गैँडाकोटमा सम्पर्कमा छैनन् सङ्क्रमित, पिसीआर रिपोर्टमा आशंका

0

प्रेम क्षेत्री, असोज २०, गैँडाकोट । गैँडाकोट नगरपालिकामा सङ्क्रमित भनिएका केही व्यक्ति अझै नगर स्वास्थ्य शाखाको सम्पर्कमा आएका छैनन् । स्वास्थ्य निर्देशनालय पोखरा, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताललगायत विभिन्न स्थानबाट गैँडाकोटका सङ्क्रमित भनिए पनि ति व्यक्ति गैँडाकोट स्वास्थ्य शाखाको सम्पर्कमा छैनन् । जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य कार्यालयको तथ्याङ्क पनि फरक रहेको छ । नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले आफ्नो सम्पर्कमा नआएका व्यक्तिको रिपोर्ट नराख्ने गरेको जानकारी दिनुभयो । केहीले ठेगाना गलत टिपाएका हुन् वा उनीहरु सम्पर्कमा आउन नचाहेको भन्ने अझै यकिन हुन सकेको छैन । सोमबारसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा गैँडाकोटका जम्मा सङ्क्रमित २४१ जना रहेको छ । गैँडाकोट नगर स्वास्थ्य शाखाको तथ्याङ्कमा २३७ उल्लेख छ । 

पिसीआर रिपोर्टमा आशंका, एक दिन पोजेटिभ अर्को दिन नेगेटिभ
गैँडाकोट ४ का एक व्यक्तिमा कोरोना परिक्षण गर्दा एक दिन पोजेटिभ र अर्को दिन नेगेटिभ आएको छ । आइतबार आएको रिपोर्टमा पोजेटिभ आएको थियो । वैदेशिक रोजागरिका लागि विदेश जानुपूर्व उहाँले परिक्षण गर्नुभएको थियो । उहाँ साउनमा कोरोना सङ्क्रमण भई आइसोलेसनमा बसी निको हनुभएको थियो । रजहर आइसोलेसनमा बसी घर फर्किएको २ महिनापछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको गैँडाकोट नगरपालिकाका नगर स्वास्थ्य प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । कुनै पनि लक्षण नभएका उहाँले विश्वास नलागेर आइतबार पुनः कोरोना परिक्षणका लागि स्वाब दिनुभएको थियो । स्वाब दिएको भोली पल्ट सोमबार बेलुका उहाँको रिपोर्ट पुन ः नेगेटिभ आएको चितवन मेडिकल कलेजले जनाएको परिवारका सदस्यले बताएका छन् । सोमबार वैदेशीक रोजागरिका लागि जाने जानका लागि हवाई टिकट रहेको थियो । पोजेटिभ आएपछि टिकट क्यान्सिल भएको थियो । एक दिन रिपोर्ट पोजेटिभ आउने र अर्को दिन परिक्षणमा नेगेटिभ आउँदा सर्वसाधारणमा अस्पतालको रिपोर्टमाथि विश्वसनियता घटेको छ । भरपर्दो रिपोर्ट दिन नसक्ने अस्पतालका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
सोमबार ६ जनामा सङ्क्रमण
गैँडाकोटमा सोमबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गैँडाकोट ४ का ३४ वर्ष र २३ वर्षका २ जना पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर १ मा २४ वर्षकी महिला, वडा नम्बर ५ मा ७५ वर्षीय पुरुष, वडा नम्बर ६ का ५९ वर्षीय पुरुष र वडा नम्बर ९ का २६ वर्षीय पुरुष रहेका छन् । एकजना दुबईबाट फर्केपछि क्वारेन्टाइनमा बसेका व्यक्तिमा सङ्क्रमण भएको हो भने अन्य स्थानीय रहेका छन् । चितवन मेडिकल कलेजमा गरिएका परीक्षणबाट सो पुष्टि भएको हो ।
७७ जना सक्रिय सङ्क्रमित
गैँडाकोटमा ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ६६ जना होम आइसोलेसन र ११ जना सामुदायिक आइसोलेसनमा रहेका छन् । स्वास्थ्य शाखाले जनाए अनुसार गैँडाकोटमा २३७ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये १५८ जना आइसोलेसनमा बसी निको भएको जनाएको छ । १७४ जना स्थानीय सङ्क्रमित रहेका छन् । गैँडाकोटमा हालसम्म २ जनाको मृत्यु भएको छ ।
४ जना कर्मचारी १ जना जनप्रतिनिधि
गैँडाकोट नगर कार्यपालिकामा कार्यरत ४ जना कर्मचारी १ जना जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको छ । गैँडाकोटमा आइतबार थपिएका १३ जनामा १ जना जनप्रतिनिधि र १ जना नगरपालिकाका कर्मचारी थिए । अन्य यसअघि नै सङ्क्रमणपश्चात् होम आइसोलेसनमा बसिरहेका छन् । पोखरा परीक्षणका लागि पठाइएका स्वाबमध्ये आइतबार ९ महिलासहित १३ जनामा सङ्क्रमण पुष्टि भएको गैँडाकोट नगरपालिकाका नगर स्वास्थ्य प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
जिल्लाकै सबैभन्दा बढी सङ्क्रमित
नवलपुरमा कोरोना भाइरस सक्रिय सङ्क्रमितको सङ्ख्या २८२ रहेको छ । जसमध्ये ७७ जना सक्रिय सङ्क्रमित गैँडाकोटका रहेका छन् । गैँडाकोट नगरपालिका जिल्लामा सबैभन्दा बढी सङ्क्रमित रहेको पालिकामा पर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँ हालसम्म २४१ जनामा सङ्क्रमण देखिएको छ ।
नवलपुरमा १ हजार नाघ्यो
नवलपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको छ । जिल्लामा १००१ जनामा सङ्क्रमण देखिएको छ । नवलपुरमा अहिलेसम्म ७१२ जना निको भएर फर्किएका छन् । नवलपुरमा २८२ सक्रिय सङ्क्रमित रहेका छन् । २८२ सक्रिय सङ्क्रमितमध्ये १४ जनाको जिल्ला बाहिर र २६८ जनाको जिल्लाभित्रका विभिन्न अस्पताल र होम आइसोलेसनमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा गैँडाकोटमा २४१ जना, देवचुलीमा २०५ जना, कावासोतीमा १६९ जना, मध्यविन्दुमा १०४ जना, विनयी त्रिवेणी १४०, हुप्सेकोटमा ५४ जना, बुलिङटार ४० र बौदीकालीमा ४२ जना उल्लेख गरिएको छ । पछिल्लोपटक शनिबार विनयी त्रिवेणी गाउँपालिका २ दुम्कीबासका ३६ वर्षीय पुरुषको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
नेपालमा कोरोना जित्ने ७३ प्रतिशत

विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणबाट नेपालमा निको हुनेको संख्या ७३ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा ६५ हजार २ सय २ जना निको भएका छन् । प्रदेश १ मा पाँच हजार ८ सय ५५ जना, प्रदेश २ मा १४ हजार ३ सय ९२ जना, बाग्मती प्रदेशमा २१ हजार १ सय ८७ जना, गण्डकी प्रदेशमा ३ हजार ६ सय ७८ जना, प्रदेश ५ मा ९ हजार ६ सय ४२ जना, कर्णाली प्रदेशमा ३ हजार २ सय २२ जना, सुदूर पश्चिममा ७ हजार २ सय २६ जना कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रुकुमपूर्व र डोल्पा सङ्क्रमिति शून्य जिल्लाका रुपमा रहेका छन् । सोमबारसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या ८९ हजार नाघेको छ । जसमध्ये ६५ हजार बढी निको भई घर फर्किएका छन् ।

नेपालमा यस भाइरसको सङ्क्रमणबाट सोमबारसम्म ५ सय ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरि अहिलेसम्म सक्रिय सङ्क्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ । मन्त्रालयले देशभरि सक्रिय सङ्क्रमितको संख्या २५,००० नाघे फेरि लकडाउन लगाउन गर्न सकिने बताइसकेको छ ।

विश्वमा सोमबारसम्म २ करोड ६६ लाख ४१ हजार मानिस सङ्क्रमणबाट मुक्त भइसकेका छन् । कोभिड १९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट ३ करोड ५४ लाख २७ हजार सङ्क्रमित रहेका छन् । यस सङ्क्रमणबाट १० लाख ४२ हजार २ सय २८ जनाको विश्वमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply