लामो समय ठप्प रहेका भरतपुर २७ मेघौलीका होमस्टेहरु खुले

0

डोलराज रानाभाट, चितवन, असोज २३ । कोरोना भाइरसको संक्रमण र त्यसपछि सृजित लकडाउनले गर्दा ठप्प भएका चितवनको भरतपुर २७ मेघौलीमा रहेका होमस्टेहरु खुलेका छन् । दुई हप्ता देखि चितवन र आसपासका थोरै पाहुना राख्ने गरी संचालनमा ल्याएको थारु सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले जानकारी दिनुभयो । गत चैत्र ११ देखिनै बन्द रहेका होमस्टेहरु कोभिड १९ बाट बच्न प्रयोग गरिने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना सहित संचालन गरेको उहाँले बताउनुभयो । आएका पाहुनाहरुमा कुनै लक्षण नदेखिए मात्रै राख्ने गरिएको छ भने मास्क ,स्यानीटाइजरको प्रयोग अनिवार्य गरिएको छ । विस २०६७ साल माघ १४ गतेबाट स्थापना भएका यहाँ ८ वटा होमस्टेहरु छन् । होमस्टे संचालक देवी चौधरीका अनुसार अहिले चितवन र यस आसपासका पाहुनालाई मात्रै राख्न थालिएको छ ।
कोभिड १९ को संक्रमण जोखिम नभएको भए २ वटा अरु थप होमस्टे संचालन गर्ने तयारी रहेपनि वर्तमान होमस्टेमा गरेको लगानी समेत नउठ्ने अस्थामा रहेको थारु सामुदायिक होमस्टेका अध्यक्ष महतोले बताउनुभयो । स्थानीय उत्पादन लोकल माछा,कुखुरा, हाँस, घोँगी चिचरका लागि होमस्टे निकै प्रख्यात छ । मासिक २५ हजारसम्म बचत हुने होमस्टे ६ महिना ठप्पै हुँदा आफूहरु नराम्रोसँग मारमा परेको बताउँदै स्थानीय देखि केन्द्र सरकारले होमस्टे संचालकहरुका लागि कुनै पनि व्यवस्था नगरीदिएको उनीहरुको गुनासो छ । लामो समय वन्द हुँदा होमस्टेका संरचना भत्कने अवस्थामा पुगेको साथै कुखुरा हाँस आदिमा गरेको लगानी खेर जाने चिन्तामा होमस्टे संचालकहरु थिए ।
यदि सरकारले सहयोग गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आर्थिक सहित प्राविधिक सहयोग गरिदिए थप संख्यामा पनि पाहुना राख्न सकिने अध्यक्ष महतोको भनाई छ । होमस्टेमा वस्ने पाहुनाले थारु नृत्य वाहेक अन्य सवै गतिविधिमा पहिले जस्तै गरी सहभागी हुन पाउने उहाँको भनाई छ । मेघौलीमा आउने पर्यटकले सुर्य अस्ताएको, हात्ती सफारी, जीप सफारी, नारायणीमा डुँगा सयर आदिबाट मज्जा लिन सक्नेछन् । जंगलका वीचमा भएका ठूला होटलहरु वन्द भएकाले गौचरनमा परिणत भएको मेघौली विमानस्थल अझै संलानमा आउन सकेको छैन ।

Share.

Leave A Reply