शिक्षक ईमान्दार बन्नुपर्छ

0


असोज २८, गैंडाकोट । उज्यालो नेपाल बनाउन शिक्षकहरुको भुमिका अहम् हुने सरोकारवालाहरुले बताएका छन् । शिक्षामा परिवर्तन ल्याउन शिक्षकलाई नै जागरुक बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजना, सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको संयोजनमा शिक्षक तालिमको प्रभावकारिता विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश प्रमुख नेपालहरी रानाभाटले प्रभावकारी शिक्षाका लागि शिक्षक ईमान्दार बन्नुपर्ने बताउनुभयो । तालिममा सिकेका कुरा कक्षासम्म लैजान शिक्षक नै जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक तालिम शाखाका प्राविधिक अधिकृत राजु श्रेष्ठले तालिमलाई प्रभावकारी बनाउन शिक्षक पनि प्रविधिमैत्री बन्नुपर्ने बताउनुभयो । तालिममा सिकेका कुरा कक्षासम्म लैजाने वातावरण बनाउन सबैले पहल गर्नुपर्ने र यस्को व्यवस्थापनका लागि नीतिगत व्यवस्थाको तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका जिल्ला संयोजक लक्ष्मी गौतमले शिक्षालाई प्रभावकारी बनाउन सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । २७ वर्षसम्म अध्यापन गराउँदा समेत तालिम नपाएको शिक्षकले कार्यक्रममा गुनासो गरेका थिए । तालिम आवश्यकताका आधारमा तय हुनुपर्नेमा सहभागिले जोड दिएका थिए । कार्यक्रम जगन्नाथ उपाध्यायले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply