गैंडाकोट नगरपालिकाका ९ कर्मचारीमा हिजो कोरोना पुष्टि, आज सवैको स्वाव लिइने

0

गैंडाकोट, कार्तिक २१ । गैंडाकोट नगरपालिकाका ९ जना कर्मचारीमा हिजो कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि पछि आज सवै कर्मचारीको स्वाव संकलन गरिने भएको छ ।

नगर अस्पताल पितौजी, गैंडाकोट नगरपालिका र नगरपालिका भित्र रहेका अन्य कार्यालयका सवै कर्मचारीको स्वाव संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषाले जानकारी दिनुभयो ।

स्वावको रिपोर्ट नआउँदासम्म नगरपालिका र नगरपालिकाभित्रका कार्यालयबाट प्रदान गरिने सेवा तथा नगर अस्पताल पितौजीका सेवाहरु बन्द हुने भएका छन् ।

भुषालका अनुसार अत्यावश्यक सेवा भने उपलब्ध हुने र अन्य सेवाहरु रिपोर्ट नआउँदा सम्म बन्द रहने भएका छन् । वडाहरुबाट उपलब्ध हुने सेवाहरु यथावत रहनेछन् ।

 

स्वाव दिएर लखर लखर हिँड्ने कर्मचारीप्रति कडा निगरानी

सामान्यत स्वाव दिइसकेपछि वाहिर हिँड्न र अन्य मानिसको सम्पर्कमा जानु हुँदैन ।

स्वाव दिएर रिपोर्ट नआउँदासम्म क्वारेनटीनमा बस्नुपर्ने भएपनि नगरपालिकाका कर्मचारी स्वाव दिएर सेवा प्रदान गरिरहेको र अन्य शाखाका कर्मचारीसँग पनि भेट गरिरहेको पाइएपछि थप कडाई गरिएको प्रमुख प्रशासकीय अधिकृत भुषालले बताउनुभयो ।

स्वाव दिएका कर्मचारीको रिपोर्ट नेगेटिभ नआउँदासम्म हाजिर पनि गर्न नदिइने गरी कडाई गरिएको र वाहिर हिँडेको नहिँडेको पनि निगरानी गरिने बताउनुभयो । अव रिपोर्ट नेगेटिभ आउने कर्मचारीहरुलाई बोलाएर मात्रै सेवा प्रदान गरिने भएको छ।

Share.

Leave A Reply