नन्दन सामुदायिक वनको साधारण सभा सम्पन्न, सार्वजनिक शौचालय हस्तान्तरण

0


पवित्रा पराजुली
मंसिर ६, गैंडाकोट । सार्वजनिक शौचालय हस्तान्तरण गर्दै नन्दन सामुदायकि वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
गैंडाकोट ६ स्थित रामेश्वर समशानघाट पारिजात पार्कमा १० लाखको लागतमा शौचालय निर्माण गरि क्षेत्र विकास समिति रामेश्वर समसानघाटलाई हस्तान्तरण गरेको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नेपालका सामुदायिक वन समूह संरक्षणको पाटोमा विश्वमै नमुना रहेको बताउनुभयो । नीति निर्माण तहमा वन मन्त्रालय तथा विभाग र सरोकारवालाहरुले स्पष्ट खाका तय गर्न नसकेको बताउँदै उहाँले सदुपयोग भन्दा पनि रोजगारीको पाटोबाट अघि वढ्नुपर्ने बताउनुभयो । सामुदायिक वनको उत्पादन र उपभोगका सम्बन्धमा स्थानीय तहलाई अधिकार प्रत्यायोजन र स्रोत बाडफाँड गर्नुपर्ने उहाँले बताउनुभयो । नन्दन वनले यहाँको संरक्षण र समुदायमा गरेका काम प्रंशसनिय रहेको उहाँको भनाई छ ।


सामुदायिक वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले कोभिड १९ का महामारीका बीचमा सामुदायिक वनको रेखदेखमा उपभोक्ता र समूहका पदाधिकारीले खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । स्थानीय सरकारले वन नीति बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशले वन ऐन बनाउँदै गरेको र मस्यौदा तयार भईसकेको अवस्थामा कर लगायतका विषयमा स्पष्ट खाका बनाई वनका पक्षमा अधिकार स्थापित हुनेगरि ऐन बन्नुपर्ने बताउनुभयो ।
सव डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सुर्यसिंह गुरुङले नन्दन सामुदायिक वनको कार्यक्रम गर्ने तरिका र प्रभाव उल्लेखनिय रहेको बताउनुभयो । गैंडाकोट ८ का वडा अध्यक्ष डिलाराम रिजाल वडा कार्यालय जनप्रतिनिधीसँगको सहकार्यमा सामुदायिक विकासमा एकरुपता ल्याउन आग्रह गर्नुभयो । जडिवुटी प्रवद्र्धनका कार्यक्रम ल्याउन उहाँको सुझाव छ ।
नारायणी वनका अध्यक्ष दिनानाथ त्रिपाठी, टोल सञ्जाल गैंडाकोट ८ का अध्यक्ष खगेश्वर गौडेलले शुभकामना मन्तव्य राख्दै वन संरक्षणमा जुट्न आवश्यक रहेको बताउनुभएको थियो ।


सचिव पूजा शर्मा पौडेलले तयार गर्नुभएको प्रगति प्रतिवेदन अनुगमन तथा मुल्याङ्कन समिति संयोजक डिलाराम सापकोटाले प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष प्रेमप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ९६ लाख १२ हजार ४ सय रुपैयाँको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष टिकाराम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमणको जोखिमकाबीच सामुदायिक वन कार्ययोजना तथा विद्यान अनुसार समूहको साधारण सभा अनिवार्य गर्नुपर्ने भएकाले सम्भावित संक्रमणको जोखिमलाई न्युनिकरण गर्दै टोल विकास संस्थाको समन्वयमा मंसिर २ गतेदेखी ५ गतेसम्म घरदैलोमा गई सुझाव संकलन गरेको समूहका अध्यक्ष घनश्याम कंडेलले जानकारी दिनुभयो । प्राप्त सुझावलाई कार्ययोजनामा समावेश गरिने उहाँले जानकारी दिनुभयो । सुझावलाई अन्तिम रुप दिन शनिबार समूहको सभाहलमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वार्षिक साधारण सभा मुल समारोहको आयोजना गरेको हो ।
४४४.८ हेक्टर क्षेत्रफलमा फैलिएको नन्दन वनको ९ हेक्टर क्षेत्रफल नेपाल विद्युत प्राधिकरणको २२० केभी प्रसारण लाईन आयोजनाका कारण नास भएपछि ४३५.८ हेक्टर क्षेत्रफलमा सिमित भएको छ । वनमा हाल १०८३ घरधुरी उपभोक्ता सदस्य रहेका छन् ।

Share.

Leave A Reply