दशैँ पूर्वको यात्रामा सतर्कता

0


हिन्दुहरुको महान् चाड दशैँ नजिकिँदै छ । यसै पनि चाडपर्वमा अन्य समयको भन्दा चहलपहल धेरै हुने गर्छ । सहरमा कोरोनाका सङ्क्रमित बढिरहेका छन् । दशैँमा सहरबाट गाउँ जानेको ठूलो भीड हुन्छ । दशैँमा मान्यजनको हातबाट टीका ग्रहण गर्ने र आशीर्वाद थाप्ने चलन छ । यसका लागि पनि सहरबाट मानिसहरु गाउँतर्फ फर्कने गर्छन् । अहिले देशमा लकडाउनको अवस्था छैन । बाह्य तथा आन्तरिक उडान, लामो तथा छोटो दूरीको यातायात पनि खुलेको छ । यस अवस्थामा मानिसहरुको आवतजावत पनि सहज भएको छ । विगतका वर्षहरुमा हेर्ने हो भने कोचाकोच यात्रुसहित राजधानीबाट बाह्य जिल्ला र जिल्ला सदरमुकामबाट गाउँतर्फ मानिस फर्कने गर्दथे । यो अहिले पनि नहोला भन्न सकिन्न ।
सरकारले सतर्कताका साथ गर्न बारम्बार भनेको छ तर सावधानी नअपनाउँदा कोरोना सङ्क्रमण रोकिएको छैन । दिनानुदिन यो झन् बढिरहेको छ । अहिले लकडाउन हुने वा नहुने अन्योल छ । विगतका दिनहरु हेर्ने हो भने लकडाउनका सुरुवाती दिनमा जसरी सहरबाट नागरिक गाउँतर्फ फर्किएका थिए दशैँमा त्यसरी नै नफर्केलान् भन्न सकिन्न । यो अवस्थामा कोरोना झन् फैलन सक्ने विज्ञहरु बताउँछन् । अर्कातर्फ बजारमा मानिसको चहल पहल उस्तै छ । किनमेल गर्नेको भीड बढ्न थालेको छ । बजार र पसलमा मानिसको भीड उत्तिकै छ ।
नागरिकको सुरक्षाका लागि पूर्व तयारी गर्नैपर्छ । धार्मिक तथा सांस्कृतिक महत्त्व राख्ने पर्व मनाउने क्रममा सतर्क हुन आवश्यक छ । आपूm र आफ्नो परिवारलाई सुरक्षित राख्ने हो भने दशैँ जस्ता चाडपर्व मनाउँदा सतर्कता अपनाउन जरुरी छ । यात्रा गर्दा सुरक्षित हुनैपर्छ । दशैँको नजिक अथवा नवरात्र लागेपछि हुने भीडभाडको यात्रा पूर्व नै तयारी गर्न सकिन्छ । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न बढी भीडभाड हुने समय अगाडि नै गन्तव्यतर्फ जाने व्यवस्था मिलाउनुहोस् । घरबाट बाहिर निस्कँदा अनिवार्य व्यक्तिगत सुरक्षाका सामग्रीहरुको प्रयोग गर्नुहोस् । सकेसम्म बढी भीडभाड हुने ठाउँहरु (जस्तै ः मेला, जात्रा हाटबजार) मा नजानुहोस् । कोरोनाको सङ्क्रमणबाट जोगिन अन्य व्यक्तिको प्रत्यक्ष सम्पर्कबाट जोगिनुहोस् । बढी व्यक्तिहरुको सम्पर्कमा रहेर भोजभतेरमा संलग्न नहुनुहोस् । यसपालिको चाडपर्व परिवारभित्रका व्यक्तिहरुसँग मात्रै मनाउने वातावरण बनाउनुहोस् र सुरक्षित रहनुहोस् ।

Share.

Leave A Reply