समृद्धिको अभियानमा हाम्रो यात्रा

0


आजभन्दा ठीक ५ वर्षअघि २०७२ साल कात्तिक २४ गते समुन्नत समाजको परिकल्पनासहित स्थापित विजय खबर पत्रिका छैटौँ वर्षमा प्रवेश गरेको छ । समाजका कुनाकुनामा रहेका यथार्थ घटनालाई उजागर गर्दै नागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकार कुण्ठित हुन नदिन अहोरात्र खटिएको पत्रिकाको निरन्तरता र यो हर्ष यहाँहरुबीच व्यक्त गर्न पाउँदा हामी गौरवान्वित छौं । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित विजय खबर पत्रिका समुदायका व्यक्तिकै लगानीमा सञ्चालित पत्रिका हो । विजय खबर पत्रिका छोटो समयमा अति नै लोकप्रिय बन्न सफल पत्रिका हो भन्नमा हामिलाई कुनै संकोच छैन । स्थापनाको छोटो समयमा नै प्रेस काउन्सिल नेपालले मूल्याङ्कन गरी विजय खबर साप्ताहिक पत्रिकालाई क्षेत्रीयस्तरको ‘ख’ वर्गमा सूचीकृत गरेको थियो । जुन निरन्तर कायम छ । एउटा वर्ष सकिनु र अर्काे वर्ष आरम्भ हुनु सामान्य प्रक्रिया हो । एउटा व्यक्ति, समाज वा राष्ट्रले बितेको वर्षबाट धेरै शिक्षा लिन्छ र आगामी वर्षको मार्गचित्र कोर्छ । यस बीचमा हामीले कैयौं यस्ता पाठ सिकेका छौँ । हाम्रा भोगाइले थप निखारता ल्याउने र थप उचाइमा पु¥याउने कुरामा दृढ छौँ । यस्ता अनुभवले बितेको वर्षको मूल्याङ्कन र नयाँ वर्षको सपना निर्धारण गर्न प्रेरणा मिलेको छ ।
विश्वभरका प्रायः देशलाई असर गरेको कोभिड–१९ ले नेपालमा अन्य क्षेत्रका साथै आमसञ्चार क्षेत्रलाई प्रभावित ग¥यो । लकडाउनका कारण उद्योग व्यवसाय ठप्प हुँदा आमसञ्चार माध्यमको प्रमुख आयस्रोत विज्ञापन रोकिँदा आमसञ्चार माध्यममा आर्थिक, रोजगारी र समग्रतामा नै असर परेको छ । यस्तो अवस्थामा कैयन पत्रिका बन्द भए । सरदरमा छापामाध्यममा ८० प्रतिशत विज्ञापन कटौती हुन पुग्यो । सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म गरेको देशव्यापी बन्दाबन्दी (लकडाउन)का समयमा अधिकांश पत्रपत्रिकाको प्रकाशन बन्द हुन पुग्यो । पेपरबाट समेत कोरोना संक्रमण सर्न सक्ने प्रचारबाजीबाट ग्राहकलाई पत्रिका वितरणमा प्रत्यक्ष असर ग¥यो । प्रकाशन भएका पत्रपत्रिकासमेत त्यत्तिकै रहे । लकडाउनका कारण पत्रपत्रिका प्रकाशन गर्ने अधिकांश छापाखाना बन्द भए । यसले गर्दा कतिपय पत्रिका चाहेर पनि छापिन सकेनन् । कोभिड–१९ का कारण परेको प्रभाव र असरका बीच पनि सीमित स्रोतसाधनका बाबजुद सूचना सम्प्रेषणमा अहोरात्र खटिरह्यौं । समाजमा एक फरक पहिचान बनाउन सफल विजय खबरको अस्तित्व मेटिन दिन्नौँ भन्ने दृढताका साथ निरन्तर लाग्यौँ । जसको प्रतिफल आज हामीले पाठकसमक्ष राख्न पाएका छौं ।
समुदायको आवश्यकताका पक्षमा कलम चलाउनु विजय खबर पत्रिकाको विशेषता हो । पाठकको चाहना र सुझावलाई शिरोधार्य गर्दै अघि बढेको पत्रिका सञ्चालनमा पाठकको सुझाव पत्रिकाको मार्गदर्शन हो । पाठक एवं शुभेच्छुकको सुझाव सल्लाहअनुरुप नै पत्रिका अघि बढ्ने छ । यो यात्रामा निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै छैटौँ वर्ष प्रवेशका अवसरमा शुभकामनासहित तपाईं आम पाठक, शुभेच्छुक, विज्ञापनदाता, संस्थाका सेयरसदस्य, कर्मचारीप्रति आभार व्यक्त गर्दछौं । आगामी दिनमा पनि पत्रिकालाई अझ गुणस्तरीय बनाउँदै लैजाने बाचा भुलेका छैनाँै र भुल्ने छैनौँ । समाजमा रहेका विकृति विसङ्गतिबारे कलम चलाउँदै समृद्धिको अभियानमा हाम्रो यात्रा रोकिने छैन ।

Share.

Leave A Reply