चितवनका कृषक आधा धान आधा भुस भित्र्याउन बाध्य

0


डोलराज रानाभाट
चितवन । दसैँलगत्तै धान भित्र्याउन भ्याइ नभ्याइ भएका चितवनका किसान गहभरि आँसु लुकाएर मन बाँध्न बाध्य भएका छन् । समयमै परेको पानीले राम्रोसँग खेत रोप्न पाए पनि मलको समस्यामा परेका उनीहरु अहिले धानको थुप्रोमा पोटीलो दानाभन्दा पनि धेरै भुस देखिएपछि चिन्तित भएका छन् । किसानका धानखेत झट्ट हेर्दा पहेँलो देखिन थालेको छ । टाढैबाट हेर्दा जो कोहीलाई पनि धान पाक्न–पाक्न लागेको जस्तो लाग्छ तर नजिकै पुगेर हेर्दा भने धान पाकेको नभई गबारो र कालोपोकेले सिध्याएको ठम्याउन सकिन्छ । दुःख गरेर लगाएको धान पाक्ने बेलामा यसरी नोक्सानी भएपछि जिल्लाका किसानहरू निराश भएका छन् । भकारी भरी धान भित्र्याउला भन्ने सोचेका उनीहरु उल्टै वर्षभरि खान पनि पुग्दैन कि भन्ने चिन्ताले पिरोलिएका छन् ।
कुनै समय २२ मुरी धान उत्पादन लिएकी भरतपुर– ४ की लक्ष्मी सापकोटाको ६ कठ्ठा खेतमा अहिले बल्ल – तल्ल त्यसको आधा मात्रै धान फलेको छ । एकपटक खेती लगाउँदा २० देखि २५ हजार रुपैया खर्च लागेको बताउँने उहाँ अहिले त्यो नउठ्ने चिन्तामा हुनुहुन्छ ।
सोही ठाउँकी राधा खनालको पीडा पनि उस्तै छ । झरीबादल नभनी अहोरात्र खट्दा पनि धानबालीको यो हविगत देख्दा उहाँको मन पनि बेखुसी छ । समयमै समस्या लिएर सम्बन्धित निकायमा जाँदा पनि उचित सल्लाह नपाउँदा क्षति धेरै व्यहोर्नु परेको किसानहरुको गुनासो छ ।
१५ कठ्ठा जमिनमा धान खेती गरेका कृष्ण चापागाई जस्तै उक्त क्षेत्रका ५० देखि ६० जना किसानले अहिले आधा धानमात्र भित्र्याउन पाएका छन् भने सबै भुसका रुपमा खेर गएको छ । धानको सुइरो नै सुकेपछि ४० देखि ४५ मुरी धान भित्र्याइरहनुभएका उहाँ अहिले कठिनले १० मुरी धान फलेको दुखेसो गर्नुहुन्छ ।
समयमा पानी पर्दासमेत मलबीउ नदिने र औषधि रोग नियन्त्रणमा सम्बन्धित निकासयले चासो नदिँदा यस्तो हविगत बेहोर्नुपरेको किसानहरुको भनाइ छ । बाली लगाउदा या भित्र्याउने बेला सधै समस्यामा पर्ने गरेका किसानहरुको यो वर्ष पनि पुरपुरोमा हात लगाएर बस्नु सिबाय अरु उपाय देखिँदैन । त्यसैले यो वर्षको नोक्सानीबाट पाठ सिकेर अर्को वर्षको उत्पादन वृद्धिका लागि पूर्व तयारी गर्नुको विकल्प छैन ।

Share.

Leave A Reply