गैँडाकोट प्रहरी ३३ वर्षदेखि स्थायी संरचनाको आसमा,भवन बनाउन आएको ८० लाख फ्रिज

0

डोलराज रानाभाट ,गैँडाकोट,असोज १३ । गैँडाकोट नगरपालिकामा पछिल्लो समय बढेका हत्याका गतिविधि, लागूऔषध, जुवातासका घटनालाई नियन्त्रण गर्दै नगरमा शान्ति सुरक्षा कायम राख्न इलाका प्रहरी कार्यालय गैँडाकोटले काम गरिरहेको छ ।

इलाका कार्यालय रहेको स्थानमा सपिङ मल बनाउने नगरको निर्णय

प्रहरी भवनको विकल्प खोइ ?

बढ्दो जनसङ्ख्या तर घट्दो सुरक्षा जनशक्ति

उच्छृङ्खल गतिविधि हुन नदिने र अपराधि चाँडै पत्ता लगाउन पनि प्रहरी सफल भएको छ । सुनकाण्ड र गैँडाकोट १८ माश्रीमान् हराए भनी हत्या गर्ने जोडीलाई पक्राउ गरेर सार्वजनिक गर्नुले दुवै कुरालाई दर्शाएको छ । एकातिर डरलाग्दो हत्याशृङ्खला बढेको दखिन्छ भने अर्कातर्फ अपराधी पत्ता लगाउन प्रहरीको दक्षता प्रभावकारी देखिएको छ ।

कोरोना महामारी नियन्त्रणमा प्रहरीले खेलेको भूमिकादेखि पछिल्लो सयम नगरलाई शान्त र व्यवस्थित सहर निर्माणमा प्रहरीले देखाएका कामलाई लिएर नगरप्रमुखदेखि धेरै जनप्रतिनिधिले पं्रशसा नै गरेको देखिन्छ । गत असोज १ गते विजय एफएमको कार्यक्रम हेल्लो मेयरमा नगरप्रमुख छत्रराज पौडेलले पनि प्रहरीको प्रशंसा गर्नुले प्रहरीको कामले सन्तुष्ट बनाएको प्रमाणित हुन्छ ।
गण्डकी प्रदेशको प्रवेशविन्दु भएकाले गैँडाकोटलाई फाइदा र बेफाइदा दुवै छ ।

फाइदा धेरै भए पनि अपराध गरी लुक्ने, लागूऔषधको ट्रान्जिट प्वाइन्ट बनाउने लगायतका गतिविधि बढिरहने क्षेत्र भएकाले पनि मजबुतसुरक्षाहुन आवश्यक देखिन्छ तर जनप्रतिनिधिसहितको बलियो सरकार गैँडाकोटमा आएपनि ‘सुरक्षा’ प्राथमिकतामा नपरेको देखिन्छ । जसले २४ सै घण्टा सुरक्षा दिएका छन् उनीहरु नै असुरक्षित संरचनामा लामो समयदेखि बस्न बाध्य भइरहेका छन् । वर्षौँ पहिले बनेको एउटै भवनमा कार्यालय, हिरासत कक्ष, अधिकृत बस्ने कक्ष छ भने टिनले छाएको कोठामा बसेर प्रहरीहरुले सुरक्षा दिइरहेका छन् । यो सबै थाहा पाएर पनि वि.सं. २०७४ सालमा आएको स्थानीय सरकारले टिनको घर बनाउन केही रकम सहयोगबाहेक सुरक्षाले छलाङ मार्न सक्ने कुनै पनि निर्णय गर्न सकेकोछैन।

८० लाख बजेट फ्रिज

गण्डकी प्रदेशको प्रवेश नाका र महत्त्वपूर्ण ठाउँमा कमजोर संरचनामा बसेर शान्ति सुरक्षामा खटिएको देखेपछि इलाका प्रहरी कार्यालय गैँडाकोटलाई नयाँ भवन निर्माणका लागि प्रदेश सरकारबाट ८० लाख बजेट आयो । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले भन्नुभयो,“धेरै प्रयास गरेँ बजेट कार्यान्वयनका लागि तर अर्थपूर्ण सहयोग पाइएन । बजेट फ्रिज भएर गयो । यति ठूलो बजेट फ्रिज हुँदा धेरै दुःख लाग्यो ।” बजेट कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालयको भोगाधिकारसहितको जग्गा हुनुपर्ने व्यवस्था रहेको इलाका प्रहरी कार्यालयका प्रमुख थापाले बताउनुभयो ।

