दूरदर्शी नेतृत्वसहितको विकास

0


भलको दीर्घकालीन निकास नहुँदा गैँडाकोटका खास गरी वडा नम्बर २, ४ र ५ का जनातले सास्ती खेप्दै आएका छन् । पानी पर्नासाथ यहाँका नागरिकमा अब कसो गर्ने छटपटी हुन्छ । भलको दीर्घकालीन निकास नहुँदा पानी पर्नासाथ बस्ती क्षेत्र सधैँ डुबानमा पर्ने गरेको छ । यहाँका नागरिकहरुले हरेक वर्षायाममा यस्तै सास्ती खेप्दै आएका छन् । लगातार परेको वर्षाबाट सृजित भल निकास गर्ने गैँडाकोटमा उचित नाला नभएकै कारण यस्तो अवस्था आएको हो । नगरवासी पानी पर्ने बित्तिकै रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ ।
स्थानीय सरकार आएको ३ वर्ष भइसक्यो । विकास निर्माणका काम नभएका पनि होइनन् । स्थानीय तह, प्रदेश र संघीय सरकारबाट पनि विकास निर्माणका लागि काम भएका छन् । बाटो कालोपत्रे भएका छन् । सडक विस्तार भएका छन् तर पानी पर्दा निकास छैन । पूर्व–पश्चिम राजमार्ग विस्तारसहित निर्माणको चरणमा छ तर यसलाई कारण देखाउँदै स्थानीय नेतृत्व तह पन्छिने गरेको छ । पानी पर्नासाथ टालिएका ह्युम पाइप र कटान गर्न मिल्ने स्थानमा डोजर लगाएर पानी निकासको कार्य अघि बढाइए पनि यो दीर्घकालीन समाधानको उपाय भने होइन । ठाउँठाउँमा भल पानी निकासका लागि सडक खन्ने र भत्काउने कार्य गरिएको छ । यसले विकास भन्दा पनि विनाश निम्त्याएको स्थानीयको बुझाइ छ ।
वर्षौदेखि नेता गुहारे पनि यसले निकास पाउन सकेको छैन । विकासका योजना र तिनलाई इमानदाररुपमा पूर्ण कार्यान्वयन नगर्दाको परिणाम डुबानमा परेको स्थानीयको तर्क छ । हरेक चुनावमा यहाँको ढल र भलको निकासका कुरा गर्न नेतृत्व तह पछि परेनन् तर वर्षेनि यही ढल र भलका कारण हैरानी बेहोर्दै आउनुपरेको छ । जसका कारण देश विकासमा पछि परेको तर्क गर्ने गरेका छन् । देश असफल भएको भन्ने आरोप लाग्नु भनेको दूरदर्शी नेतृत्वको कमी हो । दूरदर्शी नेता नभएकै कारण र योजना बन्न नसकेकै कारण यस्ता सास्ती खेप्न नागरिक बाध्य छन् । नेतृत्व सबभन्दा बढी दूरदर्शी, सबभन्दा बढी त्यागी र सबभन्दा बढी दृढ हुनुपर्दछ । समुदायले यस्ता समस्या समाधान गरी आजभन्दा पनि भोलिका दिनमा आइपर्ने समस्या समाधानतर्फ योजना केन्द्रित गरी विकास निर्माणको थालनी गर्ने दूरदर्शी नेतृत्व खोजिरहेको छ । दूरदर्शी नेतासहितको योजना र कार्यान्वयन तहमा जाने हो भने विकासमा पछि पर्ने थिएन अनि नागरिकले सास्ती बेहोर्नुपर्ने थिएन ।

Share.

Leave A Reply