प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन हुन्छ, स्कुटी जलाउन काँग्रेसले निर्देशन दिएको होइनः रुपन्देही काँगे्रस सभापति रज्जाक

0

असोज १८ । प्रदेश नम्वर ५ को राजधानी दाङ तोक्ने प्रदेश मन्त्रीपरिषदले लगेको प्रस्ताव फिर्ता नहुँदा सम्म आन्दोलन गर्ने नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताउनुभएको छ ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दैै सभापति रज्जाकले भन्नुभयो,“ठूला ठूला भवन संरचना निर्माण गरिसकेर जनतालाई राजधानी बुटवल हो भनेर झुक्याई अहिले दाङ लग्ने प्रस्ताव तत्काल फिर्ता गर्नुपर्छ अन्यथा आन्दोलन निरन्रत जारी रहन्छ ।”

अहिलेको आन्दोलन काँग्रेस पार्टीको मात्र नभई सवै राजनीतिक दल तथा व्यवसायी र जनताको आवाज भएको भन्दै पार्टी अध्यक्षको निर्देशनमा जनप्रतिनिधि चल्नुनै दुखद भएको बताउनुभयो । यतिका समय चुप वसेर अहिले प्रस्ताव लगेपछि किन वल्ला सक्रिय ? भन्ने प्रश्नमा सभापति रज्जाकले भन्नुभयो,“काँग्रेस निरन्तर खवरदारी मै थियो । नामाकरण र प्रदेश चाँडै तोक्न दबाब दिइरहकै थियो तर अहिले एकाएक पार्टी अध्यक्षको निर्देशनमा जनभावना विपरीत काम भयो । त्यसैले सकडमा छौँ ।”

प्रजातन्त्र पार्टी भन्ने अनि महत्वपूर्ण सामान समेत निकाल्न नदिएर स्कुटी जलाउने भन्ने प्रश्नमा उहाँले काँग्रेसले कुनै पनि अराजक गतिविधि गर्न निर्देशन नदिएको र आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो,“जहाँसम्म स्कुटी जलाएको कुरा छ त्यो घुसपैठ भएको छ । त्यसको छानविन हुनुपर्छ । यति कार्यकर्ता नै संलग्न रहछन् भने पार्टी ले जिम्मा लिन्छ । ”

अव स्कुटी नजलाउने गरी आन्दोलनका कार्यक्रम के के रहेका छन् भन्ने प्रश्नमा उहाँले पत्रकारले स्कुटी जलाएको मात्रै देख्ने भन्दै प्रतिप्रश्न गर्नुभयो । आन्दोलनका क्रममा केही घटना हुने भन्दै उहाँले केही दिनको आन्दोलनले सरकार डराइसकेको दावी गर्नुभयो । उहाँले भन्नुभयो,“ सरकार डराइसकेको छ । त्यसैले निषेधित क्षेत्र तोकेको छ । हामी त्यसलाई तोड्छौँ । ”

रुपन्देहीको बुटवलमा रहेको प्रदेश ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको भालुवाङमा स्थायी राजधानी बनाउने निर्णय गरी प्रदेश सभामा प्रस्ताव दर्ता गरेको थियो । असोज १६ गते शुक्रबार सरकारका तर्फबाट प्रदेश(५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गराउनुभएको हो । मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेस भएको जानकारी दिनुभयो । प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ ।प्रदेशसभाको अर्को बैठक यही असोज १९ गते बोलाइएको छ ।

 

Share.

Leave A Reply