३८ वर्षदेखि अस्थायी संरचनमा 

                            वि.सं. २०४४ सालदेखि अहिलेको जग्गा अर्थात्गैँडाकोट नगरपालिका वडा नम्वर २ मा बसिरहेपनि भोगाधिकार पाएको छैन । गैँडाकोट नगरपालिका स्थानीय जनप्रतिनिधि आइसकेपछि सो स्थानमा सपिङ मल बनाउने र इलाका प्रहरी कार्यालय गैँडाकोटका लागि विकल्प खोज्ने छलफल थियो । नगरपालिकाले सपिङ मल बनाउन निर्णयसमेत गरेको केही जनप्रतिनिधिले बताउँछन् ।
इलाका प्रहरी कार्यालयका लागि सोही स्थान भोगाधिकारका लागि प्रक्रिया अघि बढाउने अथवा इलाका प्रहरी कार्यालयको विकल्प स्थान खोज्ने दुवै काम नगरपालिकाले अघि बढाउन सकेको छैन । व्यपारिक क्षेत्र भएकाले सो स्थानमा कम्प्लेक्स निर्माण गर्नुपर्ने र सुरक्षा निकायका लागि अर्को विकल्प स्थान खोज्नुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

 

इलाका प्रहरी कार्यालयको चाहना

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा भन्नुहुन्छ,–“वि.सं. २०४४ सालदेखि यहाँ छौँ । हामीलाई यही जग्गा दिनुस् भन्ने ढिपी त होइन तर व्यावहारिक रुपमा यही राम्रो हुन्छ । यही नभएपनि उपयुक्त ठाउँमा जग्गा भोगाधिकार दिए व्यवस्थित भवनसहित थप सेवा दिन सक्थ्यौँ र स्मार्ट सिटी निर्माणमा अर्को इट्टा थप हुन्थ्यो ।”भोगाधिकारसहितको जग्गा नहुँदा यो बजेट मात्रै होइन, नियमित रुपमा प्रहरी प्रधान कार्यालयबाट आउने बजेट पनि फ्रिज भइरहेको छ । थापा भन्नुहुन्छ,–“नियमित बजेट पनि फ्रिज भइरहेको छ । आवश्यक पर्नासाथ थोरै बजेटका लागि नगरपालिकालाई भन्नुपरेको छ । नगरपालिकाबाट राम्रो सहयोग भइरहेको छ ।”जग्गा भोगाधिकारबाहेक अन्य सेवा र सक्रियतामा नगरप्रमुख पौडेलको सहयोग राम्रो छ । कोरोना महामारीमा आफू मोटरसाइकल चढेर पनि प्रयोग गर्दै आएको गाडी प्रहरीलाई अस्थायी रुपमा उपलब्ध गराउनुभएको थियो । थापा भन्नुहुन्छ,–“नगरप्रमुखको त्यही सहयोगका कारण पनि हामी आशावादी छौँ छिट्टै सकारात्मक निर्णय हुनेछ ।”
प्रहरी निरीक्षक थापा भन्नुहुन्छ, “सबै जनप्रतिनिधि एक भएर लाग्ने हो भने भवन निर्माण त भइहाल्छ नै त्यो सँगै डिएसपीसम्मको कमान्डमा सुरक्षा व्यवस्था हुन सक्छ ।” भवन निर्माण हुन सक्यो भने डिएसपीसम्मको कमान्ड भएमा ५÷५ जनाको प्रहरी समूह बनाई अस्थायी पोस्टसहित नगरपालिकाका विकट भौगोलिक ठाउँमा पनि सुरक्षा दिन सक्ने अवस्था आउँछ जसले गर्दा जनताले सुरक्षाको प्रत्याभूतिका साथ व्यस्थित सेवाहरु लिन सक्नेछन् ।

गैँडाकोट वडा नं. २ को निर्णय

वि.सं. २०४४ सालमा प्रहरी चौकी र पछि इलाका प्रहरी कार्यालयमा स्तरोन्नति भयो । २०४४ सालदेखिनै गैँडाकोट २ मा नै रहेर काम गरिरहेको प्रहरीको नयाँ भवनदेखि सेवा र सुरक्षा मजबुत हुनुपर्छ भन्ने मान्यतालाई ध्यान दिएर वडा नम्बर २ ले इलाकालाई केही जग्गा उपयोगका लागि उपलब्ध गराउन नगरमा सिफारिस गरेको छ । कुल ७ रोपनी क्षेत्रफलमा इलाका प्रहरी कार्यालय रहेको छ । वडाअध्यक्ष धु्रवराम पौडेलका अनुसार जग्गामध्ये पूर्वउत्तर तर्फको दुई कठ्ठा जग्गा वडा कार्यालय भवन निर्माणका लागि, पश्चिमतर्फको करिब ५ धुर जग्गा खानेपानीको डिपबोरिङका लागि छुट्ट्याई बाँकी जग्गा इलाका प्रहरी कार्यालयले उपयोग गर्ने गरिदिन नगरपालिकामा सिफारिस गर्नका लागि अनुरोध गर्ने निर्णय भएको थियो ।

 

 

पालिकाले भोगाधिकार दिन सक्ला ?

गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले भोगाधिकार दिने कुरा स्थानीय तहको अधिकारको विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो “जग्गा भोगाधिकार दिने हाम्रो अधिकार छैन । इलाका प्रहरी कार्यालय अहिलेको स्थानमा हुनुपर्छ भन्ने नगरपालिकाको पनि चाहना हो तर प्रक्रिया केही जटिल छन् ।”विजय खबरसँग कुरा गर्दै नगरप्रमुख पौडेलले भन्नुभयो, “अब छिट्टै काठमाडौँ जाँदैछु । त्यतिबेला गृह मन्त्रालय र भूमि मन्त्रालयमा गएर मन्त्रीहरुसँग भेट गरी आवश्यक पहल गर्नेछु । कानुनी प्रक्रिया के छ त्यो बुझ्नेछु । नगरपालिकाको जग्गा संरक्षण गर्नु हामीहरुको दायित्व पनि हो । दिने÷नदिने अहिल्यै भन्न सक्ने अवस्था रहेन । ”

कार्यपालिकामा पनि छलफल त भएको हो तर कानुनी प्रक्रिया बुझ्न आवश्यक छ ः उपप्रमुख कँडेल


गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कँडेलले प्रहरी कार्यालयका लागि स्थायी प्रकृतिबाट संरचना निर्माण र थप जनशक्ति आवश्यक भएको बताउनुहुन्छ । उपप्रमुख कँडेलका अनुसार जनप्रतिनिधि आउनासाथ त्यहाँ सपिङ मल बनाउने नगरसभाले निर्णय ग¥यो तर त्यहाँ रहेको प्रहरीलाई कहाँ सार्ने भन्ने कुनै विकल्प विना नै नगरसभाबाट सपिङ कम्प्लेक्स बनाउने निर्णय भएको थियो । वडानम्वर २ बाट सिफारिस गर्न निर्णय भई आएपछि कार्यपालिकामा पनि छलफल भएको कँडेलले बताउनुभयो तर नगरसभाले गरेको निर्णयलाई कार्यपालिका बैठकले परिवर्तन गर्न नसक्ने र नगरपालिकाको आफ्नै जग्गा भएकाले भोगाधिकार दिन मिल्ने नमिल्ने कानुनी पाटो के छ ?त्यो स्पष्ट नहुँदासम्म सोही ठाउँ दिने÷नदिने भन्न नसक्ने बताउनुभयो तर आएको बजेट फ्रिज भएर जानु दुःखद भएको भन्दै अब चाँडै एउटा निकास दिने गरी छलफल हुने बताउनुभयो ।

बढ्दो जनसङ्ख्या, घट्दो सुरक्षा जनशक्ति

गैँडाकोट नगरपालिका तीन तहमा छ हिमाल, पहाड र तराई भनेजस्तै । बसाइसराइ गरी आउनेहरु बढिरहेको छन् भने संरचना थपिँदै छ । जति धेरै जनसंख्या त्यतिनै सुरक्षा जनशक्ति आवश्यक पर्दछ । भौगोलिक विकटताका कारण पनि सोचेजसरी सेवा दिन कठिन भएको थापाले बताउनुभयो । जनशक्ति अभावले गैँडाकोट १८ देखि पश्चिम सिमाना झराही खोला, वडा नम्बर ३ का क्षेत्र सबैमा सुरक्षा उपस्थित बढाउन जनशक्ति अभाव छ ।

एकजना प्रहरीले १७ सय ८५ जनालाई सुरक्षा दिनुपरेको छ । नगरपालिकाका अनुसार करिब ७५ हजार जनसंख्या रहेका नगरपालिकामा इलाका प्रहरी कार्यालयमा अधिकृतसहित ४२ जनाको दरबन्दी छ । यसरी सुरक्षा चुनौती थपिने तर व्यस्थित भवन र पर्याप्त अधिकार नहुँदा स्मार्ट सिटी सुरक्षाविनाको हुने हो कि भन्ने चिन्ता थपिँदो छ । चिन्ता यति मात्रै होइन इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापा भन्नुहुन्छ, “निरन्तर बजेट आउने फ्रिज हुँदै जाने भयो भने रजहरको स्तरोन्नति गरेर यहाँ सानो पोस्ट मात्रै पनि हुन सक्छ ।”

तर त्यसो हुन गयो भने भावी पिँढीले अहिलेका जनप्रतिनिधिलाई कहिल्यै सम्मान दिने छैनन् । जनप्रतिनिधिले विकासको कामको अपनत्व लिन सक्ने समय पनि यहीहो । सधैँ आएको बजेट फ्रिज हुँदै जाने र सुरक्षा दिने निकायनै असुरक्षित संरचनामा बसिरहनुपर्ने भइरहन्छ ।

समृद्धिका पछाडि सुरुक्षा आवश्यक भन्ने बुझ्न जरुरी छ ः प्रहरी निरीक्षक थापा

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले नगरपालिका समृद्धिको बाटोमा जाँदै गर्दा सुरक्षाको पाटोलाई भुल्न नहुने बताउनुहुन्छ । मैले पनि कार्यालयका तर्फबाट प्रयास गरिरहेको छु थापाले भन्नुभयो,“तर नगरपालिकाले पहल र सक्रियता नदेखाएसम्म नहुने रहेछ ।” सुरक्षा र व्यस्थित सहर बनाउन नगरपालिकाले प्रहरीलाई महत्त्वपूर्ण सहयोग गरेको थापाले बताउनुभयो ।

 

नगरपालिकाकै बजेटमा अहिले राजमार्गमा मुख्य चोकहरुमा सीसीटिभी जडान गरिएको, व्यस्थित पार्किङ गर्न सोही अनुसारको व्यवस्थापन गरेको लगायत धेरै सहयोग मिलेको थापाले बताउनुभयो । अहिले कार्यालय परिसमा करिब७ लाखको लागतमा निर्माण भएको टिनको भवनलाई पनि नगरपालिकाले २ लाख रुपैयाँ सहयोग दिएको र १५ लाखको योजनामा सीसीटिभी जडानदेखि उज्यालो नगरपालिकाका लागि काम अघि बढेको बताउनुभयो ।

तर बिस्तारै समृद्धिको पाइला चालेको नगरपालिकाले सुरक्षालाई पनि त्यतिनै प्राथमिकतामा राख्न आवश्यक भएको थापाले बताउनुभयो । उहाँ भन्नुहुन्छ–“अतिक्रमण जग्गा नगरपालिकाको मातहतमा ल्याउन हामीले सहयोग गरिरहेका छौँ तर हामी नै पुरानो संरचनामा बसेर सुरक्षा दिइरहेका छौँ । आशा छ, जनप्रतिनिधिहरुले चाँडै निकास निकाल्नुहुनेछ र बजेटसहित नयाँ भवन र थप जनशक्तिको व्यवस्था हुनेछ ।”

Share.

Leave A Reply