नाङ्गो तारले हैरानी, तार खेतमा नै लत्रिएपछि खेती गर्न धौ

0


माया कंडेल,
गैँडाकोट । खेतीयोग्य जमिन र घरमाथी नै नाङ्गो बिजुलीको तार लत्रिएपछि गैँडाकोट ९ का स्थानीय त्रसित छन् । पटक पटकको आग्रह र निवेदन दिइए पनि समस्या समाधान नभएपछि उनीहरु रुष्ट छन् । खेतीयोग्य जमिन र बसोवास क्षेत्रबाट विद्युत् लाइन टाँगिएपछि उनीहरु त्रासमा छन् । ११ केभिए भोल्टेजको लाइन त्यो पनि खेतीपाती गर्न नमिल्ने र घरमा नै छुने गरी बस्तीको बीचबाट लगिएपछि स्थानीय आक्रोशित बनेका हुन् । यहाँ करिब ४० वर्षदेखि बस्दै आउनुभएकी गैँडाकोट ९ की शान्तिमाया पाल्पाली घरमाथि नै बिजुलीको तार पर्ने हो कि भन्ने डर रहेको बताउनुहुन्छ । हवाहुरी चल्दा तार ठोक्किँदा आगोको झिल्का नै निस्कने गरेको उहाँ बताउनुहुन्छ ।
पाल्पालीको ४ कठ्ठा जमिन छ । त्यसमा खेती लगाउँदा निकै समस्या झेल्नुपरेको उहाँ बताउनुहुन्छ । ट्याक्टरले मिल्ने ठाउँसम्म ट्याक्टरले खेत जोते पनि नमिल्ने र तारले असर गर्ने ठाउँमा अहिले पनि कुटो कोदालो चलाएर खेती गर्दै आएको पाल्पालीको बताउनुहुन्छ ।
मुकुन्दरपुर सबस्टेसनको विद्युत् यही तार हँुदै गैँडाकोटका विभिन्न क्षेत्रमा वितरण हुने गरेको छ । खेतीयोग्य जमिन र बसोवास क्षेत्रबाट विद्युत् लाइन लगिएकामा गैँडाकोट ९ का स्थानीय आक्रोशित बनेका हुन । खेती गर्न मात्र होइन घरगोठ निर्माणका लागि पनि उनीहरुलाई असहज भएको स्थानीय एकवीर हमाल बताउनुहुन्छ । बस्ती र खेती योग्य जमिनका बीचबाट नै तार टाँगिएको र यसले स्थानीयलाई पारेको समस्याबारे सरोकारवालालाई पटक पटक भन्दा पनि सुनुवाइ नभएको हमालको दावी छ ।
पहिले त स्थानिय विद्युत सेवा पाउने भए भन्नेमा खुसी थिए तर अहिले यही अभिशाप बन्न पुगेको बताउँछन् । बिजुलीका कारण नै सेवाप्रदायक र सेवाग्राहीबीच द्वन्द्व बढाएको छ । स्थानीय गोमता पाण्डे ११ वर्षदेखि यहीँ बस्दै आउनुभएको छ । उहाँको खेतीयोग्य जमिनमा पोल छ । भाँचिएको पोल गाँसेर छोडिएको छ । यसले झनै जोखिम बढाएको उहाँको तर्क छ ।
सामान्य समस्या भन्दै विद्युत् प्राधिका्रण पन्छिन खोजेको स्थानीयले बताएका छन् । यसले ठुलै दुर्घटना निम्याउन सक्ने स्थानीय देवीप्रसाद पौडेलको तर्क छ । विगतका दिनमा भन्दा समस्या झनै बढ्दै गएको र यसले डर मात्रै पैदा गरेको पौडेल बताउनुहुन्छ ।
स्थानीय तहको निर्वाचन हुनु अघिदेखि नै उनीहरुले आवाज उठाउँदै आएका छन् तर सुनुवाइ र समाधानका लागि केही प्रयास पनि हुन नसकेको उनीहरुको आरोप छ । स्थानीय आफै नियमानुसार लागत बेहोर्न तयार छन् । ११ केभिए भोल्जेटको तार लैजाने विकल्प पनि सुझाएको गैँडाकोट ९ का लीलाधर कंडेल बताउनुहुन्छ ।
एक पोलदेखि अर्को पोलसम्मको दूरी धेरै भएका कारण पनि तार लत्रिएको स्थानीय बताउँछन् । ११ केभिए विद्युत लाइनको तार त्यो पनि जमिनबाट ३ मिटर मात्रै माथी छ । यही तारका कारण १७÷१८ परिवार जोमिममा छन् । स्थानीय गोपाल पौडेल खेती गर्न र घरगोठ बनाउन मिल्ने वातावरण बनाउन आग्रह गर्नुहुन्छ ।
गैँडाकोट वडा नम्बर ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले स्थानीयको समस्यालाई गम्भीर रुपमा लिँदै पटक पटक सम्बन्धित पक्षलाई जानकारी गराएको बताउनुहुन्छ । उहाँका अनुसार ३०–३५ वर्ष अगाडी एक उद्योग सञ्चालनका लागि भरतपुरदेखि करिव १५ किलोमिटर विस्तार गरिएको थियो । पटक पटक समस्या समाधानका लागि पहल भए पनि हुन नसकेको वडा अध्यक्ष सापकोटा बताउनुहुन्छ ।
दुई पोलबीचको दूरी टाढा हुनु, पोलको उचाइ कम हुनु जस्ता कारणले नाङगो तार भुइँसम्म लत्रिएका छन् । जसका कारण स्थानीय जोखिममा छन् । नगरप्रमुख, उपप्रमुख, विद्युत् प्राधिकरण र स्थानीयबीचको त्रिपक्षीय छलफलपछि समाधानको प्रयास गर्ने बताए पनि वर्षौंदेखि समस्या समाधान हुन सकेको छैन ।

