मृत दाजुभाईको आज अन्त्यष्टि गरियो

0

डोलराज रानाभाट, कार्तिक २० । जयश्री खोला गैंडाकोट ३ मा मृत भेटिएका गैंडाकोट २ का दाजुभाईको आज अन्त्यष्टि गरिएको छ । मुचुल्का उठाएर र पोष्टमार्टम पछि शव आफन्तले बुझेका थिए ।

विहानै परिवारजन, जनप्रतिनिधि, स्थानीयको रोहोवरमा प्रहरीले मुचुल्कापछि घटनास्थलबाट शव उठाइएको थियो । भरतपुर अस्पतालमा पोष्टमार्टम पछि शंकाका केही प्रारम्भिक अनुसन्धान पश्चात शव आफन्तले बुझेपछि आज नै अन्त्यष्टी गरिएको हो । पोष्टमार्टम रिपोर्ट वाहेक अन्य घटनाप्रकृतिले पौडी खेल्ने क्रममा डुवेर उनीहरुको मृत्यु भएको निष्कर्षमा पुगिएको वडासदस्य प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

पोष्टमार्टमा रिपोर्ट आउन भने केही दिन लाग्ने ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका २६ वर्षका विजयबाबु पौडेल र २१ वर्षका संगम पौडेल सोमबार बिहानदेखि परिवारको सम्पर्क बाहिर थिए । सोमबार बिहान घरमा परिवारसँगै खाना खाएर करिब साढे १० बजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन सहित आग्रह गरेका थिए ।

तर पानी ल्याउन जयश्री खोलामा बाँधीएको बाँधबाट बनेको रहमा एक शव उत्तानो परेको र अर्को घोप्टो परी पानीमा डुबेको अवस्थामा फेला परेको थियो । जंगलमा घाँस दाउरा गर्न आउनेले गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उहाँले गैंडाकोट प्रहरीलाई खबर गर्नुभएपछि पछि आफन्तले शवको पहिचान गरेका थिए ।

Share.

Leave A Reply