विद्यालय सञ्चालनमा गम्भीर बनौँ

0


गैँडाकोट नगर शिक्षा समितिले सवारी साधनको प्रयोग गरी विद्यार्थी ओसार्न नपाउने निर्णय गरे पनि सो कार्यान्वयनमा आउन सकेको छैन । नगर क्षेत्रकै केही निजी विद्यालयले यसको अवज्ञा गरेका छन् । नगर क्षेत्रभित्रका विद्यालय र अन्य ठाउँहरुबाट विद्यार्थी लिन आउने सवारी साधनलाई पनि नगरपालिका नआउन अनुरोध गर्ने निर्णय भए पनि सो समेत कार्यान्वयनमा आउन सकेको छ्रैन । कोरोना सङ्क्रमणको जोखिम कायम रहेको भन्दै गरिएको सो निर्णय कार्यान्वयनमा ल्याउने नगर प्याब्सनले पनि जनाएको थियो तर आफ्नै मातहतमा रहेका केही विद्यालयले विद्यार्थी ओसारपसार गरेको विषयमा मौन देखिएको छ । पूर्णरुपमा विद्यालय नखुले पनि बिहान विद्यालय समयअघि मुख्य राजमार्गमा केही विद्यालय बस कुदेका देखिन्छन् । अधिकांशले भने यसको पालनासमेत गरेका छन् ।
सवारी साधनविना सम्बन्धित विद्यालय जान असुविधा पर्ने विद्यार्थीहरुलाई घरनजिकको विद्यालयमै पठनपाठनको व्यवस्था मिलाउन नगर शिक्षा शाखाले परिपत्र गरेको छ । कोभिड १९ का कारण लामो समय स्थगित भएका शिक्षण सिकाइ क्रियाकलाप यथाशीघ्र सञ्चालन गर्न भनिए पनि विद्यार्थी उपस्थित गराएर पढाउने वा के गर्ने भन्ने अन्योलता भने अझै कायमै छ । सूचनामा स्पष्ट नभने पनि कसरी पढाइ सञ्चालन गर्ने भन्ने निर्णय गर्न विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिइएको छ । यद्यपि कक्षा १ भन्दा मुनिका कक्षा सञ्चालनमा रोक लगाइएको छ । विद्यालयमा विद्यार्थीलाई उपस्थित नगराईकन वैकल्पिक विधिबाट सञ्चालन भइरहेका शिक्षण सिकाइ क्रियाकलापहरु यथावत् चलाउने र सबै विद्यालयका हकमा विद्यालय व्यवस्थापन समितिलाई निर्णय गर्न आग्रह गरिएको हो । विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दा विद्यालयको अवस्था, विद्यार्थी संख्या, अभिभावकको चाहना, वडा समितिलगायतका सरोकारवालाहरुको सुझाव तथा छलफललाई ध्यान दिन आग्रह गर्दै स्वास्थ्य मापदण्डहरु पूर्ण पालना हुने गरी यथासम्भव छिटो कक्षाहरु सञ्चालन गर्न सूचनामा उल्लेख गरिएको छ । सूचनामा विद्यार्थीले तिनुपर्ने मासिक शुल्कलगायतका विषयमा भने केही पनि भनिएको छैन ।
भौतिक उपस्थितिबिनाको अध्यापन प्रभावकारी देखिन्न र पनि अहिले नै एकदमै विश्वास गरेर आफ्ना बालबालिकालाई विद्यालय पठाउने वातावरण बनिसकेको छैन । कक्षा कोठामा सामजिक दूरी कायम गर्न सकिएला तर बालबालिका खेल्न रुचाउने भएका कारण कक्षा बाहिर यो दूरी कायम गर्न त्यति सजिलो छैन । शौचालयको प्रयोगलगायतका कारण जोखिम उत्तिकै देखिन्छ । शैक्षिक सत्र खेर गयो भन्नुभन्दा पनि अझै विकल्प खोजिनु उत्तम हुन्छ । व्यावसायिक मानसिकता त्याग्न जरुरी छ । हतारमा विद्यालय खोल्नुभन्दा गाइडलाइनमा ध्यान दिने पो हो कि ∕ ठूलाको हकमा त जोगाउन सकिएला तर बालबच्चाका हकमा गम्भीर बनौँ ।

Share.

Leave A Reply