किताबका भारी बोकाउने होईन प्रविधिको प्रयोग गरौं : श्रीकृष्ण आचार्य

0


माया कंडेल
गैंडाकोट । प्रविधिमैत्री शिक्षक समाजका केन्द्रिय प्राविधिक समिति सदस्य श्रीकृष्ण आचार्यले कितावका भारी बोकेर होईन की प्रविधिको प्रयोग गर्दै अध्यापन गराउनुपर्ने बताउनुभएको छ । अब प्रविधिको समय आएको र यसले सहज बनाएको बताउँदै किताबका भारी बोकेर पढ्न नपर्ने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजनामा भएको प्रविधिमैत्री शिक्षण सिकाइ, शिक्षण कार्यमा डिजीटल सन्दर्भ सामग्रीहरुको खोजी बारेमा भर्चुअल संवाद कार्यक्रममा बोल्दै उहाँले शिक्षण सामाग्रीका लागि विभिन्न वेभसाइटबाट अध्ययन अवलोकन गर्न सकिने भएकाले किताबका ठेली नै बोक्न नपर्ने बताउनुभयो । सरकारी तथा विभिन्न पुस्तकालयका नाममा रहेका वेभसाइटबाट शिक्षक र विद्यार्थी सबैलाई अध्ययन सहज होस् भन्दै विभिन्न अध्ययन अध्यापनका सामग्री राखिएकाले तिनको प्रयोगतर्फ जोड दिनुपर्ने आचार्यले बताउनुभएको छ । शिक्षा तालिम केन्द्र दमौलीका रोष्टर प्रशिक्षक एंव शिक्षा पत्रकार समेत रहनुभएका आचार्यले शिक्षकले सन्दर्भ सामग्री आफ्नो लागि मात्र नभई विद्यार्थीलाई पनि अध्ययन गराउन सके र प्रयोगका तरिका सिकाउन सके अध्यापन सहज हुने बताउनुभयो ।
प्रबिधि के हो ? कसरी प्रयोग गर्ने भन्ने बिषयमा शिक्षक आफै जानकार हुनपर्ने बताउँदै विद्यालय र व्यवस्थापन पक्षलाई यसको फाइदा बुझाएर प्रविधिमैत्री वातावरण निर्माणका लागि शिक्षक स्वयम्ले उत्प्रेरित गर्नुपर्ने उहाँको भनाई छ ।


कार्यक्रममा शिक्षकलाई प्रविधिमैत्री बन्नका लागि सरोकारवालाले सहजीकरण गर्न आवश्यक भएको नवलपुरका शिक्षकहरुले बताएका थिए । कार्यक्रममा बोल्दै शिक्षकहरुले प्रविधिमैत्री वातावरण सिर्जना गर्न सबै सक्रिय भएर काम गर्नुपर्ने समेत बताएका छन् । कोरोनाको संक्रमण फैलिरहेको यो समयमा प्रविधिको विकल्प नभएपनि स्रोत साधनको उचित व्यवस्थापन नहँुदा समस्या भएको उनिहरुको तर्क छ । शिक्षक मात्र नभएर बिद्यार्थी पनि प्रविधिमैत्री बन्न सके अध्ययन अध्यापनमा सहज हुने भएपनि पहाडी क्षेत्रमा नेटवर्क, विद्युत लगाएका समस्याले प्रविधिमैत्री वातावरण निर्माण गर्न नसकिएको गुनासो गरेका छन् ।
कोरोनाका कारण सामाजिक दुरी कायम राख्नुपर्ने भएकाले अहिले विद्यालय विभिन्न प्रविधि र माध्यमबाट सञ्चालन भएका छन । यसले पनि प्रविधिमैत्री वातावरण सिर्जना गर्न सरोकारवाला सचेत र सजग बन्नुपर्ने देखिएको शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका संयोजक लक्ष्मी गौतमको भनाई छ । उहाँले यस अभियानले अहिलेसम्म विभिन्न शिर्षकमा भर्चुअल संवाद गरिसकेको र यसलाई निरन्तरता दिने पनि जानकारी दिनुभएको छ । शिक्षा क्षेत्र र यससँगका सरोकारवालालाई सजग र सचेत बनाउँदै शिक्षा विकासमा शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले आगामी दिनमा पनि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रमको मिडिया पार्टनरका रुपमा विजय एफएम १०१.६ र विजय खबर पत्रिका रहेको थियो भने भर्चुअल संवाद कार्यक्रमको सहजीकरण जगन्ननाथ उपाध्यायले गर्नुभएको थियो ।

Share.

Leave A Reply