नवलपरासीमा दुई चरणमा निर्वाचन, त्रिवेणीलाई बिनयी गाउँपालिकामा मिसाउने निर्णयको विरोध

0

नवलपरासी, बैशाख १४ । नवलपरासीको त्रिवेणीलाई बिनयी गाउँपालिकामा मिसाउने पछिल्लो सरकारी निर्णयको नवलपरासीमा विरोध सुरु भएको छ ।

भारतीय सीमानासँग जोडिएको त्रिवेणीलाई ४४ किलोमिटर उत्तरमा रहेको बिनयी गाउँपालिकामा मिसाउँदा ज्यादै अपायक पर्ने भन्दै त्रिवेणीवासी विरोधमा उत्रिएका हुन् । त्रिवेणीवासीले सीमानासँग जोडिएका साविकका त्रिवेणी सुस्ता, रुपौलिया र कुडिया गाविसलाई मिलाएर छुट्टै गाउँपालिका बनाउनु पर्ने माग गरेका छन् ।

पछिल्लो सरकारी निर्णयमा विरोध जनाउन र एउटै धारणा बनाउन एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जनमोर्चाको बैठक त्रिवेणीमा बसिरहेको छ ।

भारतीय सीमासँग जोडिएको साविक त्रिवेणी गाविस वडा नं ४ सुस्ताका सबै वडा विनयी गाउँपालिकामा मिलाएर त्यसको नाम बिनयी त्रिवेणी राख्ने निर्णय सरकारले गरेको हो ।

साथै सरकारले नवलपरासीमा दुई चरणमै निर्वाचन हुने जनाएको छ ।

सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय लिएपछि प्रदेश नम्बर ४ मा पहिलो चरणको बैशाख ३१ मा तथा प्रदेश नम्बर ५ मा दोस्रो चरणको जेठ ३१ मा निर्वाचन हुने भएको छ ।

नवलपरासीको सुनवल, रामग्राम, बर्दघाट नगरपालिका तथा पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका प्रदेश नम्बर ५ मा परेका छन् ।

यसअघि त्रिवेणी सुस्ता नाम रहेकोमा त्यहाँको दुईवटा वडा बिनयीमा मिसिएपछि अबको नाम सुस्ता गाउँपालिका मात्रै भएको छ ।

बाँकी देवचुली, गैडाकोट, कवासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार, बुङदिकाली, हुप्सेकोट गाउँपालिका प्रदेश नम्बर ४ मा परेका छन् ।

Share.

Leave A Reply