सार्थक वार्ता भएर अनसन तोडेपछि मात्रै आन्दोलन फिर्ता हुन्छः चिकित्सक संघका निवर्तमान अध्यक्ष श्रेष्ठ

0

गैंडाकोट, असोज २२ । नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा मुक्तिराम श्रेष्ठले वार्ता टोली गठन भएपनि आन्दोलनका कार्यक्रम यथावत रहने बताउनुभएको छ । चिकित्स संघले आज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने बताएको छ । २३ गते देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको थियो ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै डा श्रेष्ठले सार्थक वार्ता भएर अनसनरत डा गोविन्द केसीले अनसन तोडेपछि मात्रै संघद्धारा घोषित आन्दोलनका कार्यक्रम स्थगित हुने बताउँदै वार्ता टोली वन्दैमा कार्यक्रम नरोकिने बताउनुभयो । डा केसीले साधारण माग उठाउनुभएको भन्दै सम्वोधन गर्न कुनै कठिन नभएको श्रेष्ठको तर्क छ । अहिलेको कम्युनिष्ट सरकार समाजवादतर्फ उन्मुख भन्छ, डा श्रेष्ठले भन्नुभयो , डा केसीले उठाएको मागलाई सम्वोधन गरेर उल्टो धन्यवाद भन्नुपर्ने हो तर भ्रष्टचारमा डुवेको सरकारले त्यसो गरेन ।

डा केसीले उठाएका माग आम जनताको लागि भएको भन्दै चिकित्सक संघले सधैँ समर्थन गरेको पनि डा श्रेष्ठले बताउनुभयो । भ्रष्टचारीलाई कारवाही गर्ने र अनियमितता नियन्त्रण गर्न सके सातै वटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने कुरामा स्रोतको कुनै अभाव नहुने बताउनुभयो ।

यो पटकको वार्ता अनसन तोडाउन मात्रै नभएर कार्यान्वयन हुने गरी मात्रै वार्ता हुने बताउँदै यो अनसन नै अन्तिम अनसन वनाउने गरी वार्ताको तयारी हुनुपर्नेमा डा श्रेष्ठको जोड छ । सरकारले माग सम्वोधन गर्छु भनी सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा पटक पटक डा केसीले अनसन वस्नुपरेको उहाँको भनाइ छ ।

सरकारले डा केसीको १९ औँ अनसनको २४ आँै दिन हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा बार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् । डा. केसीको तर्फबाट पनि डा. जीवन क्षेत्रीको नेतृत्वमा टोली बनेको हो । टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
आजै बाट बार्ता हुने भनिएको छ । डा केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गर्नुभएको थियो । ८ औं दिनमा काठमाडौं आउनुभएका उहाँले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिइरहनुभएको छ ।

Live stream

पटक पटक अनसन वस्नुपर्ने वाध्यता किन ? अव कहिल्यै अनसन वस्न नपर्नेगरी सरकारले कुन कुन माग सम्वोधन हुनुपर्ला ? नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा मुक्तिराम श्रेष्ठVijaya FM 101.6 MHzGaindakot-8,Nawalparasi, NepalTel: 078 – 501403/04/06/07Web: http://vijayafm.org.npEmail: info.vijayafm@gmail.com

Posted by 101.6 Vijaya FM on Wednesday, October 7, 2020

Share.

Leave A Reply