फिड द हङ्ग्री नेपालको सहयोगमा सहमतिद्धारा गैंडाकोट ६ का बोटे समुदायमा खाद्यन्न सहयोग

0

गैंडाकोट, कार्तिक १७ । फिड द हङ्ग्री नेपालको सहयोगमा सहमति गैंडाकोटले आज गैंडाकोट ६ का नमुना बोटे टोलमा खाद्यन्न वितरण गरेको छ ।

कुनै समय झुपडीमा वस्न वाध्य भएका बोटेहरु विस्थापित हुँदै गएपछि विस २०६० सालमा सहमतिले टिनले छाएर घर बनाइदिएपछि अहिले सम्म त्यसैमा ओत लागेका उनीहरुलाई आज प्रति घरपरिवार २५ किलो चामल, १ पोका नुन, २ केजि दाल, १ पोका तेल र १ एउटा सावुन गरी २० घरपरिवारलाई वितरण गरिएको हो ।

खाद्यन्न सहयोग पाएपछि दैनिक ज्याला मजदुरीबाट दसैँ मनाएको बताएका उनीहरु आगामी दिन सहज हुने बताउँदै खुशी भएका थिए । साथै घर बनाएर आफूहरुलाई ओत दिएको भन्दै सहमतिलाई धन्यवाद दिएका थिए ।
लकडाउनका समय देशमा आउने सक्ने खाद्यन्न अभावलाई मध्यनजर गरी २५ वर्ष मुनिका युवाहरुको योगदान आवश्यक ठानेर जेठ २३, २०७७ मा संस्था स्थापना गरेको अभियानका संयोजक अभियान सुवेदीले बताउनुभयो ।

कृृषिमा आत्मनिर्भरता, खाद्य सुरक्षा सुनिश्चित गर्ने र उद्यमशीलताको विकास गर्दै लैजाने संस्थाको उद्देश्य रहेको संयोजक सुवेदीले बताउनुभयो । फिड द हङ्ग्री नेपाल स्थापना भएको १५० दिन पुगेको अवसरमा काठमाण्डौ बाहिर पनि सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरी सहयोग गरिएको उहाँको भनाई छ । ५ वर्षभित्र भोकमरीलाई अन्त्य गर्ने र २५ हजार मानिसहरुसमक्ष संस्था पुगिसकेको सुवेदीले बताउनुभयो ।

सहमतिका अध्यक्ष करुणासागर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडानम्वर ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले लकडाउन र कोभिडको समस्यामा रहेका बोटे समुदायलाई राहत दिएकोमा धन्यवाद दिनुभयो । बोटे समुदायमा रहेका घरहरुको छानो चुहिने समस्या देखिएकाले समाधानमा सहयोग गरिदिन सहमतिलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै सहमतिका अध्यक्ष करुणासागर सुवेदीले बोटे समुदायलाई गैंडाकोटमा राख्न सहमतिले ठूलो भूमिका खेलेको भन्दै आगामी दिनमा पनि सहकार्य गरी काम गर्दै जाने बताउनुभयो । साथै २५ वर्ष उमेर मुनिका युवाहरु मिलेर थालेको अभियानले सार्थकता पाओस् भन्ने शुभकामना पनि दिनुभएको थियो ।

कार्यक्रममा सहमतिका पूर्व अध्यक्ष रत्नप्रसाद सापकोटा, निवर्तमान अध्यक्ष होमनाथ सुवेदीको उपस्थिती थियो भने महासविच नगरेन्द्र रिजालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Share.

Leave A Reply