आज लक्ष्मीपूजा, कुकुर तिहार, नरक चर्तुदशी, लक्ष्मी जयन्ती, विश्व मधुमेह दिवस 

0

कार्तिक २९, गैंडाकोट ।
नेपालीहरुको दोस्रो ठुलो चाड तिहार अन्तर्गत आज नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा रहेको छ । नरक चतुर्दशीका दिन बिहानै उठेर तीर्थमा स्नान गर्नाले यस लोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ । शनिबार श्रद्धा एवं भक्तिले लक्ष्मीको पूजा जतिबेला पनि गर्न सकिन्छ । लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधूली स्थिर लग्न (वृष) र सूर्यास्तको बीचमा अर्थात् लक्ष्मीपूजाको लागि साँझ ०५ः१२ बाट ०७ः०८ सम्मको समय उत्तम रहेको छ भने सिंह लग्नको शुभ समय रात्री ११ः४३ देखि १ः५५ को समय उत्तम छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्बीहरूले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाईका हरेक कुराहरू पूजायोग्य मानिन्छ ।
लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत सरसफाइ गरिन्छ । लिपपोत गरी घर घरमा दीपावली गर्ने चलन छ । आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म लक्ष्मीको पाइला बनाएर बाटो समेत देखाइन्छ । केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिने नेपाल पञ्चा∙ निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
आज बेलुका समूह बनाएर घरघरमा भैलो समेत खेलिन्छ । तर कोरोना संक्रमण जोखिमका कारण यसवर्ष भीडभाड र समूहमा भेला भएर भैलो नखेल्न सरकारले आग्रह गरेको छ । आजको साँझ विभिन्न र∙हरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकार प्रकारका र∙ोली बनाउने चलन पनि छ ।
कुकुर पुजा
आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदैछ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार सुरु भएको हो । दोस्रो दिन हिजो काग तिहार मनाइएको छ ।
नरके चतुर्दशी
आज नरके चतुर्दशी पनि र आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काई बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास छ । यसरी बत्ति बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ । यो वर्ष सन् २०२० मा करिब ४९९ वर्षपछि एउटा गज्जबको संगम परेको छ, १४ नोभेम्बर शनिबारका दिन अर्थात आज नै यस वर्ष लक्ष्मीपूजा र नरक चतुर्दशी दुबै परेको हो । लक्ष्मीपूजा औँशीका दिनमा पर्दछ तर यसवर्ष चतुर्दशी र औँशीको दुर्लभ संयोग रहेको पाइन्छ,
सुख रात्री
आजको दिनलाई सुख रात्रि पनि भनिन्छ, लक्ष्मीपूजालाई सुख रात्रिले पनि सम्बोधन गर्ने चलन छ । आँगनमा लक्ष्मीमाताको पाइलाहरू, बत्तीको झकिझकाउ अनि भैलेहरुको पदचापहरू, यस सुखरात्रि वर्षभरिकै सबैभन्दा उज्यालो अनि हर्कको दिन मध्य एक हो ।
लक्ष्मी जयन्ती
आजको दिन नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्य अनि वा∙मयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । वहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जनी, शकुन्तलाजस्ता कृतीले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।
विश्व मधुमेह दिवस
मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडरिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ । फ्रेडरिक सन् १८८१ मा जन्मिएर सन् १९४१ मा बितेका हुन्, क्यानडाका नागरिक यिनले आफ्नो जीवनकालमा मधुमेहको ओखतीका रुपमा इन्सुलिन हर्मोन बनाउन ठूलो योगदान गरेका छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।

Share.

Leave A Reply