चितवनमा पहिलो टेष्ट्युव वेवीको जन्म

0

चितवन, कार्तिक २ । प्राकृतिक रुपमा बच्चा जन्माउन कठिन दम्पत्तीहरुलाई चितवनमा खुसीको क्षण आएको छ । जिल्लामै पहिलो पटक टेष्ट्युव वेवीको जन्म भएपछि अव बच्चा नभएर दुखी वन्नु नपर्ने अवस्था आएको हो । चितवन मेडिकल कलेजका प्रशासन अधिकृत हरि बोहोराका अनुसार गत वर्षको माघ महिनाबाट प्रकृया सुरु भएको चितवनकै एक दम्पतीलाई हिजो छोरा प्राप्त भएको छ । २ वर्ष अघि देखिनै केही दम्पत्तीमा परीक्षण गरिएपनि सफलता पाउन नसकिरहदा हिजो भने सफलता प्राप्त भएको बोहोराले बताउनुभयो । स्त्रि तथा प्रसुति विभाग अन्तर्गत रहेको कृत्रिम गर्भाधारण केन्द्रको स्थापना गरिएको थियो ।

८ देखि ९ जना चिकित्सक कर्मचारीले विशेष निगरानी राख्ने उक्त प्रकृयाले पाएको सफलतासँगै वाँझोपनको समस्या लगायत विभिन्न समस्याले सन्तान प्राप्त गर्न नसक्नेलाई फाइदा पुग्ने वोहोराले बताउनुभयो । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ । सामान्यत साँढे २ लाख सम्मको खर्चमा उक्त बच्चाको सफल जन्म भएको हो बोहोराले बताउनुभयो ।

यसरी हुन्छ प्रकृया
आइभीएफ प्रविधि अन्तर्गत विशेषज्ञहरुले महिलाको शरिरबाट डिम्व(ओभम) झिकेर यसलाइ पुरुषको शुक्रकिटसँग प्रयोगशालामा निशेचन(फर्टिलाइजेसन) गराएर गर्भाशयमा भ्रुणलाइ स्थानान्तरण गर्छन् । यसमा महिलाको डिम्व र पुरुषको शुक्रकिटलाइ प्रयोगशालामा निशेचन गराइन्छ । निशेचित भ्रुणलाइ करिब ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ ।
उक्त प्रतिस्थापनपछि सामान्य शिशु सरह आमाको गर्भमा रही शिशुको जन्म हुन्छ । महिलाको डिम्ब र पुरुषको शुक्रकिट प्राकृतिक रुपमा निशेचित नभइ प्रयोगशालामा उपयोग गरिने सिसाको थाल भएकाले यो प्रविधि अन्तर्गत जन्मिएकाहरुलाई बोलचालको भाषामा टेष्ट ट्युब बेवी भन्ने गरिएको हो ।
दुईवर्ष देखि सन्तान पाउने प्रयास जारी राखे पनि गर्भधारण गर्न नसकिरहेका महिला, डिम्बको नली बन्द भएका महिला,शुक्रकिटको गणना अत्यन्त कम भएका पुरुष लगायत अन्य समस्या भएकाहरुले आईभीएफ प्रकृया अपनाएर सन्तान प्राप्त गर्ने गरेका छन् ।
हाल मुलुकमा बाँझोपनको समस्यामा वृद्घि समेत देखिएको चिकित्सकहरुले बताएका छन् । बाँझोपना प्रजनन् प्रणालीको एउटा रोग हो, जसले गर्दा कुनै महिलामा गर्भधारण गर्ने प्रकृयामा विकृति आउँछ ।
मुलुकमा पहिलो पटक २०६१ साल फागुन २० गते ओम अस्पतालको आईभीएफ सेन्टरबाट बाबु राजेन्द्र तामाङ र आमा सन्ध्याबाट पहिलो टेस्ट ट्युब बेबीको जन्म भएको थियो ।

Share.

Leave A Reply