नमुना सन्देश साप्ताहिक पत्रिकाको पाँचौ वार्षिकोत्सव सम्पन्न, फिचर लेखनको पुरस्कार पत्रकार रानाभाटलाई

0

कावासोती , असोज २२ । नवलपुरको कावासोतीबाट प्रकाशित हुने नमुना सन्देश साप्ताहिकले आज पाँचौ वार्षिकोत्सव मनाएको छ । ४ वर्ष पुरा गरी ५ वर्ष लागेको अवसरमा पत्रिकाले गण्डकी प्रदेश स्तरीय फिचर लेखन प्रतियोगिता २०७७ समेत आयोजना गरेको थियो । पत्रिकाका प्रकाशक भविश्वर पाण्डेले कलम चलाउने पत्रकारलाई थप सृजनशील गराउन अहीलेको वर्षदेखि नै हरेक वर्ष रु १० हजार पुरस्कार राशीको फिचर लेखन प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गर्नुभयो ।

यस वर्षको फिचर लेखन प्रतियोगितामा उत्कृष्ट हुन सफल विजय एफएमका समाचार प्रमुख एवम विजय खवर साप्ताहिकका संवाददाता डोलराज रानाभाटलाई कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रकुमारी पुनले रु. १० हजार नगद सहित दोसल्ला र प्रमाण पत्र प्रदान गरी सम्मान गर्नुभएको थियोे ।

साथै कार्यक्रममा बोल्दै नगरप्रमुख पुनले कोभिड १९ संक्रमण अवस्थामा पनि पत्रिका प्रकाशन सहित वार्षिकोत्सव मनाउन सफल भएकोमा बधाई तथा आगामी दिनमा थप प्रगतिको कामना गर्नुभयो । सम्मानीत हुने पत्रकारलाई पनि बधाई दिँदै उहाँले आगामी दिनमा अझै जनताको आवाज लेख्न सक्ने गरी सत्यतथ्यमा आधारित भई कलम चलाउन हौसला दिनुभयो ।

अहिले मिडिया क्षेत्रलाई पनि ठूलो असर पारेको बताउँदै उहाले नगरपालिकाबाट सकेको सहयोग सहित समानुपातिक कार्यक्रम सुचना उपलब्ध गराएको बताउनुभयो । सम्मानीत भएपछि प्रतिक्रिया दिँदै विजय एफएमका समाचार प्रमुखले राजधानी वाहिरबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाले फिचर लेखन प्रतियोगिताको थालनी गर्नु आफैमा चुनौति भएपनि नमुना सन्देशले नमुना काम गरेर देखाएको बताउनुभयो । साथै फिचरको स्रोत वन्ने सवैमा आभार व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष दिपक भट्टराइले यो विषम परिस्थितीमा पनि फिचर लेखन सहितको कार्यक्रम आयोजना गर्न सफल भएकोमा बधाई दिँदै पत्रिकाको थप प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले कोभिड १९ जस्तो विषम परिस्थितीमा पनि अहिलेसम्मकै नयाँ तरिकाबाट कार्यक्रम गर्न सफल भएको भन्दै मिडिया क्षेत्र बचाउन स्थानीय देखि केन्द्र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै छनौट समितका संयोजक विद्रोही गिरीले फिचरमा उठान भएका समस्या नै अहिले मिडियाले भोग्नुपरेको पीडा भएको भन्दै यसलाई मलम लगाउन विशेष गरी स्थानीय सरकार सहित पत्रकार महासंघले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस संगठनका अध्यक्ष लक्ष्मी पंगेनी,प्रेस युनियनका अध्यक्ष विरेन्द्र पराजुली, क्रान्तिकारी पत्रकार महासंघका नारायण पंगेनी लगायतले पत्रिकाको थप प्रगतिको कामना सहित सम्मानीत हुने पत्रकारलाई बधाई दिनुभएको थियो । पत्रिकाका सह सम्पादक तिर्थ डुम्रेले स्वागत गर्नुभएको कार्यक्रम पत्रिकाका सम्पादक दयाराम आचार्यले संचालन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply