फेरि अर्को भाले गैँडा मृत भेटियो

0

चितवन, मंसिर १६ । चितवन राष्ट्रिय निकुञ्जमा हिजो दिउसो भाले गैँडा मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसर निकुञ्जको कोर ईलाका रिऊ र राप्ती नदीको दोभानको दक्षिणी कीनारामा उक्त गैँडा मृत फेला परेको थियो । गैडा बुढो भएका कारण कालगतिले मृत्यु भएको आँकलन गरिएको छ ।

निकुञ्ज कार्यालयको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरुपमा देखिने गरेको सो गैँडाको नियमित रेखदेखमा नै रहेको थियो । कालगतिकै कारण मरेका गैडाँहरुको समेत निकुञ्ज कार्यालयबाट पशु् प्राविधिक खटाएर पोष्ट मार्टम गरिने अधिकारीले जानकारी दिनुभयो ।

उक्त गैँडाको खाग तथा खुर सुरक्षित रहेको छ । यो संगै चितवन राष्ट्रिय निकुञ्जले यस आ.व. २०७७ ।७८ मा प्राकृतिक कारण १३ र चोरी शिकारका कारण ४ वटा गरी जम्मा १७ वटा गैडा गुमाउन पुगेको छ । निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो । टोलीले गैँडाको संरक्षणमा काम गर्ने सङ्घ संस्था तथा संरक्षणकर्मीसँग अन्तक्र्रिया गर्नेछ ।

सन् २०१५ मा भएको गैँडा गणना अनुसार निकुञ्जमा ६०५ गैँडा थिए । निकुञ्जले केही वर्ष शून्य चोरी शिकार वर्ष मनाए पनि अहिले भने गैँडा मर्ने क्रम जारी छ ।

Share.

Leave A Reply