मृत दाजुभाईको शव उठाईयो

0


प्रेम क्षेत्री
कार्तिक २०, गैंडाकोट । गैंडाकोट ३ मा मृत भेटिएका दाजुभाईको शव घटनास्थलबाट प्रहरीले मुचुल्का पछि उठाएको छ । परिवारजन, जनप्रतिनिधि, स्थानीयको रोहोवरमा प्रहरीले मुचुल्कापछि शव उठाएको हो । शव अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बुधबार साँझ भेटिएको शव साँझ अबेरमात्रै परिवारजनले पहिचान गरेका थिए । शव पहिचान पछि सोही दिन हुनपर्ने अन्य काम रात परेका कारण गर्न नसकिएको जनाउँदै बिहिबार बिहान मात्रै मुचुल्का पछि शव उठाईएको हो । रातभर परिवारजनको सहयोगमा प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाईएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका २६ वर्षका विजयबाबु पौडेल र २१ वर्षका संगम पौडेल सोमबार बिहानदेखि परिवारको सम्पर्क बाहिर थिए । सोमबार बिहान घरमा परिवारसँगै खाना खाएर करिब साढे १० बजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन सहित आग्रह गरेका थिए ।
सोमबार बिहान घरबाट हिंडेको केही समयमा नै उनिहरु हाफ पाईन्टमा घरदेखी पश्चिम एसपिएम कलेज रोड हुँदै पैदल हिंडेको सिसि क्यामेरामा कैद भएको पाईएको छ । उनीहरु सम्पर्कबिहिन बनेको ३ दिनपछि बुधबार साँझ शव फेला परेको हो ।


पानी ल्याउन जयश्री खोलामा बाँधीएको बाँधबाट बनेको रहमा एक शव उत्तानो परेको र अर्को घोप्टो परी पानीमा डुबेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख थापाले जानकारी दिनुभयो ।
घटनास्थलमा उनिहरुले प्रयोग गर्दै आएको कपडा र चप्पल खोलेर पाखामा राखेको अवस्थामा भेटिएको छ । उनिहरुको शव भित्रि बस्त्र मात्रै लगाईएको अवस्थामा फेला परेको हो । घटनास्थल पूर्व पश्चिम राजमार्गदेखी उत्तरतर्फ करिब ८–९ किलोमिटरको दुरीमा रहेको छ । जंगलको बीचमा जयश्री खोलामा उनिहरुको शव फेला परेको हो । घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरिक्षक बिशाल तामाङले जानकारी दिनुभयो ।


जंगलमा घाँस दाउरा गर्न आउनेले गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उहाँले गैंडाकोट प्रहरीलाई खबर गर्नुभएको थियो ।

Share.

Leave A Reply