हरि भवानी फाउण्डेशनले जनक नमूना माविमा सरस्वती मन्दिर निर्माण गर्ने

0


प्रेम क्षेत्री
कार्तिक २२, गैंडाकोट । हरि भवानी फाउण्डेशन नेपाल गैंडाकोट ५ ले जनक नमूना माविमा सरस्वती मन्दिर निर्माण गरिदिने भएको छ ।
गैंडाकोट ५ कांग्रेसचोक स्थित जनक नमूना माविको प्राङ्गणमा शनिबार फाउण्डेशनका प्रमुख संरक्षक तथा पूर्व न्यायधिस दयानाथ खरेलले मन्दिरको शिलान्यास गर्नुभएको हो । स्व. हरिलाल खरेल र स्व. भवानी खरेलको स्मृतिमा गठन भएको हरि भवानी फाउण्डेशनले उहाँहरुको कान्छा छोरा, विद्यालयका शिक्षक स्व. त्रैलोक्यनाथ खरेलको स्मृतीमा ४५औं दिनको पुण्य तिथिमा मन्दिर निर्माण गर्न लागेको हो । स्व. त्रैलोक्यनाथ खरेलले ८ वर्ष अस्थायी र १७ वर्ष स्थायी गरि २५ वर्ष यस विद्यालयमा अध्यापन गराउनुभएको थियो । स्व. खरेलकी श्रीमती एवं फाउण्डेशनका उपाध्यक्ष मीना चापागाई खरेलले श्रीमानले लामो समय विद्यालयमा अध्यापन गरेको र सोही अनुरुप उहाँको सम्झनामा मन्दिर निर्माण गर्न लागिएको बताउनुभयो ।


वार्षिक तिथि सम्ममा मन्दिर निर्माण सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गर्ने प्रमुख संरक्षक दयानाथ खरेलले जानकारी दिनुभयो । मन्दिर निर्माणमा गुरुयोजना अनुरुप १० लाख वढि लागतको अनुमान गरिएको उहाँले बताउनुभयो । प्यागोडा शैलीको, कम्पाउण्ड सहितको आकर्षक मन्दिर निर्माण गरिने उहाँको भनाई छ ।
जनक माध्यामिक विद्यालयको नमूना विद्यालय विकास गुरुयोजना अनुरुपको नाप नक्सा बमोजिमको सरस्वती मन्दिर निर्माण हुने जनक नमूना मावि व्यवस्थापन समितिका अध्यक्ष एवं गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो ।


बाग्लुङको ढोरपाटन नगरपालिका स्थित भुजि मावि अधिकारी चौरमा वि.स. २०६९ सालमा २ लाखको हरि भवानी स्मृती अक्षय कोष स्थापना गरे पश्चात फाउण्डेशनको अवधारणा अघि वढेको फाउण्डेशनका अध्यक्ष गोपीनाथ खरेलले जानकारी दिनुभयो । समाजमा आपत् विपत्मा परेकाहरुको सहयोगार्थ विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै फाउण्डेशनमार्फत शैक्षिक क्षेत्रमा विशेष कार्यक्रम गर्ने योजना रहेको उहाँको भनाई छ । शिक्षाका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने तथा विपन्न समुदायका शैक्षिक सवालहरुमा हातेमालो गर्ने एउटा सहयोगी सामाजिक संस्थाको रुपमा फाउण्डेशन गठन गरिएको सचिव कुमारी रेखा पौडेलले जानकारी दिनुभयो ।


मन्दिर शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मदनभक्त अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष शंकरनाथ आचार्य, अनुगमन समितिका संयोजक बलराम चालिसे, नेपाली कांग्रेसका नगर सभापति तारापति खरेल, विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा लगायत फाउण्डेशनका सदस्य, विद्यालय भवन निर्माण समिति, खरिद समिति, अनुगमन समिति, शिक्षाप्रेमी, स्थानीयको उपस्थिती रहेको थियो ।
जनक माध्यमिक विद्यालयको नमूना विद्यालय विकास गुरुयोजना अनुरुप सो स्थानमा विद्यालय निर्माण कार्य समेत जारी छ ।

Share.

Leave A Reply