समस्या समाधानको प्रक्रियामा छ


मधुसूदन यादव
प्रमुख
कावासोती वितरण केन्द्र
नेपाल विद्युत् प्राधिकरण

स्थानीयले यस विषयमा जानकारी गराउनुभएको छ । मैले पनि सो विषयमा अनुगमन गरिसकेको छु । यस्को समाधानका लागि प्रक्रिया जारी छ । हामी आफै गर्नका लागि अधिकारभन्दा बाहिरको कुरो हो । यहाँबाट काम गर्न नमिल्ने भएकाले हामीले प्रदेश र केन्द्रसम्म कुरा पु¥याएका छौँ । जनप्रतिनिधिलाई पनि जानकारी गराएको हो । केन्द्र र प्रदेशबाट स्वीकृत नभएसम्म यहाँबाट गर्न सकिँदैन । सो विषयमा जानकारी गराइएको छ । हामी निर्देशनको पर्खाइमा छौँ । हामीबाट कुनै ढिलासुस्ती भएको छैन । स्वीकृत किन भएन भन्ने कुरामा म अहिले यसै भन्न सक्दिनँ । गुनासो आएको छ भनेर जानकारी गराएको छु । सम्भवतः यो प्रक्रियामा नै होला भन्ने मेरो आशा हो । कोभिडका कारणमआफै पनि काठमाडौँ जान पाएको छैन । म आफै काठमाडौँ गएर प्mलोअप कुरा राख्नेछु । स्वीकृत भई फाइल आएका खण्डमा काम अघि बढ्ने छ । स्वीकृत भएर सडक विस्तारका फाइलहरु आइरहेका छन् । यो पहिलेदेखिको समस्या हो । यसरी सार्दै जाने हो, यस्ता माग आउन सक्छन् र पनि उहाँहरुको माग बुझेर काम गरेका छौँ। स्वीकृत नभएसम्म त केही गर्न मिल्दैन । हामी पनि आशावादी छाँै, स्वीकृत भएर आउला र हामीले काम गरौँला भन्ने विश्वासमा छौँ ।

Share.

Leave A Reply