विद्यालय कक्षा सञ्चालन अनिश्चित

0

file photo

प्रेम क्षेत्री
गैँडाकोट । नवलपुरमा मुखामुख विधिबाट तत्काल विद्यालय कक्षा सञ्चालन नहुने भएका छन् ।
पालिकास्तरका शिक्षा शाखाले आ–आफ्नो पालिकामा शिक्षक विद्यार्थी प्रत्यक्ष सम्पर्कमा आई गराइने शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन नगर्न परिपत्र गरेसँगै विद्यालयमा कक्षा सञ्चालन अनिश्चित बनेको छ ।

गैँडाकोटमा अर्को सूचनासम्म कुनुपर्ने
देवचुलीमा मुखामुख विधिबाट पठनपाठन बन्द
कावासोतीमा सञ्चालित कक्षा रोकियो
मध्यविन्दुमा मंसिर २ अघि नखोलिने

बुलिङटारमा दीपावलीसम्म बन्द
हुप्सेकोटमा तराईमा बन्द, पहाडमा उच्च सतर्कता
बौदीकालीमा मंसिर २ गतेसम्म बन्द
विनयी त्रिवेणीमा पर्ख र हेरको स्थिति

कोरोना महामारीबाट सुरक्षित रहन स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका थिए । जिल्लाका केही विद्यालयमा मास्क, फेससिलको समेत प्रयोग गरी विद्यालय उपस्थित गराई पठनपाठन सञ्चालन गरेका थिए । अधिकांश विद्यालयले दशैं लगत्तै कक्षा सञ्चालन हुने गरी सोही अनुरुप तयारीसमेत गरेका थिए । शैक्षिक सराकारवालाहरु पर्ख र हेरको स्थितिमा रहेका छन् ।
विद्यालयमा नियमित हुने पठनपाठन सञ्चालन अनिश्चित बने पनि कक्षा ११ को वार्षिक परीक्षा भने तोकिएकै समयमा हुने भएको छ ।
गैँडाकोटमा अर्को सूचनासम्म कुनुपर्ने
गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गैँडाकोट नगरपालिकामा प्रत्यक्ष सम्पर्कमा आई गराइने शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन नगर्न निर्देशन दिएको छ । अर्को सूचना जारी नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन अथवा सम्पर्क कक्षा जस्ता शिक्षक विद्यार्थी प्रत्यक्ष सम्पर्कमा आई गराइने शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन नगर्न नगर क्षेत्रका सबै विद्यालयलाई परिपत्र गरेको छ ।
विद्यालय सञ्चालन र परीक्षा सम्बन्धमा जारी गरेको सूचनामा कोभिड १९ को सङ्क्रमण विगत केही दिनदेखि बढ्दै गएका कारण अभिभावकहरु र विद्यार्थीहरुमा डर र त्रास सृजना भएकाले अर्को सूचना प्रकाशित नहुन्जेलसम्म विद्यालय सञ्चालन रोकिएको नगरपालिकाका शिक्षा शाखा अधिकृत मोतीप्रसाद रिजालले बताउनुभयो ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाबमोजिम मात्रै गर्न उहाँले आग्रह गर्नुभएको छ । कक्षा ११ को वार्षिक परीक्षा भने पूर्व निर्धारित समयतालिकाअनुसार नै गर्न÷गराउन हुन उल्लेख गरिएको छ । कक्षा ११ को वार्षिक परीक्षा संचालन व्यवस्थापन मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ अन्तर्गत रही कोभिड १९ को सुरक्षा मापदण्ड पूरा गरेर यथा समयमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
देवचुलीमा मुखामुख विधिबाट पठनपाठन नगराइने
देवचुली नगरपालिकाले नगरका शैक्षिक संस्थामा पुनः सूचना जारी नगरिएसम्म प्रत्यक्ष रुपमा विद्यार्थी सम्पर्क हुने गरी मुखामुख विधिबाट पठनपाठन नगराउन भनेको छ ।
आइतबार देवचुली नगरपालिका शिक्षा शाखाले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण शिक्षण संस्था विद्यालय, मन्टेश्वरी, गुरुकुल, ट्युसन, कोचिङ सेन्टरलगायत भाषा तथा तालिम प्रदायक संस्थाहरुलाई विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सञ्चालन गर्न आग्रह गरेको छ ।
देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले विद्यालयमा भौतिक रुपमा उपस्थित भई पठनपाठन गराउँदा विद्यार्थीमा सङ्क्रमणको जोखिम हुन सक्ने भन्दै प्रत्यक्ष विद्यालयमा विद्यार्थी बोलाएर पठनपाठन नगराउन अनुरोध गरिएको बताउनुभयो ।

कावासोतीमा सञ्चालित कक्षा रोकियो
कावासोतीमा प्रत्यक्ष विद्यार्थी उपस्थित गराई कक्षा सञ्चालन गरेका विद्यालयहरुले पठनपाठन रोकेका छन् । नगर शिक्षा शाखाले कावासोतीमा मंसिर ५ गतेसम्मका लागि शैक्षिक संस्था बन्द गर्ने गरेको निर्णय सँगै कक्षा सञ्चालन रोकिएका हुन् । मास्क र फेससिल्डसहित भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिएको थियो । दशैं अघि चाडपर्व बिदासँगै बन्द भएका विद्यालय दशैंै लगत्तै नगर शिक्षा शाखाको सूचनापश्चात् विद्यालय बन्द भएका हुन् । मुखामुख विधिबाट शिक्षण सिकाइ नभए पनि अन्य माध्यमबाट भने सिकाइ कार्य नरोक्न शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । मंसिर ५ पछि अवस्था हेरी निर्णय गरिने र तत्काल कक्षा सञ्चालनको वातावरण बन्ने अवस्था भने नरहेको उहाँको भनाइ छ । शिक्षण सिकाइ निर्देशिकाअनुरुप गर्न उहाँले आग्रह गर्नुभयो ।

