सन् २०२२ मा पर्यटन क्षेत्र दौडने छ ः पर्यटनमन्त्री भट्टराई

0

चितवन, मंसिर १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालको पर्यटन उद्योग दौडने बताउनुभएको छ । कोारेनाले थलिएको पर्यटन उद्योग विस्तारै खुल्न थालेको भन्दै उहाँले सन् २०२१ को मध्यसम्ममा हिड्न थाल्ने र २०२२ मा दौडने बताउनुभयो ।

अहिले सरकारले अन्तराष्ट्रिय हवाई उडान पनि खुलाउँदै गएको बताउँदै उहाँले तत्काललाई आन्तकरिक पर्यटक बढाउने कार्यक्रम ल्याउने बताउनुभयो । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ रिसोर्टको आज शिलन्यास गर्नुहुँदै उहाँले २०२० र २०२१ मा त्यति घुम्न नपाएपछि २०२२ मा द्रुत गतिमा अघि वढ्ने बताउनुभयो ।

होटल द फरेष्ट फ्रन्ट संचालनमा आएपछि यसले स्थानीयलाई रोजगारी मिल्ने र स्थानीय उत्पादनले बजार पाउने मन्त्री भट्टराइको भनाई छ । कार्यक्रममा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना संक्रमणका कारण श्रमबजार तहसनहस भएकाले देशभित्रै सम्भावनाहरु खोज्नु परेको बताउनुभयो ।

पर्यटनसँग श्रमीकहरुको दक्षतालाई जोड्नुपर्ने बताउँदै विदेशमा कमाए पनि नेपालमै लगानी गर्न आग्रह गर्नुभयो । देशभित्र रोजगारी सृजना गर्न नसक्दा वर्षेनी रोजगारीका लागि विदेश गएका ६ सयभन्दा बढी युवाको शव आउने गरेको तीतो यथार्थ सहनु परेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले पर्यटक टिकाउन केही नियम परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन लगायतले नयाँ खोल्ने रिसोटर्लले रोजगारी सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

केटिएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले करिब २५ करोडको लगानीमा द फरेष्ट फ्रन्ट निर्माण गर्न लागिएको जानकारी दिँदै रिसोर्टको ३४ कोठामा ६५ बेड हुने र यो सन् २०२२ बाट सञ्चालनमा ल्याइने बताउनुभयो । १२ कट्ठा १० धुर क्षेत्रफलमा रिसोर्टमा अत्याधुनिक सबै सेवा रहने उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply