व्यवहारकुशल सीपहरु बालबालिकामा विकास हुनुपर्छ : प्रशिक्षक बुद्धिबहादुर खड्का

0


प्रेम क्षेत्री
असोज १७, गैंडाकोट । सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल चितवनका अध्यक्ष एवं सामाजिक विषयका प्रशिक्षक बुद्धिबहादुर खड्काले बालबालिकालाई खेल्दै सिक्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
विद्यालय शिक्षाको पाठ्यक्रम प्रारुप २०७६ को स्वरुप र अभ्यास कक्षा १ देखी कक्षा ३ सम्मको एकिकृत पाठ्यक्रमका बारेमा सरोकारवालाहरुको भर्चुअल संवाद कार्यक्रममा उहाँले विद्यालय शिक्षाको तहगत र कक्षागत संरचना, लगायतका विषयमा जानकारी गराउँदै व्यवहारमुलक सीपहरुमा जोड दिनुभएको थियो । ५ वटा व्यवहारकुशल सीपहरु र त्यसअन्तर्गत २९ वटा सहायक व्यवहारकुशल सीपहरु बालबालिकामा विकास हुनुपर्ने गरि पाठ्यक्रम तयार गरिएको उहाँको भनाई छ । उहाँका अनुसार कक्षा १ देखी यो लागु भइसकेको र अब विद्यालय सञ्चालन हुँदा सोही अनुरुप गर्नुपर्ने छ । शिक्षण घण्टि १ घण्टाको हुनुपर्ने उल्लेख छ ।
बालबालिकालाई पढ्दै छु होईन की खेल्दै छु भन्ने मनस्थिती बनाउँदै खेल्दै सिक्ने वातावरण बनाई पढाईमा जोड दिनुपर्ने खड्काले बताउनुभयो । खेल्दै सिक्दा अभिभावकहरुले प्रश्न गर्न सक्ने हुँदा अभिभावकलाई समेत यस विषयमा जानकारी गराएर गर्न सकिने उहाँको भनाई छ । खेल्दै सिक्दा प्रयोग गर्न सकिने सामग्री र त्यसको प्रयोगबारे उहाँले जानकारी गराउनुभएको थियो । यसलाई अभ्यासका रुपमा विद्यालयको अवस्था र वातावरणलाई व्यवस्थित गर्दै कार्यतालिका अनुरुप गर्न सके प्रभावकारी हुने उहाँले बताउनुभयो । श्री माध्यामिक विद्यालय भरतपुर गौरिगञ्जका माध्यामिक तहका सामाजिक शिक्षक एवं सामाजिक विषय प्रशिक्षक खड्काले त्यसका लागि कार्यतालिका बनाउन जोड दिनुभयो ।


कार्यक्रममा विभिन्न जिल्लाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधी, विद्यालयका प्रधानाध्यापकहरु, शैक्षिक विभिन्न संघ संगठनका प्रमुख एवं प्रतिनिधि, शिक्षाका लागि राष्ट्रिय अभियानका अभियान्ताहरु, सामाजिक विषयका शिक्षक, अभिभावक, विद्यार्थी एवं शैक्षिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा भक्तपुरबाट सुस्मा शर्मा, गोरखाबाट विष्णुमाया शर्मा, लमजुङबाट ज्ञानबहादुर कार्की, रुपन्देहीबाट रामवली यादव, भरतपुरबाट मिनु श्रेष्ठ लगायतले जिज्ञाशा राख्नुभएको थियो । प्रमुख वक्ता खड्काले उहाँहरुको जिज्ञाशाबारे सम्बोधन गर्नुभएको थियो ।
उहाँले शिक्षक, अभिभावक, विद्यार्थी तथा विज्ञहरुबाट प्राप्त राय, सुझाव सल्लाह, ज्ञान, विज्ञान तथा प्रविधिमा भएको विकास तथा परिवर्तन र स्थानीय आवश्यकता तथा विश्वव्यापी सन्दर्भबीच सन्तुलनको आवश्यकतालाई समेत दृष्टिगत गरि मौजुदा प्राथमिक शिक्षा पाठ्यक्रम २०६३ लाई परिमार्जन गरि आधारभुत तह कक्षा १ देखी ३ को एकिकृत ढाँचाको पाठ्यक्रम विकास गरिएको बताउनुभयो ।
कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका जिल्ला संयोजक लक्ष्मी गौतमले सिकाई प्रक्रियालाई अघि वढाउन यस कार्यक्रम फलदायी रहने बताउनुभयो । त्रिपक्षिय सम्बन्धको माध्यमबाट नै शिक्षण कार्यलाई अघि बढाउन सकिने बताउँदै विद्यार्थीले रुचि, अभिभावकले जिम्मेवारी र विद्यालयले उत्तरदायित्व बहन गर्नुपर्ने बताउनुभयो । सबैलाई उत्प्रेरणा प्रदान गर्न यसखालको कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११–१२ पनि विद्यालय शिक्षामा समाहित भएपछि नयाँ पाठ्यक्रम जारी गरिएको हो । २०७६ भदौ २० गते स्वीकृत भएसँगै यो कार्यान्वयनमा आएको छ ।


शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरको आयोजनामा विद्यालय शिक्षाको पाठ्यक्रम प्रारुप ०७६ को स्वरुप र अभ्यास कक्षा १ देखि कक्षा ३ सम्मको एकिकृत पाठ्यक्रम बारेमा सरोकारवालाहरुसँगको भर्चुअल संवाद कार्यक्रमको आयोजना गरिएको हो । मिडिया पार्टनरका रुपमा सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिका रहेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक जगन्नाथ उपाध्यायले गर्नुभएको थियो ।
देशका विभिन्न साढे ३ सय भन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय गैह्रसरकारी संघसंस्थाहरु, शिक्षक महासंघ, शिक्षामा क्रियाशील सञ्चार माध्यमहरु तथा अन्य समुदायस्तरमा परिचालित संघसस्थाहरुको राष्ट्रिय सञ्जालका रुपमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एन.सि.ई.–नेपाल) कार्यरत छ । शिक्षा क्षेत्रमा गुणस्तरीयता, समावेशीता, पारदर्शिता एवं सवैको पहुँच सुनिश्चित गर्नका निमित्त क्रियाशिल यस अभियानले शैक्षिक क्षेत्रको सुद्धिढिकरणका लागि वकालत, पैरवी तथा सहकार्य र समन्वय गर्ने गर्छ ।

Share.

Leave A Reply