श्रीलक्ष्मीबैकुण्ठनाथ मन्दिर निर्माणार्थ ज्ञानमहायज्ञ सुरु

0


भरतपुर, १० असोज । भरतपुर महानगर ४ लंकुमा श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर नव निर्माणकार्यका लागि सहयोग जुटाउने उद्देश्यले श्रीमद्भगवद् (रामकृष्ण) कथामृत ज्ञान महायज्ञ २०७७ को शनिबार उद्घाटन गरिएको छ ।

नेपालका विशिष्ट विद्वान सन्तमहात्माहरूद्वारा प्रवचन हुने जनाइएको छ । कोरोना भाइरसको संभावित संक्रमणको जोखिमबाट बच्दै समयसापेक्ष ढंगले कार्यक्रम हुने छ । सञ्चारमाध्यमबाट दर्शन तथा प्रवचन श्रवण गर्न सकिने विश्व जनजागरणात्मक एकमासव्यापी श्रीमद्भगवद् (रामकृष्ण) कथामृत ज्ञान महायज्ञ २०७७ को उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवघाट हरिहर सन्न्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज एवम् विशिष्ट अतिथि महायज्ञका प्रधान व्यवस्थापक ईश्वर कृष्ण महाराज लगायतका महानुभावहरूले मन्दिर निर्माण कार्यक्रममा सबैले सहयोग गरी मानव जीवनलाई धन्य बनाउन आह्वान गर्नुभएको छ ।

निम्बार्क दर्शन केन्द्र गैंडाकोटका पीठाधीश हरिशरण उपाध्याय, गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल, नवमन्दिर निर्माण आर्थिक समितिका संयोजक चेतनारायण सापकोटा लगायतका महानुभावहरूले बोल्नुभएको मन्दिरको निर्माणले आध्यात्मको संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

४ चरणमा गर्न लागिएको महायज्ञको पहिलो चरणअन्तर्गत आजबाट सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञमा सुप्रसिद्ध कथावाचिका यशोदा देवी कौण्डिन्यज्यूले दैनिक प्रवचन गर्नुहुनेछ।

मन्दिर निर्माणका लागि न्यूनतम १५ करोड लाग्ने अनुमान गरिएको छ । हाल चलिरहेको महायज्ञबाट मन्दिर निर्माणका लागि तत्काल आवश्यक २ करोड ५३ लाख संकलन गर्ने लक्ष्य राखिएको मन्दिर संचालक समितिका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यले जानकारी दिनुभयो ।

विश्वव्यापी कोरोना महामारीका प्रकोपका कारण संचारमाध्यमबाट घरमै बसी यज्ञदर्शन, कथाश्रवण गर्न सकिने महायज्ञमा सामाजिक संजालका माध्यमबाट उपस्थित भई पुण्यलाभ गर्न समस्त धर्मानुरागी जनहरूमा महायज्ञ सम्पादन समितिले हार्दिक आह्वानसमेत गरेको छ।

बाग्लुङ, गुल्मी, पर्वत आदि जिल्लाहरूबाट बसाइँ सरी आएका भक्तजनहरूबाट भूमिदानस्वरूप उपलब्ध भएको जमिनमा २०२७ सालमा शिलान्यास भई २०३१ सालको फागुन महिनाको हस्त नक्षत्रमा प्राणप्रतिष्ठा भएर संचालन हुँदै आएको मन्दिरमा २०४४ सालदेखि आवासीय संस्कृत गुरुकुल पनि चल्दै आएको छ ।

गुरुकुलमा हाल कक्षा दशसम्म पढाइ चलिरहेको छ । २०७२ सालमा आएको महाभूकम्पले क्षतिग्रस्त भएपछि नयाँ मन्दिर बनाउने योजना बनेको थियो ।

आवश्यकता महसुस गर्दै २०७४ साल वैशाख २५ गते नव मन्दिरको शिलान्यास भएको थियो ।

Share.

Leave A Reply