– “पहिले त बिहानै उठेर कुवामा जानुपथ्र्यो, जङ्गलका बीचमा भएकाले जनावरको पनी डर थियो, एक्लै जान सकिँदैनथ्यो अहिले केही सजिलो भएको छ ।” घरमा नै पानी आएपछि बङ्गुरको खोर दिनदिनै सफा गर्न पाइएको र अन्य काम गर्न पनि सहज भएको उहाँले बताउनुभयो ।
गन्द्रमा मात्र होइन गैँडाकोट १४ नगरटाँडीका अधिकांश परिवार वर्षौंदेखि कुवा र खोलाको पानी पिउँदै आएका थिए । एक घण्टाको बाटो हिडेर जङ्गलका बीचमा रहेको कुवाको पानी लिन पुग्दा जनावरको पनी डर हुन्थ्यो तर अहिले यो समस्या टरेको स्थानीय सलिना बुढाथोकी मगर बताउनुहुन्छ । खानेपानीको धारा घरमा आएपछि उहाँले घरका लागि आवश्यक तरकारी खेती गर्नुभएको छ । उहाँले भन्नुभयो – “पानी आएपछि तरकारी पनि राम्रो छ, पशुपालनमा पनी धेरै सजिलो भएको छ ।”
गाउँमा खानेपानीको धारा आएपछि टाढ पानी लिन जानुपर्ने समस्या हटेको छ तर खानेपानी भने शुद्धीकरण गरिएको छैन । जसले गर्दा अहिले पनी बर्खामा धमिलो पानी आउने गरेको स्थानीय सरस्वती शर्मा बताउनुहुन्छ । खानेपानी आएर धेरै समस्या समाधान भएको तर अब यसलाई शुद्धीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
करिब डेढ बर्ष अघि विदेशी संस्था र दाताहरुको सहयोगमा गैँडाकोट १४ नगरटाँडीमा खानेपानी पुगेको हो । गैँडाकोट १४ नगरटाँडीमा २ सय ४५ घरधुरी छ । जसमध्ये २ सय घरधुरीले खानेपानीको धारा जडान गरेका छन् । खानेपानी पुगेसँगै पानीलाई शुद्धीकरण गरी सुरक्षित रुपमा वितरण गर्ने काम अघि बढिरहेको गाहाटाँडी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खडानन्द कँडेल बताउनुहुन्छ । उहाँले अबको केही समयमा पानी शुद्धीकरण गरेर वितरण गरिने जानकारी दिनुभयो ।
खानेपानीको धारा घरअगाडि नै आएपछि स्थानीयले सहज रुपमा खानेपानी उपभोग गर्न पाएका छन् । जसले गर्दा जिवनयापन पनी सहज भएको छ । गैँडाकोट १४ नगरटाँडीमा वर्षौंदेखिको खानेपानी समस्या समाधान त भयो तर सुरक्षित पिउने पानी नपाउँदा स्थानीय रोगव्याधिको उत्तिकै त्रासमा छन् । खोलाको पानी सिधै उपभोग गरेका यहाँका स्थानीय अब सुरक्षित पानीको पर्खाइमा छन् ।

Share.

Leave A Reply