चितवनमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु

0

चितवन, असोज २५ । चितवनमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत दुई जना र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका मकवानपुरको बागमती वडा नं.६ निवासी ८५ वर्षीया महिलाको शनिवार अपरान्ह ४ः५३ बजे मृत्यु भएको हो । असोज १५ गते अस्पताल भर्ना भएकी ती महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड आइसीयूमा राखेर उपचार भइरहेको थियो ।

त्यस्तै सोही अस्पतालमा उपचार गराइरहेका सर्लाही जिल्ला हरिवन–१० का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । कोभिड आइसीयूमा उपचाररत ती पुरुषको शनिवार साँझ ५ः३३ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । असोज ८ गते सडक दुर्घटनामा घाइते भएपछि उनी चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनको मेजर अप्रेशन समेत गरिएको अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आइसीयूमा राखेर उपचार भइरहेको थियो ।

उता भरतपुर अस्पतालमा पनि एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भई कोभिड आइसीयुमा राखि उपचार गराइरहेका भरपतुर १ वस्ने ४७ वर्षीय पुरुषको हिजो बेलुका ६ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । असोज २३ गते अस्पताल भर्ना भएका ती पुरुषको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा सारिएको थियो ।

Share.

Leave A Reply