गैंडाकोटको भेडाबारीमा १५ शैयाको नगर अस्पतालको शिलान्यास

0


प्रेम क्षेत्री
मंसिर १५, गैंडाकोट । गैंडाकोटको भेडाबारीमा १५ शैयाको नगर अस्पतालको शिलान्यास गरिएको छ । सरकारको एक पालिका एक अस्पताल अभियान अन्र्तगत गैंडाकोटको भेडाबारी स्थित प्रस्तावित नगर अस्पताल प्राङ्गणमा सोमबार एक समारोहकाबीच नगर अस्पतालको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले स्वास्थ्य क्षेत्रमा सरकारको लगानीले उत्साह छाएको बताउनुभयो । राष्ट्रिय प्राधिकरणबाट समेत ६ करोडको लगानीमा अर्को भवन बन्ने आश्वासन पाएको बताउँदै उहाँले त्यसपछि यस क्षेत्रका सबैलै सहज स्वास्थ्य सेवा पाउने बताउनुभयो । नगरमा देखिएको डाँडा वारी र डाँडा पारीबीचको विकासको द्वन्द्व कम गर्न मुकुन्दपुर क्षेत्रमा विश्वविद्यालय स्थापना गर्नुका साथै धार्मीक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लागिएको बताउनुभयो ।


शिलान्यास कार्यक्रमका विशिष्ट अतिथि गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले नगर अस्पताल एउटा गौरवको योजनाका रुपमा रहेका बताउँदै नगरका सबैलाई समेट्ने गरि सेवा प्रदानको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । गैंडाकोट जंगलले दुई क्षेत्र देखिए पनि भावानात्मक रुपमा एक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा गैंडाकोटका अध्यक्ष षडानन्द लामिछानेले कोरोनाको यस समयमा विपद्लाई अवसरको रुपमा बदल्दै सरकारले ल्याएको यस योजना सराहनिय रहेको बताउनुभयो । मुकुन्दपुरलाई क्षेत्रिय रुपमा पछाडी पारियो भन्ने भावको अन्त्य भएको उहाँले बताउनुभयो । नेपाली कांग्रेस गैंडाकोटका सभापति तारापति खरेलले आवश्यकता पहिचान गरि माग गरे चाहना पुरा हुने कुरा पुष्टि भएको बताउनुभयो । अस्पतालन निर्माण भएपछि यस क्षेत्रका नागरिकलाई सहज हुने बताउँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।


कार्यक्रमको सहजिकरण गर्दै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालले २ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । नगर अस्पतालका लागि १८ करोड ६७ लाख स्टिमेट तयार भएको जनाउँदै उहाँले १ करोड निकासा समेत भईसकेको बताउनुभयो । सो कार्यका लागि टेण्डर आह्वान समेत भईसकेको उहाँको भनाई छ ।
अस्पताल विकास समितिका अध्यक्ष एवं गैंडाकोट ११ का वडाअध्यक्ष गोविन्दप्रसाद सुवेदीले अस्पताल व्यवस्थापन तथा भौतिक निर्माणमा जोड दिईएको बताउनुभयो । अस्पतालका डा. रमेश आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा वडअध्यक्षहरु देवीदत्त कंडेल, पदमलाल पौडेल, कोकीसरा रानामगर, चोलानाथ उपाध्याय लगायत जनप्रतिनिधी, स्थानीय संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply