रुख कटान तथा बिक्रि वितरण गर्न पाउनुपर्ने माग

0


प्रेम क्षेत्री
मंसिर १५, गैंडाकोट । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ गैंडाकोटले रुख कटान तथा बिक्रि वितरण गर्न पाउनुपर्ने माग गरेको छ ।
स्थानीय महासंघले वन ऐन र नियमावली अनुसार रुख कटान तथा बिक्रि वितरण गर्न लगाईएको रोक फुकुवा गर्दै उच्च स्तरिय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै गैंडाकोट नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । सामुदायिक वन स्थानीय महासंघ गैंडाकोटका अध्यक्ष डिल्लीराम सापकोटाले गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलसमक्ष १० बुँदे माग सहितको ज्ञापनपत्र बुझाउँदै आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना नगर्न आग्रह गर्नुभयो ।
नगर प्रमुख छत्रराज पौडेलले अनियमितता गरेकालाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउँदै मागपत्र सम्बन्धित निकायमा पु¥याउने बताउनुभयो ।


त्यस्तै सामुदायिक वन स्थानीय महासंघले सब डिभिजन वन कार्यालय गैंडाकोटमा समेत ज्ञापन पत्र पेश गरेको छ । सो अवसरमा महासंघका सचिव निर्मला कंडेल, कोषाध्यक्ष शान्ता भुजेल, सचिवालय सदस्य सुरेन्द्र ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो ।
सालका काठ रोक्का भएका कारण समुदायका उपभोक्ताहरु घरगोठ बनाउनबाट बञ्चित भएका छन् । सोही कारण सामुदायिक वनले स्थानीय गरिब तथा विपन्न वर्गलाई गर्दै आएको सहयोग रोकेका छन् । जसले गरिब तथा विपन्न वर्ग दुःखदायी अवस्था भोग्न बाध्य छन् । वैज्ञानिक वन व्यवस्थापनका नाममा केही सामुदायिक वनले अनियमितता गरेको भन्दै सरकारले गत जेठ १५ गतेदेखी वन क्षेत्रबाट सालका काठ ओसार पसार तथा बिक्रि वितरणमा प्रतिवन्ध लगाएको थियो । यसको विरोधमा सामुदायिक वन महासंघको अगुवाईमा स्थानीय महासंघले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

Share.

Leave A Reply