गहाटाडी खानेपानी परियोजना उपभोक्ता समितिलाइ हस्तान्तरण

0


असोज १७, गैंडाकोट ।
गैंडाकोट नगरपालिका वडा नम्बर १४ नगरटाडिमा निमार्ण गरिएको खानेपानी परियोजना उपभोक्ता समितिलाइ हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपाल, अनामनगरले निर्माण गरेको खानेपानी परियोजना शनिबार गाहाटाडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाइ हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी, गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले नगरटाडीको विकास तथा खानेपानीको विस्तारका लागी प्रदेश स्तरबाट पनि पहल गर्ने बताउनुभएको छ । उहाँले उपभोक्तालाई सुरक्षित र स्वस्थ पानी वितरणका लागि संस्थाले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै सफा सुनौलो नेपालका संरक्षक तथा नेपाली चलचित्र क्षेत्रका नायक राजेश हमालले देशका विभिन्न क्षेत्रमा विकाश निर्माण, शिक्षा तथा खानेपानी सम्बन्धि कार्य गर्न संस्था सदैव अग्रसर रहेको बताउनु भयो । साथै कोभिडको समयमा सबै संयमित र सुरक्षित भै बस्न र चाडपर्व मान्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै गाहाटाडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष केशव मिश्रले सफा सुनौलो नेपाललाई धन्यवाद दिदै आगामी दिनमा यो परियोजनालाई राम्रो सँग संचालन गर्ने र उपभोक्तालाई सुरक्षित पानी वितरण गर्ने पनि प्रतिवद्धता गर्नुभएको छ ।
गाउँमा खानेपानी परियोजना सफल भएसगैँ करीब ३ सय भन्दा धेरै घरधुरीले सफा पानी उपभोग गर्न पाउने छन् । लामो समयदेखि कुवा र ईनारको पानी प्रयोग गर्दै आएका यहाँका स्थानीय अब घरघरमा धारा पुग्ने भएपछि खुशी भएका छन् ।
कार्यक्रममा गाहाटाडी खानेपानी परियोजनाको परिकल्पनादेखि खानेपानी योजना सम्पन हँुदा सम्म अहोरात्र खटिनुभएका सस्थाका संस्थापक स्व. राकेश हमाललाई स्मरण गर्दै उहाँको परिवारलाई सम्मान तथा कदर पत्र पनि हस्तान्तरण गरिएको थियो । स्व. राकेश हमाल नायक राजेश हमालका भाई हुन् ।

Share.

Leave A Reply