गोब्रेकीरोले पीरमा किसान

0

डोलराज रानाभाट
चितवन । रोपाइँको समयमा मनसुनले साथ दिँदा चितवनका कृषक यसवर्ष राम्रो धान फल्ने आशामा थिए । तर त्यसपछि कहिले मलको लाइनमा रातभर बस्नुप¥यो भने कहिले प्रहरीको लाठी खानुप¥यो । त्यसरी पाएको मल हालेर गोडमेल गरेपनि अहिले पसाउने बेलामा गोब्रेकीरोले सताउँदा उनीहरु चिन्तित बनेका छन् ।

भरतपुर महानगरपालिका ४ का ओमप्रकाश गौतम यसपटक राम्रो धान फल्ने आशामा हुनुहुन्थ्यो । समयमै रोपाई गर्न पाएका गौतमको त्यो आशा धेरैदिन टिक्न पाएन । समयमै मल नपाउँदा अहिले धानमा गोब्रेकीरोको समस्या देखिएको उहाँ बताउनुहुन्छ । १४ कठ्ठामा धान खेती गरेका गौतम गोब्रेकीरो र पुतलीले पसाउने समयको धानमा बाला नलाग्ने हो कि भन्ने चिन्ता छ ।

एक विघा क्षेत्रफलमा धान खेती रहेको अर्का स्थानीय लक्ष्मण सापकोटालाई पनि यही समस्याले पिरोलेको छ । एउटा गाँजमा लागेको किरा हटाएर क्षति कम गर्न सकिने आशमा कृषकहरु खेतमै दिन कट्न थालेका छन् । धान उत्पादन घट्ने चिन्ता त छदैछ, रोप्दा लागेको खर्च समेत नउठ्ने हो कि भन्ने चिन्ता उत्तिकै छ ।

१८ कठठमा धान खेती गरेका भरतपुर ५ कल्याणपुरका तीलक पौडेल आनो सँगै अरुको खेतमा पनि गोब्रेकीरो मार्ने औषधि छर्किएका छन् । तर, तीन पटकसम्म औषधि प्रयोग गर्दा पनि समस्या समाधान नभएको गुनासो गरेका छन् । गतवर्ष प्रयोग गरेको औषधिले यसवर्ष काम नगरेको उनीहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले प्राविधिकको सल्लाहबिना आफूखुशी औषधि प्रयोग गर्दा समस्या भएको बताउनुहुन्छ । चितवनमा फड्के किरो, गोब्रेकीरो, पात बेरुवा लगायतको समस्या भएको भन्दै ढकालले प्राविधिकको सल्लाह र सिफारिसमा मात्रै औषधि प्रयोग गर्न सल्लाह दिनुहुन्छ ।

सरकारले कृषिलाई प्राथमिकतामा राखेर आत्मर्निभर बनाउने बताएपनि कृषकलाई परेका समस्या समाधानमा स्थानीय निकायले पनि चासो देखाएको छैन । २७ हजार ४४५ हेक्टरमा वर्षे धान खेती गरिने चितवनमा कृषकको समस्या समाधान गर्न सबै जिम्मेवार हुनुपर्ने देखिएको छ ।

Share.

Leave A Reply