दृष्टि नपुगेको अनपिच्छे गाउँ

0


माया कँडेल
गैँडाकोट । नारायणी नदी नजिकै गैँडाकोट १३ को एउटा सानो गाउँ, हेर्दा निकै सुन्दर देखिन्छ । वडाको अनपिच्छे गाउँ उपेक्षा गरेकै कारण पछाडि परेको छ । यहाँ ५ घर दलित समुदायको छ । वर्षौंदेखि बस्दै आएका उनीहरु दलित भएकै कारण सहज रुपमा सेवा पाउन नसकेको बताउँछन् । गाउँमा खानेपानी पुगेको छैन । बिजुलीको पोल पाएका छैनन् । कतिसम्म भने टोलकै अन्यत्र टोल विकास संस्थाले वितरण गरेको डस्विन रािखएपनि यहाँ राखिएको छैन । फोहोर उठाउने त परको कुरा । स्थानीय सन्तुमाया परियार भन्नुहुन्छ–“नगरपालिकाले दिने सुविधा हामीलाई पनि दिए हुन्थ्यो । टोलसुधारले पनि पैसा उठाउँछन् तर डस्विन पनि दिन्नन्, फोहोर उठाउन नगरपालिका आउँदैन । सानो जात भनेर पछाडि पारेको जस्तो लाग्छ ।”
नगरवासी भएर पनि नगरवासीको अनुभूति गर्न नपाएको उनीहरुको तर्क छ । समुदायभन्दा केही दूरीमा रहेका कारण पनि उपेक्षामा परेको परियारको तर्क छ । त्यसो त दलित भएकै कारण हेपिएको र प्रतिनिधित्व पनि नगराउने गरेको सन्तुमाया परियारको गुनासो छ । उहाँ भन्नुहुन्छ– “परिवर्तन धेरै भए पनि नगरवासी भएको आभास गर्न पाएनौँ । अब बोल्ने यहाँ कोही छैनन्, एकदुईजना बोलेर काम हँुदैन ।”
यस स्थानमा उनीहरु बस्न थालेको ५५ वर्ष भयो । २२ सालदेखि नै यस स्थानमा बसोबास गर्दै आएको बताउने ६७ वर्षीय डिलबहादुर परियार दुःखमा नै दिनहरु बित्ने गरेको बताउनुहुन्छ । टोल, वडा तथा नगरबाट समेत सम्मानजनक व्यवहार नभएको उहाँको ठम्याइ छ । उहाँ भन्नुहुन्छ– “हामी थोरै भएर त्यसमाथि पिछडिएको भएर पो हो कि सुविधा नपाएको, अहिलेसम्म जनप्रतिनिधि पनि आएका छैनन् ।”
आवाज पनि नउठाएको होइन, आवाज उठाएपनि सुनुवाइ नभएको स्थानीय बताउँछन् । टोलबाट सरोकारवाला निकायको ढोकासम्म पुगेर कुरा राखे पनि बेवास्ता गरेको स्थानीय अगुवा जितबहादुर परियार बताउनुहुन्छ । समस्या समाधान गर्छु भन्ने आश्वासन धेरै पाएको तर समस्या समाधान नभएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “पिछडिएको ठाउँ छ । सुविधा आए पो फरक अनुभूति हुन्थ्यो । पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ अनि के फरक अनुभूति गर्नु र ?”
उहाँ भन्नुहुन्छ– “लोकतन्त्र गणतन्त्र आयो तर हरेक चिज आयो त्यही डाँडामा नगरपालिकाको फोहोर उठाउने गाडी हिँड्छ, तर यता आउँदैन । हामीलाई पनि शुद्ध खानेपानी खाने रहर छ ।”सामाजिक स्वार्थका कारण गैँडाकोट १३ अनपिच्छे टोलवासी उपेक्षामा परेको उनीहरुको तर्क छ ।
समुन्नत वडा निर्माणमा प्रतिबद्ध छौँ

पदमप्रसाद पौडेल
वडा अध्यक्ष
गैँडाकोट १३
गैँडाकोट १३ को विकास र समुन्नत समाज निर्माणमा हामी प्रतिबद्ध छौँ ।सो ठाउँमा विद्युत्को समस्या थियो त्यसलाई हामीले सुल्झाएका छौँ। खानेपानीको सवालमा वडा समितिले विपन्नलाई पहँुच पु¥याउन अहिले पनि पहल गरिरहेका छौँ । पहिले छुटेकाहरुलाई बजेट विनियोजन गरेका छौैँ । त्यसका लागि पनि हामीले केही गर्छौं । लिङ्ग, जात र वर्गका आधारमा विभेद हुँदैन, कार्ययोजनाभित्र छ । वडामा केही समस्या नहोस् भन्ने आधारमा नै काम गरेका छौँ । केही समस्या भए मलाई प्रत्यक्ष भेटेर पनि भन्न सक्नुहुनेछ । जनताकै जनप्रतिनिधि भएकाले खानेपानी पहँुच, दलित छात्रवृत्ति र अन्य सेवासुविधाका सवालमा हामी काम गर्न तत्पर छौँ । फोहोरको गाडी अहिलेसम्म नपुगेको थाहा भएन । अब त्यसो हुन दिन्न । बत्ती राख्नका लागि आउनुभए सो स्थानमा पोल पनि दिन सकिन्छ । माग आउनुप¥यो । उज्यालो वडा र फोहोरमुक्त बनाउन वडाले काम गर्छ ।

Share.

Leave A Reply