एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

0

कात्तिक २८ । कात्तिक २१ गतेदेखि शुरु भएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा बिहीबार सकिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्स चोकमा रहेको संस्थाको साधारणसभाले विभिन्न विषयवस्तुहरु अनुमोदन गरेको व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो । संस्थाका सचिव मदन प्रसाद पौडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुन्दन कुमार पियाको आर्थिक प्रतिवेदन सहितका अन्य प्रस्तावहरु समेत साधारणसभाबाट अनुमोदन भएको ढकालले बताउनुभयो । चालु आर्थिक वर्षमा संस्थाले भरतपुर महानगरपालिकाको वडा नम्बर ५ र ७ मा एउटा, वडा नम्बर ६ मा एउटा, वडा नम्बर १० मा एउटा र वडा नम्बर १६ मा एउटा सेवा केन्द्र सञ्चालन गर्नेगरि साधारणसभाले अधिकार प्रदान गरेको ढकालको भनाइ छ । साधारणसभा समापनका अवसरमा संस्थाका अध्यक्ष बालगोपाल चुकेले सहकारीलाई नीति, विधि र प्रविधि मार्फत अगाडि बढाइएको उल्लेख गर्नुभयो ।
संस्थाले आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गर्ने तयारी समेत भएको चुकेको भनाइ छ । कोभिड महामारीका कारण साधारणसभा सम्पन्न गर्नका लागि एक हप्ता समय लागेको भन्दै चुकेले साधारणसभामा प्रदान गरिएको सुझावलाई मनन गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

अन्य समयमा समेत संस्थाको बारेमा सल्लाह तथा सुझाव प्रदान गर्नका लागि चुकेले आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मका सबै वडा तथा वडा नम्बर १५, १६ र २९ कार्यक्षेत्र रहेको एभरेष्ट सहकारीको जारी शेयर पुँजी १० करोड रुपैयाँ रहेको छ । त्यस्तै सहकारीको चुक्ता शेयर पुँजी चार करोड ४० लाख तीन हजार एक सय रुपैयाँ रहेको छ । तीन हजार ३७९ जना सदस्य भएको संस्थाको सम्पत्ति ३८ करोड १८ लाख ९७ हजार १८७ रुपैयाँ रहेको छ ।

Share.

Leave A Reply