मध्यविन्दुमा मंसिर २ अघि नखोलिने
मध्यविन्दु नगरपालिकाका विद्यालयहरू आगामी मंसिर २ गतेसम्मका लागि बन्द हुने भएका छन् । मध्यविन्दु ७ चोरमारामा रहेको नवलपुर आवासीय माविमा बसेको नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकले मंसिर २ गते अघि विद्यालय सञ्चालन नगर्ने निर्णय गरेका हुन् । स्थानीयस्तरमै कोरोनाका बिरामी देखिएका कारण विद्यार्थीहरुमा नकारात्मक असर पर्न सक्ने र मानसिक रूपमा उनीहरू पढ्न सक्षम नहुन सक्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
यसअघि कार्तिक १६ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने तयारी थियो । विद्यालय खोल्ने नखोल्ने सन्दर्भमा छलफलका निमित्त गरिएको बैठकले नगरभित्रका कुनै पनि विद्यालय सञ्चालन नगर्ने निर्णय गरेको हो । साथै कक्षा ११ परीक्षा भने पूर्व निर्धारित समयमा नै हुने जनाइएको छ । नवलपुर आवासीय माध्यमिक विद्यालय चोरमाराका प्रिन्सिपल भीमलाल अधिकारीको अध्यक्षतामा बसेको छलफलमा मध्यविन्दु नगरपालिका निजी तथा सरकारी विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
बुलिङटारमा दीपावलीसम्म बन्द
बुलिङटार गाउँपालिकामा अर्को सूचना जारी नहुन्जेल सम्म विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गरी अर्को सूचना जारी नहुन्जेल दीपावलीसम्मका लागि विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको हो ।
विजयादशमीको समयमा धेरै मानिसहरुको आवतजावत बढेको कारण कोभिड १९ को उच्च जोखिम हुने सम्भावना भएकाले हाललाई कक्षा सञ्चालन नगर्न परिपत्र गरिएको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण वस्ताकोटीले बताउनुभयो ।
हुप्सेकोटका तराई भेगमा बन्द, पहाडी भेगमा उच्च सतर्कता
हुप्सेकोट गाउँपालिकाका तराई भेगमा रहेका विद्यालय वन्द गरिए पनि पहाडी भेगमा रहेका विद्यालय उच्च सतर्कताका साथ सञ्चालन गर्न सकिने भएको छ ।
शिक्षा शाखा हुप्सेकोटले कोभिड १९ को उच्च जोखिमका कारण हुप्सेकोटका तराई भेगका सबै विद्यालयहरुका शिक्षण सिकाइ केन्द्रहरु आगामी बिहिबारसम्म पूर्ववत् पठनपाठन बन्द नै रहने जनाएको छ । पहाडी भेगका वार्ड न ५ र ६ का सिकाइ केन्द्रहरु भने उच्च सतर्कता अपनाई सञ्चालन गर्न सकिने हुँदा सोही अनुसार गर्नुहुन अनुरोध गरेको छ ।
बौदीकालीमा विद्यालय मंसिर २ गतेसम्म बन्द
बौदीकाली गाउँपालिकाका विद्यालय मंसिर २ गतेसम्म बन्द रहने छन् । शिक्षा शाखा प्रमुख हरि सिग्देलले अवस्था हेरी त्यसपछि सञ्चालन हुने वा नहुने निर्णय गरिने जानकारी दिनुभयो । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम गर्न उहाँले आग्रह गर्नुभएको छ । दशैं अगावै सूचना जारी गरि मंसिर २ सम्म शैक्षिक संस्थामा पठनपाठन बन्द गर्न परिपत्र गरिएको थियो ।
विनयी त्रिवेणी पर्ख र हेरको स्थितिमा
विनयी त्रिवेणी गाउँपालिका विद्यालय कक्षा सञ्चालनबारे पर्ख र हेरको स्थितिमा रहेको छ । दशैं अगावै सिकाइ सहजीकरण वैकल्पिक माध्यमबाट सञ्चालन भइरहेकामा सोही माध्यमबाट सिकाइ प्रक्रिया अघि बढिरहेको शिक्षा शाखाका प्रमुख अमरराज न्यौपानेले जानकारी दिनुभयो । प्रत्यक्ष सम्पूर्ण विद्यार्थीको उपस्थिति नरहेको उहाँको भनाइ छ । सिकाइ सहजीकरण कार्यमा सिफ्टसहितको उपस्थितिमा पठनपाठन अघि बढेको उहाँले बताउनुभयो । पालिकामा सङ्क्रमण पहिले जस्तो नरहेको जनाउँदै उहाँले प्रत्यक्ष उपस्थितिका सम्बन्धमा सरोकारवालाहरुसँगको बैठकपछि निर्णय लिइने बताउनुभयो । छठ पर्वपछि कक्षा सञ्चालन हुन सक्ने संकेत गर्दै उहाँले अवस्था हेरी निर्णय लिइने बताउनुभयो ।

Share.

Leave A Reply